हरिवंशले ‘चिना हराएको मान्छे’ ल्याउने
मीराको दोस्रो स्मृतिमा आत्मकथा हास्यव्यंग्य कलाकार, अभिनेता एवं गायकको रुपमा परिचित हरिवंश आचार्य अब अर्को रुपबाट पनि चिनिदै हुनुहुन्छ । आफ्नो जीवन भोगाइका कथाव्यथा समेटेर उहाँले पुस्तक निकाल्न लाग्नुभएको हो । पुस्तकको रुपरेखा तयार भैसकेकाले छिटै बजारमा ल्याउने तयारी छ ।
फाइनप्रिन्टको प्रकाशनमा आचार्यको ‘चिना
हराएको मान्छे’ नामक आत्मकथा यही महिनाको अन्त्यसम्म बजारमा ल्याउने तयारी छ
। फाइनपि्रन्टले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गरी चैत महिनाको
अन्त्यसम्म पुस्तक बजारमा आउने जानकारी दिएको हो । ‘२०६९ सालको अन्त्यमा
निक्लने यो पुस्तक बिगेस्ट बुक अफ द इयर हुनेछ भन्ने हाम्रो विश्वास छ’
फाइनपि्रन्टका अजित बरालले बताउनुभयो ।
फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत
नीरज भारीले आचार्यजस्तो ठूलो व्यक्तित्वको पुस्तक छाप्न पाउनु गर्वको कुरा
रहेको र आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो ।
आचार्यको आत्मकथाको पाण्डुलिपी पढेका र पुस्तक सम्पादनमा सहयोग गरेका
रविन्द्र समीरले पुस्तक नेपाली प्रकाशन उद्योगको सबैभन्दा महत्वपूर्ण
उपलव्धी भएको बताउनुभयो ।
सुख-दुःखका कथा
आचार्यले पुस्तकमा आफूले जीवनमा भोगेका
सुख-दुःख र सफलतलाई समेट्दै हुनुहुन्छ । बाल्यकालमा गरेका उटपट्याङ, जीवन
संघर्ष, कला क्षेत्रमा आउँदा भोगेका उतारचढाब लगायत घटनाको अभिलेख पुस्तकमा
रहने उहाँले जानकारी दिनुभयो । ‘जीवनमा मैले भोगेका सुखसँगै दुःखका कहानी,
मदनकृष्ण दाइसँगको सहकार्य, बेदना र खुशीका पोका, अहिलेसम्मको महत्वपूर्ण
क्षण सबै अटाउने प्रयास गरेको छु’ आचार्यले अनलाइनखबरलाई जानकारी दिनुभयो ।
आचार्यले मिरा आचार्यसँगको दाम्पत्य जीवन,
मिराको दुखद निधन, त्यसपछिको पीडा, दोस्री पत्नी रमिलासँगको भेट र
त्यसपछिको जीवनसँगै कलाकारिता र राजनीतिक घटनाक्रमलाई पनि पुस्तकमा समावेश
गर्ने कोशिस गर्नुभएको छ । ‘गणेशमान, सिंह, मनमोहन अधिकारी, मदन भण्डारी
लगायतका नेताहरुसँगको भेट र उहाँहरुको प्रेरणालाई पनि किताबमा समेट्ने
प्रयास गरेको छु’ आचार्यले भन्नुभयो ।
जीवनका महत्वपूर्ण घटना टिपोट गर्ने
बानीले पुस्तक लेख्ने प्रेरणा मिलेको आचार्यले बताउनुभयो । ‘दुई वर्षअघि
जीवनसाथी मिराको दुखद निधनले मलाई साहै्र पीडा भयो, पीडामा केही लेखें,
लेख्दै जाँदा पुस्तक नै निकाल्ने प्रेरणा मिल्यो’ आचार्यले
भन्नुभयो-’पछिल्लो घटनाक्रमबाट लेख्न शुरु गरें, पहिलेका कुरा पनि समेटेर
पुरै आत्मकथा नै तयार पार्न लागेको हो ।’ पुस्तक पहिलो भएपनि उहाँको कथा
लेखन भने पहिलो होइन । ‘हामीले हास्यव्यंग्य कार्यक्रम गर्दा पहिले कथा नै
लेख्छौं’ आचार्यले भन्नुभयो-’कथा लेखन पहिलो नभएपनि पुस्तक नै निकाल्न
लागेको चाहिँ पहिलोपटक हो ।’
पुस्तकको रकम सामाजिक काममा
पुस्तक चैत महिनाको अन्त्यमा बजारमा आएपनि
यसको औपचारिक बिमोचन भने बैशाख ७ गते हुनेछ । ‘मेरी श्रीमती मिराको दोस्रो
पुण्यतिथि बैशाख ७ गते भएकाले त्यसदिन बिमोचन गर्न लागिएको हो’ आचार्यले
भन्नुभयो । पुस्तक बिक्रीबाट संकलन भएको रकम सामाजिक काममा खर्च गरिने पनि
उहाँले जानकारी दिनुभयो ।
यसरी जुर्यो शीर्षक
पुस्तकको नामको बारेमा आचार्यले रोचक
कहानी सुनाउनुभयो । ‘बल्लबल्ल जन्मेको छोरो भनेर बाआमाले एकतोला सुनको
प्रतिमामा मेरो चिना राखिदिनुभएको रहेछ । तर चोरले सुनको प्रतिमा चोरेर
लग्यो । चोर्ने क्रममा उसले मेरो चिना चाहिँ फालिदिएछ’ आचार्यले
भन्नुभयो-’अहिले मेरो कुनै चिना छैन ।’ चिना नभएकै कारण भोलि के हुन्छ
भन्ने कुरा आफुले थाहा नपाएको र चिताउँदै नचिताएको घटना व्यहोर्नुपरेको
आचार्यले बताउनुभयो ।
‘हुन त चिना भएका मान्छेको पनि भोलि के
हुन्छ थाहा हुँदैन, मेरो त झन् चिना नै नभएको’ आचार्यले भन्नुभयो । आफू
कात्तिकमा जन्मेकोले धेरैले कात्तिके कुकुर भनेर जिस्क्याउने गरेको स्मरण
गर्दै आचार्यले भन्नुभयो-’हो म कुकुर जस्तै हो । कुकुर कहिले गल्लीमा
भौंतारिँदै हिँड्छ, कहिले चिल्लो गाडीमा सररर हुँइकिन पनि पाउँछ । मैले
कुकुरले जस्तै सुख र दुःख दुवैको अनुभव गर्न पाएको छु ।’

0 comments
Write Down Your Responses