-सन्तोष खतिवडा
शरद् ऋतुको आगमनले छर्लङ्ग खुलेको आकाशमा दुई चारवटा चङ्गाहरु यत्रतत्र
उडिरहेका थिए । स्कुले ठिटाहरुको स्कुल दशैँको लागि छुट्टी भइसकेको जानकारी
दिदैँ थिए ति चङ्गाहरु । मेरो पनि कलेजको अन्तिम दिन, सम्झनाले मात्रै पनि
म रोमाञ्चित थिएँ । एक वर्ष भइसकेको थियो घर नगएको । अघिल्लो सालको यहि
दशैंमा नै घर गएको थिएँ म । एक त दशैं जस्तो महान चाडले खुशी ल्याएको थियो
भने संगसंगै घर जान पाउने कुराले खुशी थपेर अझै रोमाञ्चित बनाएको थियो ।

म
भखरै २३ वर्ष पुगेको थिएँ । यो उमेरलाई धेरैले धेरै किसिमबाट वर्णन
गर्दछन् । प्रेमको पालुवा पलाएर मौलाउने, अनि झाङ्गनि उमेर यहि हो भन्ने
मान्यता मेरो पनि थियो । कलेजमा आफ्नो उमेरका सहपाठीहरु युगल जोडी बनेर
प्रेमपत्र साटासाट गर्थे, कुनै बहाना बनाएर कलेज बंङ्क गर्थे, टाढा कुनै
पार्कमा घुम्न जान्थे । यी सबै देख्दा र सुन्दा म रोमाञ्चित हुन्थेँ । म
कल्पनाको संसारमा पुग्थें र आफ्नो जीवन साथीको बारेमा कल्पना गर्थेँ । उ
कस्ती होली ? भन्ने प्रश्न मनमा ल्याउथेँ । प्रश्नको उत्तर बनेर मनमा कुनै
पनि आकृति आउँदैनथ्यो । यो उमेरसम्म मैले प्रेम के हो र कस्तो हुन्छ महशुस
गर्न सकेको नै थिईन । ‘सुन्दर महिलासंगको साथ अनि सामिप्यता कस्तो हुन्छ
मलाई थाहा नै थिएन । यद्यपि म पनि आम मेरो उमेरका केटाहरु जस्तै प्रेममा
रमाउन चाहन्थें ।
हरेक पल्ट दशैंमा घर जाँदा म ठुलो उत्सुकताका साथ टिकट काट्थेँ र सधैँ
झ्यालपट्टीको सिट लिन्थेँ । दशैंमा काठमाडौँ छोडेर घर फर्किनेहरुको ठुलो
भिड हुन्थ्यो । यस कारण हामी फुलपाती भन्दा १०-१२ दिन अगाडि नै घर जाने
तयारीमा जुट्थ्यौ । काठमाडौँबाट नेपालगंजसम्मको यात्रा रात्री बसमा करिब १४
घण्टाको हुन्थ्यो । त्यो १४ घण्टाको पट्यारलाग्दो यात्रालाई सजिलो बनाउने
एउटै उपाय आफ्नो साइडको सिटमा रमाइलो साथी भेटिनु । यसपल्टको यात्रा चाँहि
अगाडिको दुईवटा वोरिङ्ग यात्रा जस्तो हुनैहुँदैन भने सोच्दै म टिकट
काउन्टरमा पुगेको थिएँ र भगवानसँग मनमनै प्रार्थना गदै थिँए “भगवान कम्तिमा
यो यात्रामा त मेरो साइडको सिटमा एउटी सुन्दरी जुराइदेउ !”
म चढेको बस बालाजुको नयाँबसपार्कबाट अगाडि बढ्यो । बस अझैँ भरिएको थिएन
सायद कलंड्ढीबाट चढ्ने यात्रीहरु बाँकि छन् होला । मेरो सिटमा म मात्रै
थिएँ । यसपल्ट भने म ढुक्क थिएँ, मेरो सिटमा कोहि प्राकृतिक सुन्दरी
आउनेछिन् र मेरो यात्रा अन्यन्तै रमाइलो हुनेछ । तर, अहँ त्यस्तो भइराखेको
थिएन । कलंकीबाट बस चढ्नेहरुको भिडमा मेरो आँखाले लगातार खोजीरहेको सुन्दर
आखाहरुको जम्काभेट हुनै सकेन । मैले खोजी राखेको जस्तो कोहि पनि गाडीमा
चढेन । यस पल्टको यात्रा पनि निरस हुने कुरामा अब म विश्वस्त भएँ ।
भर्खरसम्म रमाइलो यात्राको खुसीमा रमेको मेरो मन तुरुन्तै निरस यात्रामा
दुःखी हुन पुग्यो । बसका करिब सबै सिटहरु भरिईसकेका थिए । खाली म संगैको
सिट मात्र अघिदेखि मैले ओगटेकोले होला भरिएको थिएन ।
बस कलंड्ढीबाट पनि अगाडि बढ्यो मेरो जीवनको एउटा अर्को निरश र
पट्यारलाग्दो यात्रा अगाडिका बर्षहरु र दिनहरु जस्तै गरि अगाडि बढ्यो ।
कलंड्ढी चोकबाट बाबा पेट्रोलपम्पतर्फ ओरालो लागेको बस थोरै अगाडि बढ्ने
बित्तिकै फेरि रोकियो । मेरो श्वास पनि रोकियो, मुटुको धड्कन बढ्यो , कता
कता डर लागेको जस्तो भयो । मेरो गाडीको अन्तिम खाली सिटमा बस्न कोहि यात्री
आउँदैछ भन्ने अड्कल गर्न मलाई कुनै गाह्रो भएन । खलासीले ढोका खोल्यो र
एकोहोरो करायो ‘छिटो छिटो गर्नुहोस्, ट्राफिकले रोक्न दिँदैन, छिटो छिटो ।’
गाडीभित्र छिरेको आकृति र मेरो कल्पनाको आकृति एउटै पो थियो । मेरो
ओठबाट विजयको मुस्कान निक्लियो, एकचोटी बिस्तारै ओठ बरबरायो ‘थ्याङ्कस् गड,
यसपालिको यात्रा भने रमाइलो हुने भयो ।’ म खुसुक्क झ्याल पट्टीको सिटमा
सरेँ, ऊनलाई मेरो सिटमात्र खाली छ भन्ने जानकारी दिन चाहन्थें तर उनी सहजै
मेरो सिटमा बसिनन् । बरु कण्डक्टरलाई खाली सिटको बारेमा सोध्नपो थालिन् ।
कण्डक्टरसँग पनि उपाए नै थिएन । मलाई मेरो सिट खाली राख्न गरेको प्रयत्न र
उनको म संगैको खाली सिटमा नबसी अर्को सिट खोज्न गरेको प्रयास सम्झेर हाँसो
उठ्यो । उनी अनिच्छुक देखिएकी थिइन् मेरो सिटमा बस्न, तर बसिन् । मैले
मनमनै सोचेँ ‘नखरा चाहिँ पार्न जानेकी रैछे ।’
म धेरै खुसी अनि थोरै डरले कुनातिर च्यापिएको थिएँ । गाडी अगाडि बढ्यो,
मनमा हजारौँ कुराहरु खेल्न थाले । सबै उनको बारेमा थियो भन्ने हैन, तर धेरै
उनकै बारेमा थियो । मलाई उनीसंग कुरा सुरु गर्नुथियो तर हिम्मत जुटाउन
सकिराखेको थिईन । म आफुभित्र भएको व्यग्रतालाई लुकाएर भलाद्मी देखिन
चाहन्थें । त्यसैले चाहेर पनि छिट्टै बोलीहालीन । बस नागढुङ्गामा गएर
रोकियो । अलिकति जाम लागेको रहेछ । करिब बेलुकीको ५ बजिसकेको थियो । मैले
झ्यालबाट टाउको निकालेर बाहिर हेरेँ र बरबराएँ ‘कस्तो जाम पो रहेछ ।’ म
उनको ध्यान आफुतिर खिच्ने प्रयास गर्दैथेँ तर ऊनी त मुर्ति जस्ती पो
देखिईन् । अहँ केही बोलिनन, कतै हेरीनन् । हातमा सानो किताब च्यापेकी
थिईन्, ऊनको आँखा त्यसमा मात्र थियो । वरु गाडीभित्र उज्यालो नपुगेकोले उनी
थोरै झ्यालतिर किताबलाई फर्काएर पढ्दै थिइन् ।
अब मैले आफैले प्रयास गर्नुपर्ने सोचेर बिस्तारै सोधेँ ‘के किताब हो ?’
उनले छोटो जवाफ दिईन् ‘उपन्यास ।’
यति भनिसक्दा पनि उनी मतिर हेरिनन् । मैले आफ्नो अनुहार संम्झिएँ के म
त्यती नराम्रो छु र ? तर उनले मलाई अर्को प्रश्न छोडेकी थिईन ‘उपन्यासको
नाम के हो ?’ जवाफमा उनले ‘बसाइँ’ भनिन् ।
म हरेक प्रश्नको लामो उत्तर चाहन्थेँ तर उनी छोटो छोटो उत्तर दिदैं
थिईन् । प्रश्न सोध्नुको मतलब उपन्यास वा किताबको बारेमा जानकारी लिनु थिएन
बरु उनीसंग वार्तालापको सुरुवात हुन सक्छ कि भन्ने कोशिस थियो । मेरो
दुईटा प्रश्न त्यसै खेर गएको महशुस भयो मलाई । ‘बसाइँ मेरो पनि मनपर्ने
उपन्यास हो’ भन्दै म कुराको पोको खोल्न थालेँ । मोटे कार्की र झुमाका
कुरामा उनले पनि मलाई थोरै साथ दिईन् । सायद उनलाई पनि लाग्यो होला म
उनीसंग कम्तिमा यो विधामा भने कुरा गर्ने योग्य छु । झमक्क अध्यारो
भइसकेकोले उनले किताब थन्काइसकेकी थिइन्, बसको बत्तिमा किताब पढ्न गाह्रो
नै हुन्थ्यो । मैले सोचेँ-अब उनको साथी म र मेरो साथी उनी हुनेछिन् । तर
मैले सोचे अनुसारको यात्रा भइराखेको थिएन, उनी अलि कमै बोल्थिन् , म उनलाई
बोलाउनको लागि अलि धेरै बोलीराखेको हुन्थेँ ।
बस आफ्नै गतिमा गुड्दै थियो । बसका यात्रीहरु भिडियो चलाउनको लागि
कण्डक्टरलाई अनुरोध गर्दै थिए । अनि कण्डक्टर चाहिँ मुग्लिनमा खाना खाएपछि
बल्ल चलाउने जानकारी दिँदैं थिए । मैले सोचेँ उनी सँग म कम्तिमा
मुग्लिनसम्म त कुरा गर्न सक्छु, उनी संग कुरा गर्ने समय छोट्टएिको महशुश
भयो मलाई, त्यसैले हतारमा मैले उनको नाम सोधेँ । नाम ‘अनामिका’ भएको बताईन्
तर प्रतिप्रश्न गरेर मेरो नाम भने सोधिनन् । उनले नसोधिकनै आˆनो नाम ‘सफल’
हो भनि आफुलाई परिचित गराएँ । उनले मेरो नाम सुनेपछि ‘ए राम्रो नाम रहेछ’
भन्ने प्रतिकि्रया दिईन् । मलाई खुसी हुन अरु के चाहियो र ? उनले राम्रो
नाम भनेपछि मलाई पहिलोपल्ट आˆनो नाम राम्रो लाग्यो । मलाई उनी सँगको त्यो
यात्रा मौनता बिच पनि रमाइलो लागिरहेको थियो । मैले त्यो उमेरसम्म कुनै पनि
केटीसँग नजिक भएर उनीहरुको मनोविज्ञान बुझेको त थिइँन तर पनि साथीहरुसंगको
अन्तरकृयाबाट बनाएको केटी प्रतिको धारणा भन्दा उनी फरक थिईन, भिन्न थिइन् ।
उनी अहिले पनि अगाडि नै हेरिराखेकी थिईन् । यहि मौकाको सहि सदुपयोग गरेर
मैले उनलाई पूरा नियालेँ अनि मनमनै निष्कर्श निकालेँ, कुनै कविले वर्णन
गर्ने सुन्दरी अरु कोही हैन, उनीनै हुन् । चित्रकारले क्यानभासमा रङ्ग
भर्ने पनि उनी नै हुन् । सुन्दर गजलहरु उनलाई हेरेर लेखिन्छन् अनि गीतहरु
उनकै लागि गाईन्छन् । पूर्णचन्द्रमा समान उज्यालो उनको मुहारमा लजालुपनले
गर्दा होला आधा भाग मात्र खुलेका कमल समान सुन्दर, लजालु तर ठूला ठूला आँखा
अति सुहाएका थिए । आँखाको डिलमा लगाईएको कालो गाजलले ति मृगनयनीलाई थप
सुन्दर बनाएको थियो । केशराशी खुल्ला छोडिदिएकी थिईन, केहि नसम्हालिएर
निधारबाट चिप्लिदै गालासम्म आईपुग्थे र ति केशराशीलाई तिनका सुन्दर कान्छी
औंला र माझीऔंलाको सहायताले बेला-बेलामा कानको चेप्पामा अड्काउँथीन ।
राम्रा, वान्किपरेका सफा हिउँ जस्तै सेता, टम्म मिलेका दाँतहरुका विच एउटा
सानो दाँत देब्रेकुना बाट उछिट्टएिर थोरै बाहिर निक्लिदा झनै सुन्दर
देखिएको थियो । उनको गोरो मुहारलाई लाजका अवशेषहरुले रक्तिम बनाएका थिए ।
पालुवा समान सुन्दर अनि कोमल ओठहरुले सुन्दरता थपिएकी उनी सुन्दर फूलको
गुच्छा जस्ती देखिएकी थिईन् । उनी जब हाँस्थिन उनको स्वासको सुवासले खुला
हावामा अत्तर जस्तो महक छरिएझैँ लाग्थ्यो । हरिणको वच्चा समान चञ्चल
आँखाहरुले कहिले काहीँ आफ्नो सम्पूर्ण शरिरलाई जब उनी तलदेखि माथिसम्म
नियाल्थिन् र असरल्ल हुन खोजेका कपडालाई तन्काएर आफ्नो पुष्ट अनि आकर्षक
शरिरलाई छोप्थिन् त्यतिबेला लाग्थ्यो, उनी मात्र हुन् जसलाई सुन्दर भन्न
मिल्दछ अनि सुन्दर भन्ने शब्द उनकै कारणले बनेको हो ।
“तँपाई कहाँ जाने हो ?” यो प्रश्नले म झस्किएँ । झट्ट जवाफ दिएँ “म त
नेपालगञ्जसम्म नै पुग्छु” । उनले हाँस्दै उनको बारेमा बताइन् “म तँपाइ
भन्दा १६ कि.मि वर नै रोकिन्छु र ८५ कि.मि उत्तर तर्फ लाग्दछु ।” मलाई
अड्कल गर्न गाह्रो भएन उनको घर सुर्खेत रहेछ । मैले फेरि प्रश्न
राखेँ-सुर्खेतको गाडीमा किन जानुभएन त ? हाँस्दै उनले जवाफ दिइन् “म
सुर्खेतको गाडीमा गएको भए तपाइले यो प्रश्न कसलाई गर्नुहुन्थ्यो” ।
नागढुङ्गा देखिनै राजमार्गमा जाम भेटिएको थियो त्यो जामले मुग्लीनसम्म
हामीलाई छोडेन । मुग्लिन पुग्दा रातीको १२ ः३० नै बजिसकेको थियो । मेरो
साइडको सिटमा बसेकी मेरो यात्राकी मित्र र म पनि केहि नजिक भइसकेका थियौं ।
हामी दुवै संगसंगै बसवाट ओर्लियौं । म उनी भन्दा अगाडिनै कुनै टेवलमा गएर
बस्न चाहन्थेँ र उनलाई प्रतिक्षा गर्न चाहन्थेँ तर मेरो प्रतिक्षा व्यर्थ
भयो । उनि मेरो टेबुल अगाडी खाली कुर्सी भएपनि म भन्दा अगाडीको टेवुलमा गएर
पो बसिन् । भर्खरसम्म नजिककी साथी सोचेको उनी मलाई टाढाको पो लागिन ।
मनमनै गाली गरेँ “कस्ति अचम्मकी होली, नखरा पार्न पनि कति जानेकी, मेरै
टेबुलमा आएर बसेकी भए के जान्थ्यो ? के पो बिगि्रन्थ्यो ? मैले काम गर्ने
केटालाई बोलाएँ र मेरो टेबुलको फोहोर सफा गर्न भनेँ । म चाहन्थेँ उनले फोहर
टेबुलमा नबस्नको लागि मलाई भन्छिन, अनि उनको टेबलमा बोलाउँछिन । तर
त्यस्तो भएन । न उनले बोलाइन न उनका आँखालेनै बोलाए । मैले हिम्मत जुटाएँ र
उनको टेबुल अगाडीको कुर्सीमा बस्न पुगे । खाना हाम्रो टेबुलमा आइपुग्यो ।
हामी दुवै जना खान थाल्याँै । उनले बढो प्रेमले खाना खाईन् तर मैले भने बढी
खुसी भएकोले हो वा खाना नमिठो भएर हो खानै सकिनँ । मैले खाना फालेको देखेर
उनले मलाई खाना नफाल्न सम्झाईन, खाना संगै जोडिएको उनको विगत बताउन थालिन,
उनी भन्दै गईन “मेरो बुबा व्यापार गर्नुहुन्थ्यो पैसा राम्रै
कमाउनुहुन्थ्यो त्यसैले मलाई बच्चामा कहिले पनि अभाव महशुस गर्नुपरेन ।
पुल्पुलीएर हुर्किएँ । सबैको धेरै मायाले मलाई घमण्डी वनायो । कहिल्यै
राम्रोसंग खाना खाईन । मम्मीले राखीदिएको खाना थोरै खान्थे, धेरै फाल्थे ।
जव १८ वर्षको पुगेँ, ठूलो रोग लाग्यो मलाई, मेरो घाँटीको अपरेशन गर्नुपर्ने
भयो । त्यसपछि मैले खाना खान पाईन । लगातार ८ महिनासम्म दाल र सुप मात्र
खाएर मैले जीवन धानेँ । एकदिन यस्तो लाग्यो-मेरो खुसी भनेको अब दाल र भातमा
नै रहेछ । मेरो अगाडी काली माताको तस्विर थियो । त्यहि काली मातालाई हेरेर
प्रार्थना गरेँ र मनमनै भनेँ-मलाई भात खाने सक्ने बनाइदिनुस, म अब कहिले
पनि भात फाल्नेछैन । त्यो दिन म धेरै रोएँ, मेरो रुवाइले मेरो रोग ठिक भएन ।
म दिनदिनै कमजोर हुदै गएँ । बुबा र मम्मीले आश मार्नु भएछ । म वाच्दिनँ
भन्ने सोचेर बुबाले मेरो हजुरआमालाई देखाउन होला सुर्खेत लैजाले निर्णय
गर्नुभएछ । यहि मुग्लिनमा खाना खान गाडी रोकिएको थियो । बुबा र मम्मीले
खाना खान थाल्नु भयो, मलाई दूधको व्यवस्था गरिएको थियो । म खाना खान
चाहन्थेँ, आँखावाट आँसु खसाउँदै उहाँहरुले खाएको हेरिराखेकी थिएँ । बुबालाई
लाग्यो होला सायद छोरी अव वाँच्दिन त्यसैले यसको खाना खाने इच्छा पुरा
गरिदिनुपर्छ । उहाँले मेरो लागि खाना अर्डर गर्नुभयो । मैले ८ महिनापछि भात
खान पाएँ । त्यो मेरो जीवनको सबैभन्दा खुसीको क्षण थियो । म सुर्खेत
ल्याइपुर्याईएँ र घरेलु उपचारले वाँचे । अहिले तपाइको अगाडी छु ।” उनको
अतितले मेरो आँखा रसायो उनको अतित सुनिरहँदा मैले थालको सवै खाना
सिध्याईसकेको थिएँ । संगसंगै संकल्प गरे “अब म कहिले पनि खाने कुरा फाल्ने
छैन ।”
“ल चिया सिया खाउँ, १५ मिनेट-१५ मिनेट” एकोहोरो यो आवाजले म व्युझिएँ ।
निन्द्रामा कहाँ आइपुगेछु पत्तै भएन । आँखा मिचेर झयाल बाहिर हेरेँ
भालुवाङ्ग आइसकेको रहेछ । उनीतिर हेरेँ-उनी त सुतिरहेकी रहिछन् । कति
सम्हालिएर सुतेकी आफ्नो शरीरलाई निन्द्रामा पनि आफ्नै सिटमा केन्दि्रत
राखेकी । मेरो शरिरसंग छुइन्छकी भनेझै अलग्ग बसेकी । उनका हरेक क्रियाकलाप
मलाई मन पर्न थाल्यो । सोचेँ उनलाई मेरो जिवन यात्राको सहयात्री बनाएर
पठाएको हो भगवानले । मलाई उनको माया लाग्यो । निदाइरहेकी उनलाई उठाउन मन
लागेन तर कन्डक्टरको एकोहोरो आवाजले उनको निद्रा खुल्यो । आँखा मिच्दै उनी
मतिर हेरिन् र मुस्कुराईन् । मलाई लाग्यो उनको मुस्कानसंगै उषाको आगमन भयो ।
क्षितीजमा देखिएको लाली उषाको उनकै मुस्कानको कारण हो । उनलाई मैले चिया
खान जाने हो भनेर सोधेँ । म आफु चिया नखाएपनि उनलाई साथ दिन चाहन्थेँ अथवा
भनौं हामी विचको मौनतालाई शब्दहरुले चिर्न चाहन्थँ । उनले दाहिने आँखालाई
थोरै सानो पार्दै टाउको मात्र हल्लाएर नखाने जानकारी दिईन् । अब छिट्टै उनी
संग छुट्टनिु पर्छ भन्ने कुराले म दुःखी थिएँ र फटाफट उनी संग कुरा गर्न
चाहन्थेँ । अझ भनौँ उनलाई आफ्नो बारेमा पनि केहि कुराहरु गरेर प्रभावित
बनाउन चाहन्थे । यो बसको यात्राबाट सुरु भएको छोटो परिचयलाई लामो रुप दिन
चाहन्थेँ । तर मेरो प्रयास एकोहोरो भईराखेको थियो । उनको हाउभाउबाट
लागिराखेको थियो उनी मसंग नजिकिन खोजीराखेकी छैनन् । बसका सबै यात्रीहरु
बाहिर ओर्लीसकेका थिए बसभित्र उनी र म मात्रै थियौं । हामी दुवैजना चुपचाप
थियौं । उनको मोवाइलको घण्टीले त्यो मौनतालाई चिर्यो । उनले पाइन्टको
अगाडीको गोजीबाट मोवाइल निकालिन र बजिरहेको घण्टी काटेर म्यासेज लेख्न
थालिन् । नोकिया ब्राण्डको क्वाटीकिबोर्ड वाला मोवाइलमा उनको दुबै हातका
बुढि औलाहरु छिटो छिटो चले । अनि मसिनो छोटो रिङ्गटोन बज्दा बज्दै उनले
मोवाइल गोजीमा राखिन् ।
अघिल्लो साँझदेखि उनी मसंगै थिईन् । मेरो नजिक । उनले मसंग कुरा नगरेकी
पनि हैनन् । तर मलाई उनी मेरो नजिक भएपनि नजिक लागिरहेकी थिईनन् । मैले
मुश्किलले उनको नाम थाहा पाएको थिएँ, उनको खानासंग जोडिएको अतित थाहा पाएको
थिएँ, अनि उनले मेरो नाम मात्रै थाहा पाएकी थिईन् । त्यो सानो परिचय नै
काफि रहेछ की क्या हो प्रेमको लागि ! मलाई उनी आफ्नै हुन् है भनेझैँ लाग्यो
। भगवानले मेरै लागि पठाएका हुन है भनेझैँ लाग्यो र मनमनै आफ्नो नामसंग
उनको नाम जोडेँ सफल-अनामिका, मलाई कस्तो राम्रो सुहाए जस्तो लाग्यो । मनमनै
मैले उनलाई हृदयको सिंहासनमा बसाएँ र मनमनै उनीसंग जीवन यात्रा गर्ने
संकल्प गरेँ ।
गाडी आफ्नै गतिमा गुडिरहेको थियो । भालुवाङ्ग छाडेेको पनि ३ घण्टा
भईसकेको थियो । म उनीसंग उनको मोवाइल नम्बर माग्न चाहन्थेँ तर सिधै माग्ने
आँट नै भएन । उनले दिन्न भनिन् भने ? मेरो दिमागमा मोवाइल नम्बर माग्ने
राम्रो तरिका सुल्झियो । अनि मैले बिस्तारै आफ्नो मोबाइललाई हामी दुईजना
बसेको सिटको चेप्पामा लुकाईदिएँ र मोवाइल कता परेछ भनेर उनले थाहा पाउने
गरि छट्पटाउन थाले । पाइन्ट र सर्टको गोजीमा छामेँ र उनीतिर हेरेर सुस्तरि
भनेँ-मेरो मोवाइल कता अल्मलियो, एक चोटी मिस कल दिनुस् त । उनले पाइन्टको
गोजीबाट मोवाइल निकालिन् । उनले किबोर्डमा हात लगाएकी मात्र थिइन् उनको
मोवाइल बज्न थाल्यो । उनले म तिर हेरेर एक छिन है भन्दै मोवाइल उठाएर कुरा
गर्न थालिन् । उनले हाँस्दै मोवाइलमा धेरै बेर कुरा गरिन् बिच बिचमा बाबा
भनेको प्रष्ट सुनिन्थ्यो । मलाई लाग्यो उनि आफ्नो बुवा या भाई संग कुरा
गर्दै थिइन् । मैले उत्सुकताका साथ उनलाई सोधेँ,
को हो ?
उनले छोटो जवाफ दिइन् ‘मेरो हविू
हवि ! के हो हवि भनेको ? मैले अर्को प्रश्न गरेँ ।
उनले हाँस्दै भनिन् ‘मेरो हज्वेण्ड भनेको ।’
म झस्किएँ, मेरो सोचाइहरुको सुन्दर महल टुक्रा टुक्रा भयो, मैले भर्खरै
दखेको सपना चकनाचुर भयो अनि मेरो प्रेम, नजन्मिदै मर्यो । मेरो आँखा रसायो,
रसिलो आँखामा अध्यारो छायो । आफुलाई सम्हाल्न धेरै गाह्रो भयो । बडो
मुश्किलले आफुलाई सम्हाले र फेरी अर्को प्रश्न गरेँ । तँपाई विवाहित हो ?
उनले हाँस्तै भनिन् “हैन त” । भर्खरै थाकेर फतक्क गलेको शरिरमा उनको त्यो
उत्तरले फेरी उर्जा भरियो । आँखाको आँशु डिलबाट नखसीकनै आँखैमा सुके झै
लाग्यो । खुशीले होला स्वर पनि धोति्रयो र त्यहि धात्रे स्वरमा सोधेँ, अनि
अगि फोन गर्ने को त ? उनले सहजै जवाफ दिईन् । मेरो हुने वाला श्रीमान्,
हामी एक अर्का लाई साह्रै प्रेम गर्छौँ र छिट्टै विवाह गर्दैछौं । मैले
केहि सोच्नै भ्याइन कण्डक्टरले कोहलपुर ओर्लने छिट्टै तयार हुनुहोस् भन्दै
थियो । आफ्नो ब्यागको लोतामा च्यापेर राखेको क्लिप निकालेर खुल्लै छोडिएको
कपालमा लगाउँदै उनी उत्रने तयारी गर्न थालिन् । गाडी तुरुन्तै रोकियो उनले
“हस् त म जान्छु, तपाई राम्रो मान्छे हुनुहुँदो रहेछ । तँपाई संगको यात्रा
रमाइलो भयो” भन्दै सिटवाट उठिन् र हात नहल्लाई ओठले मात्र बाइ भनेर विदा
भइन् । मैले सिटबाट उठ्ने प्रयास गरेँ तर शरीर साह्रै भारी लाग्यो, शरिर
भन्दा मन भारी लाग्यो । भारी र गलेको शरिर लिएर जुरुक्क उठेँ अनि ढोकासम्म
आएर उनलाई बाई भने । उनी फटाफट् उत्तरतर्फ लागिन् र तुरुन्तै पार्क गरेर
राखेको बसहरुको भिडमा हराइन् । मेरो मन चिसो भयो, रुन मन लाग्यो ।
पुरुषत्वले रुवाई रोक्यो, घाँटीमा अड्कियो । घाँटी दुख्यो, कता कता भित्र
दुख्यो ।
आफनो सिटमा आएर बसेँ, मोवाइल बज्यो । हतार हतार खल्तिमा छाँमे , मोवाइल
थिएन । धत्तेरी बिर्सेछु । सिटको चेप्पामा पो छ, चेप्पाबाट निकालेँ । उनले
पो गरिन कि भन्ने लाग्यो तर चिनेको नम्बर रहेछ, उठाउनै मन लागेन । उनले
कसरी गर्छिन त मलाइ ? उनलाई मेरो नम्बर दिएको कहाँ छु र ? अहो ! मैले त
उनको नम्बर पनि लिईनँ र उनलाई मेरो नम्बर पनि दिईनँ, कस्तो बिर्सेछु ।
कोहलपुर पनि कति छिटो आउनु परेको । मलाई आफु मुर्ख भएको आत्मबोध भयो ।
उनीसंगको यात्रा सधैको लागि सकिएको बोध भयो । आफुलाई गालि गर्दे उनीसंग
छुट्टएिको करिब ४५ मिनेटमा म नेपालगञ्ज पुगेँ ।
नेपालगञ्जसम्मको त्यो यात्रा ३ बर्ष पुरानो भैसकेको थियो तर त्यति
पुरानो भएपनि उनका शब्दहरु “तँपाई राम्रो मान्छे हुनुहुँदो रहेछ र रमाईलो
रहृयो तपाई संगको यात्रा” भने मेरो कानमा हरेक दिन ताजा भएर गुञ्जिरहन्थे ।
३ बर्ष भैसक्दा पनि मैले उनलाई बिर्सन भने सकेको थिइनँ । उनका यादहरु
पातलो भए पनि दिमागको कुनै कुनामा बसकै थियो । शायद त्यसैले होला मलाई मेरो
विवाहको लागि जिवनसंगी छान्न साह्रै गाह्रो भएको थियो । आमा बुवाको धेरै
प्रयासहरु असफल भएका थिए । म औपचारिक शिक्षा सकाएर काम गर्न थालिसकेको थिएँ
। एउटा ठुलो कम्पनिमा सेल्स मैनेजरको रुपमा काम गर्दथेँ ।
एक दिन म अफिसको टेबुलमा राखिएको बिलहरु ओल्टाई पल्टाई हेर्दै थिएँ ।
मोबाइलको घण्टी बज्यो, दाईको रहेछ । दाईको छोरीको स्कुटी दुर्घटना भएको
रहेछ । कलेजबाट फर्कँदा गाडीले हान्दिएको रे । म हतार-हतार टिचिङ्ग हस्पिटल
पुगेँ । उसको खुट्टा अपरेशन गर्नु पर्ने भयो । बाँकि अरु ठिकै रहेछ ।
अपरेशनपछि उसलाई ४१२ नम्बरको डबल बेडेड क्याबिनमा राखियो । दिनभरी बिक्रीको
तनावले हस्पिटलमा जान नपाउने कारणले बेलुका कुरुवा बस्ने काम चाहिँ मैरै
भागमा पर्यो । त्यहि क्याबिनको अर्को बेडमा एउटी अधबैशे जस्तो देखिने महिला
थिइन् । उनको कुरुवा शायद कोही थिएनन्कि या मैले देखेको थिइन, उनी प्रायः
एक्लै हुन्थिन । म छोरीलाई खाना खुवाएर, छोरी सुतिसकेपछि आफ्नो ल्यापटप
निकालेर केहि काम गर्दै थिएँ । उनले मलाई बोलाइन् र उनको पिउने पानी
सकिएकोले मिनरल वाटरको २ बोतल किनेर ल्याइदिनको लागी अनुरोध गरिन् । मलाई
पसल जान अल्छि लागेकोले आफु संग भएको एउटा बोतल दिँदै अहिले यसैले काम
चलाउनुहोस् भने । धेरै दिनदेखि देखिरहे पनि बोलिनसकेको बिरामीलाई सोधेँ ।
तपाईलाई के भएको हो ? उनले हाँसेर जवाफ दिइन् ‘क्यान्सर ! उनको जवाफ सुनेर म
झस्किएँ । उनको जवाफ भन्दा बढि म उनको मुस्कानले झस्किएँ । त्यो मुस्कान
परिचित लाग्यो मलाई । म अलिबढी नै भाबुक छु साह्रै सानो कुराले दुःखी
बनाईदिन्छ, बिथोलिदिन्छ मलाई । उनलाई मैले यो भन्दा अगाडी राम्रो संग
हेरेको नै थिईनँ । उनलाई क्यान्सर भएको भन्ने सुन्दा मलाई लाग्यो उनी अब
केहि दिनको लागि मात्र हुन् । उनलाई यो सुन्दर धर्ती छोडेर छिट्टै जानुपर्छ
भन्ने कुरा सोच्दा मात्र पनि मेरा आँखा रसाए । मैले उनलाई त्यहि रसिलो
आँखाले नियालेँ । उनको टाउकोमा एउटा पनि कपाल थिएनन्, मुडुल्लो खौरिएको
जस्तै थियो । आँखा भित्र दविएका थिए । गालाको मासु पनि पातलिएर हाडसंग
बेस्सरी टाँसिएकोले होला नाक लामो भएर बाहिर निक्लिए जस्तो लाग्थ्यो ।
ओठहरुमा कलेटी प्रष्ट देखिन्थ्यो । उनको शरीर पातलिएको थियो । शरिरमा
लगाएको कपडाले शरिरको अङ्ग छोएको नै थिएन, साह्रै ठुलो भएको थियो । उनको
हैन अरुकै लुगा लगाएको जस्तो । उनलाई हेरिरहँदा मेरो मनमा एकैचोटी सय वटा
कुराहरु आए । उनलाई के को क्यान्सर भयो ? उनी कति बर्षकी भइन् ? उनको घर
कहाँ हो ? उनको अरु को-को छन् ? उनी बाँच्छिन् या बाँच्दिनन् आदि आदि ।
उनी बाच्छिन् या बाच्दिनन् भन्ने प्रश्न चाँहि लगातार मनमा आइरहृयो र
जिब्रोको माध्यमबाट फुत्त बाहिर निक्लन खोज्यो तर त्यो प्रश्नलाई मनमा नै
राखेर अरु प्रश्न गर्न थाले । तँपाईलाई के को क्यान्सर भएको हो ? मैले बडो
सावधानीका साथ यो प्रश्न राखेको थिएँ । किनकी म चाहन्नथेँ मेरो कुनै पनि
प्रश्नले उनलाई गाह्रो होस् र कमजोर बनाओस् । उनले अगिकै मुस्कान ओठमा
ल्याएर जवाफ दिईन “ब्रेष्टको” मैले अर्को प्रश्न गर्नु अगाडी नै उनले आफ्नो
जवाफ लम्ब्याइन् । मेरो किमो चलीरहेको छ र यो छैठौं साइकल हो । प्रत्येक
२१ दिनमा एउटा साइकल चल्छ । छैठौ साइकलको किमो सकिएपनि थोरै इन्फेक्सन
भएकोले मलाई अझै केहि दिन यहिँ बस्नु पर्छ । मेरो ब्रेष्ट को अपरेशन
भईसकेको छ । उनले त्यसरी आफ्नो बारेमा भनीरहँदा मलाई उनको स्वर परिचित
लाग्यो, मैले उनको नाम र घर एकै चोटी सोधेँ । मेरी छोरी निदाईसकेकी थिई ।
कोठामा उनको कुरुवा कोहि पनि नभएकोले म मात्र कुरुवा थिएँ । उनले आफनो नाम
अनामिका बताइन् घर कहाँ भनिन् मैले सुन्दै सुनिँन । अनामिका नामले म
भस्किएँ । एकाएक भगवानको नाम लिन पुगेँ । प्रभु त्यती राम्री अनामिकालाई के
गरिस् तैले यस्तो ! ३ साल अगाडी गाडीमा भेटिएकी मेरो यात्राकी मित्र
अनामिका सम्झेँ अनि बेडमा मृत्युसंग संघर्ष गर्दे बसेकी अनामिकालाई हेरेँ ।
भगवानको क्रुरतासंग रिस उठ्यो, श्रृष्टिको नियमसगं रिस उठ्यो । त्यो
क्यान्सर रोगसंगै रिस उठ्यो । अरु केहि सोध्ने हिम्मत नै भएन सुन्ने साहस
नै भएन । भर्खरसम्म टाढाको लाग्ने ती बिरामी आफ्नो नजिकको लाग्न थाल्यो । म
टोलाएर भुइँतिर हेरिरहेँ । उनले पनि अरु थप बोल्न चाहिनन् । अनि त्यहि
पुरानै शैलीको मुस्कानमा “ए तँपाईकि छोरी त सुतिछ, तँपाई पनि सुत्नुस”
भनिन् र आफु पनि आँखा चिम्लिन् । क्यान्सरले थलिएर बेडमा सुत्दा पनि उनको
ओठमा मुस्कानै मात्र देखेँ मैले, कति मुस्कुराएकी उनी लाग्छ उनलाई केहि
भएकै छैन । मैले ३ साल अगाडिकी अनामिका सम्झेँ अनि हेरेँ अहिले बेडमा
सुतिराखेकी अनामिका । उनको अहिलेको मुस्कान र ३ साल अगाडीको मुस्कानमा फरक
खोजें तर फरक नै पाइनँ ।
उनको मुस्कानले मलाई दिनभरी अफिसमा पनि लखेटिरहृयो । ३ बर्ष अगाडीको
नेपालगञ्जसम्मको यात्रा दिमागमा पुनराबृत भइरहृयो । अर्को दिन छिट्टै
हस्पिटल पुगेँ । उनी आफै आफ्नो लागि हर्लिक्स बनाउँदै थिईन् । म बनाइदिन्छु
तँपाई आराम गर्नुस् भनेँ । म उनलाई त्यस दिन उनको श्रीमान्को बारेमा सोध्न
चाहन्थेँ । क्यान्सर जस्तो घातक रोगले थलिएको बेलामा पनि उनको आफ्ना
मान्छेहरु कुरुवा नबस्नुले मलाई ठुलै खुल्दुली लागेको थियो । अनि ३ साल
अगाडी मात्र देखेको मान्छेलाई उनले चिन्न नसक्नुले अर्को खुल्दुली पैदा
गरको थियो । म उनलाई चिनाउन चाहन्थेँ, भन्न चाहन्थेँ कि म त्यहि सफल हुँ
जसलाई तपाईले ३ साल अगाडी गाडीमा भेट्नु भएको थियो र हामी संयोगवश लामो
यात्रासंगै गरेका थियौं । अनि त्यो दिनदेखि आजसम्म म तपाईको सुन्दर तस्बिर
मनमा राखेर हिडिराखेको छु ।
मैले उनलाई आफ्नो नाम सफल भएको बताउँदै ३ साल अगाडीको यात्रा सम्झाएँ ।
उनी फेरी मुस्काईन र मलाई पहिलो दिनमा नै चिनिसकेको कुरा बताईन् । अब म
उनीसंग खुलेर कुरा गर्न सक्ने भइसकेको थिएँ । मैले उनलाई उनको श्रीमानको
बारेमा सोधेँ । मेरो प्रश्नले उनी केहि दुःखी भइन् तर केहि सम्हालिएर
हाँस्दै भनिन् “सफल १४ महिना अगाडि विश्वास अध्ययनको लागी डेनमार्क गएको
थियो । उ जानु अगाडीनै हामी बिवाह बन्धनमा बाँधिने निश्चय गरेका थियौँ तर
हामो अन्तरजातिय प्रेमलाई अन्तरजातिय विवाहमा परिणत गर्न हामीले सकेनौ ।
मेरो परिवार मसगँ रुष्ट भए । उसका परिवार उसँग रुष्ट भए । हामीले विद्रोह
गर्यौ, परिवार सँग, समाज सँग तर हाम्रो विद्रोहले हामीलाई दुवै परिवारको
सहमतिमा विवाह हुनसक्ने परिस्थितिको सृजना गराउन सकेन । अन्ततः विवाह नै
नगरी विश्वास डेनमार्क गयो ।
६ महिना भित्रै सबै डकुमेन्ट मिलाएर मलाई लिन आउँछु भनेर गएको थियो । तर
६ महिना नपुग्दै मलाई रोगले सतायो । मेरो ब्रेष्टको अपरेशन गर्नु पर्ने
भयो । मैले विश्वासलाई बोलाएँ । उ आत्तिएर आयो, मेरो अपरेशन गरायो । उ सधैँ
म सँगै हुन्थ्यो उसको साथले म पुर्ण विश्वस्त थिएँ, मलाई कुनै पनि रोगले
मृत्युवरण गराउन सक्दैन । उसको साथमा जीवन रमाइलो लागेको थियो त्यसैले मलाई
मर्न डर लागेको थियो बाँच्ने लोभ लागेको थियो । मेरो अपरेशनसम्म उ यहि
बसेको थियो । मेरो पहिलो किमो साईकल सुरु हुनु अगाडीनै उ फर्कियो । त्यसपछि
उ टाढियो । उसलाई फोनमा भेटिएन, अनलाइन देखिएन, उसका मेलहरु आएनन्, उ
स्काईपमा आएन, फेशबुक स्टाटस अपडेट गरेन । धेरैपछि मैले सुनेँ अरु कोही
नेपाली केटी संग उ डेनमार्कमै बस्छ रे । सायद म मर्छु भन्ने सोँचेर उसले
मलाई छोडिदियो होला । तर मलाई केहि हुन्न सफल, म मर्दिनँ , मलाई अब झन
बाँच्ने इच्छा छ । उसलाई देखाउन चाहन्छु । उसको साथ विना पनि म बाँच्न
सक्छु भनेर । उनी फेरि मुस्कुराईन । उनको मुहारमा कहिँ दुःख देख्दिन म,
पिडाहरु सबै लुकाएर हाँस्न मात्र जानेकी, जीवन जीउन त कसैले यिनी संग
सिकोस् ।
मेरा त आँखा रोएछन् । छोरी तिर हेरेँ उ पनि रोइराखेकी रहिछे । ३ साल
अगाडिको अनामिका सम्झेँ । फेरि अहिले वेडमा सुतिराखेकी सम्झेँ । मलाई त
अहिलेकी अनामिका पो राम्री लाग्यो । त्यो खाल्डो परेको आँखा, त्यो
चुच्चिएको नाक अनि पातलो गालाको छालामा कलेटी परेका ओठहरु पो राम्रो लागे ।
अनामिका तपाँईको कहिले डिस्चार्ज हुने भयो ? मेलै एकाएक प्रश्न गरे उनले
उत्तर दिनु अगाडिनै अर्को वेडमा सुतेरहेकी मेरी छोरीले उत्तर दिई “हामी
सँगै दिदीको पनि भोलि नै डिस्चार्ज हुन्छ ।” मैले मेरी छोरी तिर टुलुटुलु
हेरिरहेँ मेरो आँखाहरुले छोरीलाई प्रश्न गरिराखेका थिए । “छोरी म तिम्रो
दिदीलाई तिम्रो आन्टी बनाउछु हुन्छ ? सधैँको लागि, मेरो छोटो यात्राको
साथीलाई अनन्त यात्राको साथी बनाउँछु हुन्छ ?” मेरी छोरीको रोइरहेका विरामी
आँखाबाट दुई तिन थोपा आँसु गालासम्म आइपुगे । ति आँसुहरुले मलाइ स्विकृती
दिए झै लाग्यो । “अंकल तपाईले अनामिकालाई पवित्र र साँचो प्रेम गर्नुभएको
रहेछ” भने झै लाग्यो । अनामिकातिर हेरेँ र उनको दुब्लो, हाड मात्र देखिने
पातलो हात समातेर भनेँ तपाईँ सँगै म बाँकि जीवन विताउन चाहन्छु, संगै
यात्रा गर्न चाहन्छु ,यो यात्रामा कहिल्यै एक्लो छोड्ने छैन अनन्तसम्म, के
मलाइ साथ दिनुहुन्छ ? उनी केही बोलिनन् । उनका हँसिला,उज्याला अनि चम्किला
आँखाहरुलाई आँसुले धोए ती झनै चम्किला भए । उनका चम्किला आँखाहरुले मलाई
स्विकृती दिए झै लाग्यो । मैले मेरी छोरीलाई हेरेँ । ऊ अझै रोइरहेकी थिई,
आफुलाई नियालेँ म पनि रोइराखेको थिएँ । अनामिकालाई हेरेँ उनी
मुस्कुराईराखेकी थिईन् । म पनि मेरो अनन्त यात्राको सहयात्री संगसँगै
मुस्कुराएँ ।