mainpageads

म बल्ल तरुनी भएँ.. दिया मास्के


नेपाली चलचित्रमा फरक धारकी नायिका खोज्नुपर्दा दिया मास्केको नाम पहिलो नम्बरमा आउँछ। हिमालपारिको कथा बोकेको 'कागबेनी' होस् कि यौनमनोविज्ञानमा आधारित चलचित्र 'साँघुरो', दियाले परिष्कृत काम गरिन्। दिया अभिनीत 'सुनगाभा'लाई नेपाली जुरीले ओस्कारमा पठाउन योग्य नेपाली चलचित्रका रूपमा मनोनीत गरेको छ। नाटकमा अब्बल दिया कत्थक तथा भारत नाट्यममा पनि पारंगत छिन्। अहिले चलचित्र उद्योगमा निकै आशा गरिएको अनुप बराल निर्देशित चलचित्र 'फिटकिरी' सबैको प्रतीक्षामा छ। 'फिटकिरी' मा ग्लामरस नायिकाका रूपमा प्रस्तुत हुन लागेकी दियासँग कुराकानी।

तपाईं आफूलाई कस्ती नायिका मान्नुहुन्छ ?
म त नायिका नै होइन, कलाकार मात्र हुँ। मलाई नायिका भनेर सम्बोधन गर्दा कस्तो-कस्तो लाग्छ।

मन परे पनि नपरे पनि तपाईं नेपाली चलचित्रकी नायिका नै हो, के भन्नुहुन्छ ?
हो, कलाकार शब्दले अलि फराकिलो अर्थ दिन्छ। नायिकाहरू ग्ल्यामरस हुन्छन्, उनीहरूमा तडकभडक हुन्छ, कलाकारमा सबैथोक हुन्छ। म कलाकार हुनुअघिसम्म पनि एक्टर हुन्छु भन्ने सोच्दिनथें। किनभने मेरो विचारमा युवतीहरू कलाकार हुनु भनेको नायिका हुनु नै थियो। मलाई त्यो कुरा खासै जच्दैनथ्यो।

नायिकाप्रति नै किन नकारात्मक भाव ?
सम्भवतः अचेतन मनमा नायिकाप्रति मेरो खासै राम्रो भाव थिएन। नेपाली चलचित्रले नायिकालाई ग्लामरस आइटमभन्दा बढी महत्व दिएको छैन भन्ने लाग्थ्यो। जब काम गर्न थालें, मैले राम्रा मानिसहरूको साथ पाएँ। अभिनयमा एकैपटक फराकिलो क्षेत्रमा पाइला हाल्ने अवसर पाएँ।

अहिले पनि हिरोइनलाई नराम्रो मान्नुहुन्छ ?
अहिले मान्दिनँ। हिरोइनको अर्थ मैले मुख्य कलाकारको अभिनयको कुरा गरेकी हुँ। त्यस किसिमको अभिनय मबाट हुन्छ भन्ने लाग्दैनथ्यो। म अभिनय गर्न सक्छु भन्ने लाग्दैनथ्यो। अहिले सम्झदा लाग्छ, सम्भवतः म यो विषयमा नेगेटिभ थिएँ कि ?

त्यही भएर सधैं उमेरभन्दा बढी उमेरको भूमिका निर्वाह गर्नुभएको हो ?
मैले चाहेर गरेकी होइन, निर्देशकहरूले त्यस्तो भूमिका दियालाई ठिक हुन्छ भनेर दिनु भएको हो। नभन्दै त्यस्ता अभिनयले निकै प्रशंसा पनि पाए।

तपाईं अभिनय गर्न चाहनुहुन्नथ्यो भने यो क्षेत्रमा किन प्रवेश गर्नुभयो ?
म कलाकारभन्दा पनि राम्रो डान्सर हुँ। मैले इलाहावाद नाट्य संगीत विश्वविद्यालयबाट कत्थक नृत्यमा स्नातकोत्तर गरेकी छु। सानो छँदा निर्देशक तुलसी घिमिरेको 'दुई थोपा आँसु'मा बालकलाकारका रूपमा नृत्य गरेकी थिएँ, जून त लग्यो ताराले.. मा। सानैमा गरेको उक्त अभिनयले नै मलाई यो क्षेत्रमा तान्दै लगेको रहेछ।

यो क्षेत्रमा आउनुको जस कसलाई दिनुहुन्छ ?
सानैमा मलाई नृत्यमा पारंगत बनाउने अमर शिशु स्कुल तथा अभिनयमा ल्याउने निर्देशक अनुप बराल।

तपाईं काठमाडौंकी केटी, पहिलो पटक दलनमा अभिनय गर्न पश्चिम नेपाल जाँदाको अनुभव कस्तो थियो ?
त्यो दलितका विषयमा निर्माण गरिएको टेलिश्रृंखला थियो। मैले जातभातको कुरा सुनेकी थिएँ तर फिल्डमा त्यस्तो दृश्य देखेकी थिइनँ। पर्वत जिल्लाको खोला गाउँमा ३ महिना बस्दा नेपालको फरक रूप देख्न पाएँ। दलितको समस्या, भाषाको फरकपन सबै अनुभव गर्न पाएँ।

तपाईंले दलनमा पाकी महिलाका रूपमा काम गर्नुभएको छ, तपाईं नराम्री पनि देखिनुभएको छ, चित्त दुखेन ?
२०-२२ वर्षीया युवतीले त्यसरी पाकी महिलाका रूपमा अभिनय गर्न पाउँदा त खुसी लाग्यो, तर सधैं यस्तै भूमिका पाइने हो कि भन्ने चिन्ता पनि थियो।

कागबेनीदेखि साँघुरोसम्म आइपुग्दा पनि तपाईं यस्तै चरित्रमा देखिनुभयो, किन ?
निर्देशकहरूको आँखामा म यस्तैमा राम्री देखिन्छु भन्ने पर्‍यो कि ? जबकि म बोल्ड क्यारेक्टरमा पनि उत्तिकै फिट छु भन्ने लाग्छ। वास्तवमा मेरो कला आम दर्शकले हेर्नै पाउनुभएको छैन।

अभिनयमा तपाईंको क्षमता कति उपयोग भएको होला ?
सम्भवतः १५ प्रतिशत।

नृत्यमा नि ?
म कत्थक र भरत नाट्यममा पोख्त छु। म नृत्यकै लागि जन्मिएकी हुँ । सुनगाभामा मेरो नृत्यप्रतिभाको केही अंश देखाउने अवसर पाएकी छु। अहिलेसम्म दर्शकले मेरो नृत्यको ५ प्रतिशतजति मात्र प्रतिभा हेर्न पाउनुभएको छ। म नृत्य र अभिनयमा धेरै राम्रो गर्न सक्छु।

कुन अभिनयमा पारंगत छु भन्ने लाग्छ ?
मेरो स्टयान्डवाई कमेडी निकै राम्रो छ। म बोल्ड युवतीको भूमिकामा युवकहरूलाई गलाउन सक्छु।

त्यही भएर फिटकिरीमा बोल्ड र आधुनिक युवतीको भूमिकामा देखिनुभएको हो ?
हो, यो चलचित्रपछि मेरो जवानी देख्न पाइनेछ। नेपाली चलचित्रका लागि म बल्ल तरुनी भएँ। मेरो नृत्य प्रतिभालाई पनि फिटकीरीमा राम्रैसँग प्रस्तुत गरेकी छु।

यति बोल्ड चरित्र निर्वाह गर्दै हुनुहुन्छ। दर्शकको नजरमा भने तपाईं अझै ननग्ल्यामर हिरोइन हुनुहुन्छ, कसरी पत्याउलान् र ?
म बोल्ड र ग्लामरस छु। अब कसरी छु, त्यो त चलचित्रको प्रदर्शनपछि नै थाहा हुन्छ, जहाँसम्म मेरो क्षमताको कुरा छ, मलाई त्यसको प्रचार गर्न आउँदैन। आफ्नो मार्केटिङ गर्ने कुरामा म झुर छु। संसारभरका नायिकाहरू स्पेसल फोटो सुट गर्छन्, यहाँ पनि गरिन्छ। मैले भने अहिलेसम्म त्यस्तो फोटो सुट नै गराएकी छैन।

तपाईंले काम गरेका धेरैजसो चलचित्रमा अन्तरंग दृश्यहरू छन्, अविवाहित युवतीले यस्ता दृश्य गर्नुपर्दा के सोच्नुहुन्छ ?
त्यसलाई म केवल कामका रूपमा हेर्छु। अविवाहित युवतीलाई सुटिङ स्पटमा त्यस्ता दृश्य दर्जनौं व्यक्तिका अघि गर्नुपर्दा सहज लाग्न सक्दैन। तैपनि म भाग्यमानी छु, किनभने मैले असल निर्देशकहरू पाएँ। उहाँहरूले त्यस्ता दृश्यमा काम गराउँदा एकदमै सहज वातावरण बनाइदिनुहुन्छ।

तपाईं केही समयदेखि एक जना निर्देशकको प्रेममा हुनुहुन्छ भन्ने बजार हल्ला छ, के भन्नुहुन्छ ?
बजार हल्ला कहाँ सत्य हुन्छ र ?

त्यसो भए प्रेममा हुनुहुन्न ?
मैले कहाँ त्यसो भने र ? म सानैदेखि आमा-बुवाको प्रेममा छु, साथीभाइको प्रेममा छु। प्रेमबिना को बाँच्न सक्छ र ?

तरुनी युवतीले आफ्नो श्रीमान् छान्ने खालको प्रेमको कुरा गरेको।
हुन सक्छ, तरुनी युवतीले आफ्नो प्रेमी खोज्नु कुन ठूलो कुरा भयो र ?

यो त कूटनीतिक उत्तर भयो। स्पष्ट शब्दमा भन्न मिल्दैन ?
के भन्नु ?

प्रेममा हुनुहुन्छ कि हुनुहुन्न ?
छु।

विवाह कहिले गर्ने ?
प्रेम हामीले गर्‍यौं। विवाह गर्नु उपयुक्त छ कि छैन भनेर सोच्ने जिम्मा भने परिवारलाई दिएका छौं। परिवारले स्वीकृति दियो भने विवाह गर्छौ।


1 comments

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts