mainpageads

क्रिकेट यात्रा धनगढी हुँदै राजधानी

योगेश रावल कैलाली, भदौ १२ - कैलालीका १० जना क्रिकेट खेलाडीले निःशुल्क अध्ययनका साथै राष्ट्रिय स्तरको प्रशिक्षणसमेत पाउने भएका छन्। काठमाण्डौको हिमालयन ह्वाइट हाउस कलेजले उनीहरुलाई निशुल्क शिक्षाका साथै राष्ट्रिय क्रिकेट एकेडेमीबाट प्रशिक्षणको व्यवस्था गर्ने भएको छ। कलेजले देशका पाँच वटै विकास क्षेत्रबाट ४० जना क्रिकेट खेलाडीलाई यो अवसर जुराएको हो। जसमध्ये कैलालीबाट १० जना खेलाडी छनोटमा परेका छन्। कैलालीका ४० जना क्रिकेट खेलाडीमध्येबाट आज भएको छनोटमा १० जना छानिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाश शाहीले जानकारी दिएका छन्। उनले क्रिकेट खेलाडी न्युरिन अन्सारी, ललीत बम, सौरब बम, सन्जय पन्त र बिराट मल्ल छनोट भएको जानकारी दिएका छन्। त्यस्तै रोमन बम, प्रकास सिंह, कुवेर शाह, बल्लभ दाहाल र बिरेन्द्र शाहीले समेत यो अवसर प्राप्त गरेको शाहीले बताए। छनोटमा परेका खेलाडीहरुको अध्ययनमा लाग्ने सबै खर्च कलेजले निशुल्क गर्नुका साथै राष्ट्रिय क्रिकेट एकेडेमीबाट प्रशिक्षण समेत प्रदान गर्ने कलेजका अध्यक्ष युवराज शर्माले जानकारी दिएका छन्। खेलाडी छनोटका क्रममा धनगढी पुगेका शर्माले खेलाडीहरुले खाने बस्ने व्यवस्था भने आफै गर्नुपर्ने बताए। उनले आर्थिक अवस्था निकै कमजोर रहेको खेलाडीका हकमा भने खानेबस्ने व्यवस्था समेत गर्न सकिने बताए। 'हाम्रो अभियानमा खाने बस्ने व्यवस्था गर्ने भन्ने छैन' उनले भने–'तर राम्रो खेल्छ तर उसको परिवारले काठमाण्डौंमा राख्न सक्ने अवस्था छैन भने त्यो बारेमा सोच्न सकिन्छ।' उनले पारस खड्का, विनोद दास लगायतका क्रिकेट खेलाडीलाई समेत कलेजले यसअघि छात्रवृत्ति प्रदान गरेको बताए। 'शिक्षाका साथसाथै खेलकुदलाई पनि सँगै लैजानु पर्छ भनेर सानो सहयोग गर्ने प्रयास गरेका हौं' अध्यक्ष शर्माले भने–'अन्य खेलका खेलाडीलाई समेत निशुल्क शिक्षाको बारेमा सोच बनाईरहेका छौं।' सो अवसरमा कलेजका खेल प्रशिक्षक तथा किर्तिमानी खेलाडी दीपक बिष्टले स्थानीय स्तरका शैक्षिक संस्थाले पनि खेलाडीलाई निशुल्क अध्ययनको बन्दोबस्त गर्नुपर्ने बताए। उनले खेलकुदमा राम्रो गर्न सक्यो भने पढ्न पनि पाईन्छ भन्ने विश्वास भयो भने धेरै व्यक्ति खेलकुदको क्षेत्रमा प्रवेश गर्ने बताए। 'खेलकदुमा लागेर पनि केही पाईन्छ भन्ने वातावरण बन्यो भने अनि धेरै व्यक्ति खेलकुदमा आउने छन्' उनले भने–'तब मात्रै स्तरीय खेलाडी जन्मिनेछन्।' उनले अवसर पाए क्षमता भएको खेलाडीले राम्रो प्रदर्शन गर्न सक्ने भन्दै छनौट भएका खेलाडीले नेपालको राष्ट्रिय क्रिकेट टीमको नेतृत्व गर्नेमा आफू आशावादी रहेको बताए। 'म पनि यही धनगढी नजिकैको गाउँबाट यहाँसम्म पुगेको छुँ। सबै अवसर प्राप्त भएर सम्भव भएको हो' उनले भने–'अवसर नपाएर थुप्रै खेलाडी गुमनाम भएका छन्।' हालै नेपाल क्रिकेट संघको क्षेत्र नम्बर ६ बाट विभाजन भएर क्षेत्र नम्बर ९ भएको धनगढीमा आशलाग्दा क्रिकेट खेलाडी रहेका छन्। क्षेत्र नम्बर ९ मा कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्ला रहेका छन्। हालको क्षेत्र नम्बर ९ बाट भुवन कार्की, प्रदिप ऐरी, नरेश बुढाऐर, विनोद भण्डारी र चन्द्र साउँद राष्ट्रिय क्रिकेट टीममा सहभागी छन्। महिला क्रिकेट तर्फ पनि सोनु खड्का लगायत महिला राष्ट्रिय टीममा रहेका छन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts