mainpageads

प्रचण्डले बोल्दा ६० लाख घाटा !

२२ फागुन, काठमाण्डौ । द्वन्द्वकालमा माओवादीले गराएको बम बिष्फोटबाट घाइते एवं मृत्यु भएका चितवनको बाँदरमुढेका पीडित परिवारलाई सरकारले राहत प्याकेज उपलब्ध नगराउने भएपछि एमाओवादीले आफ्नै पार्टीको कोषबाट ६० लाख रुपैया दिने भएको छ ।
मंगलबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा बसेको पदाधिकारीको वैठकले यस्तो निर्णय गरेको वैठकपछि नेता अमिक शेरचनले जानकारी दिनुभयो ।
‘सरकारले दिन मानेन, पार्टी अध्यक्षले सार्वजनिकरुपमा बोलिसकेको बिषय भएकाले पार्टीको आन्तरिक कोषबाट राहत दिने निर्णय गरेका छौं’ शेरचनले भन्नुभयो-’महाधिवेशनबाट बचेको केही रकम र पार्टीको आन्तरिक कोषबाट थपेर राहत दिने निर्णय भएको छ ।’
केही दिनअघि माडी महोत्सवमा चितवन पुगेका एमाओवादी अध्यक्ष प्रचण्डले ६० लाखको प्याकेज दिने सरकारले निर्णय गरेको भाषण गरेका थिए । तर, सरकारसँग परामर्श नै नगरि प्रचण्डले पहिले नै सार्वजनिक कार्यक्रममा भाषण गरेपछि सरकारमा रहेका मन्त्रीहरुले त्यसको बिरोध गरेका थिए ।
प्रचण्डले जहाँ जहाँ जे मन लाग्यो त्यही बोल्ने र हामीले उनको भाषणलाई महाबाणि ठान्दै मन्त्रिपरिषद्बाट निर्णय गर्न सक्दैनौं भन्दै गठवन्धनमा रहेका मन्त्रीहरुले चर्को बिरोध गरेपछि माओवादीले पार्टीबाटै राहत दिने निर्णय गरेको हो ।
तत्कालिन विद्रोही नेकपा माओवादीको विद्युतीय धरापमा परी चितवनको बाँदरमुढेमा ३८ जना सर्बसाधारणको ज्यान गएको थियो । माडीको अयोध्यापुरी स्थित बगईबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते माओवादीको एम्बुसमा परेको थियो । घटनापछि माओवादीले क्षमा माग्दै दोषिलाई कारबाही गर्ने बताएको थियो ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts