कलेन्द्र सेजुवाल, सुर्खेत, पुस २४ - युवतीमाथि बलात्कार प्रयास गर्ने एक व्यक्तिलाई सुर्खेत जिल्ला अदालतले साढे दुई वर्ष कैद तोकेको छ। न्यायाधीश कुलप्रसाद शर्माको इजजाशले हिजो यस्तो फैसला सुनाएको हो।
{module google ad 600x60|none}
लेखगाउँका ३४ वर्षीय यामबहादुर पुनले स्थानीय एक युवतीलाई २०६८ भदौ १५
गते बलात्कार प्रयास गरेका थिए। बलात्कार मुद्दाका आरोपीहरु धमाधम
उम्किरहेका बेला जिल्ला अदालतको फैसलाको स्वागत भएको छ। यद्यपि, यामबहादुर
यसअघि धरौटीमा रिहा भइसकेका छन्। जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद
घिमिरेले दोषिलाई पुनः पक्राउ गरी जेल चलान गरिने बताए।
चालू आर्थिक वर्षमा फैसला भएका जवरजस्तीकरणीका ६ मध्ये चार मुद्दामा
पीडितले होस्टाइल गर्दा अभियुक्त छुटेका छन्। दुईवटा मुद्दामा मात्र
अभियुक्तले सजाय पाएका जिल्ला अदालतका कर्मचारी टीकाराम ढकालले जानकारी
दिए। 'असफल भएका चारवटै मुद्दामा पीडितले होस्टाइल गरेका छन्,' उनले भने,
'त्यसो नगरेको भए फैसला के हुन्थ्यो भन्न सकिन्न।'आफूमाथि जबरजस्ती करणी भएको आरोप लगाउने महिलाले अदालतमा बयान फेरेर 'त्यस्तो नभएको' बताउनुलाई होस्टाइल गरेको भनिन्छ। होस्टाइल नगर्दा अधिकांश केसमा आरोपितले हार्ने संभावना रहन्छ। तर, सामाजिक तथा राजनीतिक दवाव र आर्थिक प्रभावले गर्दा पीडित महिलाहरु बयान फेर्न बाध्य हुन्छन्। 'महिलाले सुरुकै बयान नबदल्ने हो भने जवरजस्तीकरणी मुद्दामा अभियुक्तले सफाइ पाउने संभावना निकै कम रहन्छ,' अधिवक्ता दुर्गाप्रसाद सापकोटा भन्छन्, 'तर बिभिन्न कारणले पीडितहरु आफ्नो पीडालाई बिर्सेर पीडककै पक्षमा बयान दिन्छन्।'
सोमबार फैसला भएको केसमा प्रतिवादी तर्फका वकिल बहसका लागि गएका थिएनन्। पीडित महिलाको बयानकै आधारमा अदालतले पीडकलाई कैदको फैसला सुनाएको हो। जवरजस्तीकरणी केसमा अदालतले पीडितको बयानलाई मुख्य आधार बनाउने गरेको छ।
यसैबीच, महिलामाथि हुने हिंसा बढिरहेका बेला नेपाल प्रहरीका डिआइजी बिमला थापा नेतृत्वतको टोली मंगलबार सुर्खेत आएको छ। थापाले स्थानीय प्रहरी र महिला तथा बालबालिका क्षेत्रमा कार्यरत संघसंस्थासँग अन्तरक्रिया गरिन्।
छलफलका क्रममा उनले महिला हिंसाका घटनालाई गंभीरतापूर्वक लिन प्रहरीलाई निर्देशन दिइन्। 'यस्ता घटना गाउँघरमा जहाँ भए पनि खोजबिन गरेर अघि बढाउनुस्,' उनको निर्देशन थियो, 'कहिँकतै प्रहरीको कमजोरी भेटिएमा प्रहरीले पनि कारबाहीको भागिदार हुनुपर्छ।' उनले महिला हिंसाका घटना न्यूनिकरण गर्न प्रहरी, सरोकारवाला संघसंस्था र नागरिक समाजबीच हातेमालो हुनुपर्ने आवश्यकता औँल्याइन्।
महिला हिंसाका घटनाबारे स्थलगत अध्ययन गर्न थापाको टोली बुधबार दैलेख जाँदैछ। केही समयअघि दैलेखमा स्थानीय कमारो सार्कीले श्रीमतीको यौनाङ्ग नजिक आगो झोसेर घाइते बनाएका थिए।



























