यसरी बन्दैछ ४५६ मेगावाटको तामाकोशी (फोटो फिचर)
वैशाख ९ - दोलखा लामा बगरका ५६ वर्षीय स्थानीय मिजार (परिचित नाम) बीस बर्षपछि काठमाडौंबाट फर्किएका छन्। लामाबगर बसेर उनको दैनिक नचल्ने भएपछि उनी २० वर्षअघि काठमाडौं आएका थिए। लामाबगरका स्थानीय तीन वर्ष अघिसम्म भिर र तामाकोशी नदीको तिर हुँदै गोरेटोबाटो छिचोलेर साढे २८ किलोमिटर पार गर्दै यहाँ आउँथे। अहिले गाडीमा आउन थालेका छन्।
यो परिवर्तनको एउटै कारण हो : दोलखाको उत्तरी गाविस लामाबगरमा बनिरहेको चार सय ५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना। यो ०६७ भदौ १७ देखि सुरु भएको हो। ०७२ चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्वदेशी लगानीमा निर्माण हुन लागेको पहिलो ठूलो आयोजना हो। आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ छ। मुलुकका धेरै विकास निर्माणका कामहरु अवरुद्ध भइरहेका बेला यहाँ भने धमाधम काम भइरहेको छ। विदा र राति भन्ने छैन। त्यसकै कारण ४५ प्रतिशत काम सम्पन्न भएको प्राविधिकहरु बताउँछन्। १६ किलोमिटर सुरुङमध्ये नौ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ।
सबैतिर अवरुद्ध र निराशा छाइरहेको बेला 'माथिल्लो तामाकोशी'मा मात्र विकासको रफ्तार किन? यो राष्ट्रिय गौरवको आयोजना हो। यसमा दोलखाबासीको अपनत्व छ। दोलखाबासीका नाममा १० प्रतिशत शेयर छुट्टाइएको छ। यस आयोजनाले एउटा सन्देश दिएको छ, 'विकासका लागि एकता'। कांग्रेस, एमाले, एमाओवादी, नेकपा-माओवादीलगायतका साना ठूला सबै दल एकजुट छन, आयोजना निर्माण। नागरिक समाज त्यत्तिकै सक्रिय छ। सलाम छ, दोलखाबासीलाई। दोलखाको सन्देश आत्मसात गर्ने हो भने तपाई पनि आयोजनास्थल आउन सक्नुहुनेछ। काठमाडौबाट दोलखा सदरमुकाम चरिकोट १३५ किलोमिटर छ। चरिकोटबाट दोलखा बजार साढे ४ किलोमिटर, दोलखाबाट सिंगटी खण्ड ३५ किलोमिटर, सिंगटीबाट लामाबगर साढे २८ किलोमिटर छ।

0 comments
Write Down Your Responses