mainpageads

कस्तो अचम्म ..गिनिज बुकमा नाम लेखाउन पानीमा योग

रत्ननगर (चितवन), आश्विन २१ - कुनै पौडीबाज ताल वा पोखरीमा स्थिर रूपमा कति समयसम्म तैरिरहन सक्छ ? सायद केही मिनेट हुन सक्छ । तर यहाँका एक युवकले पानीमा स्थिर तैरिएरमात्र होइन, घन्टौं योग गरेर सबैलाई छक्क पारे । रत्ननगर नगरपालिका १ का विकर्णकुमार श्रेष्ठले शनिबार टिकौली दहमा पानीमाथि योग गरेर देखाए । पद्मासनमा बसेका उनले दर्शकसामु १ घन्टा हलचल नगरी योग गरे । पानीमा उनी हातखुट्टा नचलाई घन्टौं स्थिर रहन सक्छन् । पानीमा घन्टौं सुतेर उनले ३ वर्षअघि नै आफ्नो कला देखाएका थिए । ठूला तालमा उनी आरामसाथ सुतेर बस्न सक्छन् । योग गर्दा उनको टाउको पानी बाहिर हुन्छ । नचलिकन उनले गरेको योग देखेर उपस्थित दर्शक छक्क परे । 'मैले यस्तो चमत्कारिक कला पहिलो पटक हेरें, कार्यक्रमका प्रमुख अतिथि रहेका आयोजक संस्था लायन्स डिस्टि्रक्ट एडभाइजर घनश्याम भट्टराईले दर्शकसामु भने, 'राष्ट्रले उनको कलालाई सम्मान गर्नुपर्छ ।' सामान्य चप्पल लगाएर अनौठो प्रकारको पौडी सिकेका उनले अहिले खाली खुट्टामा विभिन्न आसनमा पानीमा तैरिन्छन् । सानैदेखि पौडीमा रुचि राख्ने ३२ वषर्ीय विकर्णले यहाँका नदीतालमा लामो दूरीसम्म पौडेर पार गर्दै आएका छन् । 'पानीमाथि सुत्ने कलापछि एक वर्षदेखि योगको अभ्यास गरेको हुँ,' चमत्कारिक कला हेर्न झुम्मिएका सञ्चारकर्मीसँग उनले भने, 'आनन्दपूर्वक म पानीमा जति पनि उत्रन सक्छु ।' आफू पानीमा २४ घन्टा योग गरेर देखाउन सक्ने उनले दाबी गरे । उनको कलाका लागि गत वर्ष गिनिज बुक वल्र्ड रेकर्डका लागि पहल सुरु भइसकेको छ । 'उनको विवरण र भिडियो हामीले गिनिज बुक को कार्यालय यूकेमा पठाएका हौं, अहिलेसम्म जवाफ आएको छैन,' एएफपी समाचार संस्थाका नेपाल प्रतिनिधि प्रकाश माथेमाले टेलिफोनमा भने, 'सायद पौडीको यो विषयमा गिनिजले रेकर्ड नलिएको हो कि ।' पानीमा फरक शैली र योग नै गरेर देखाउने कला अद्भूत भएकाले फेरि पहल गर्न सकिने उनले बताए । यसका लागि नेपालबाट ६ प्रकारका विषयमा गिनिज बुक मा नाम लेखाउन सफल भएका थानेश्वर गुरागाईंले सहयोग गरेका छन् । पानीमा योग गर्न सिक्न उनले रामदेवकै शैलीमा जमिनमा बसेर सिके । पानीमाथि शरीरको सन्तुलन मिलाउन उनलाई ६ महिना लाग्यो । पानीमा शरीरको कुनै भाग नचलाई उत्रन उनले आफैं अभ्यास गरेको बताए । हातका औंला, खुट्टा, टाउको र भुँडीको सन्तुलनबाट मानिस पानीमा पातझैं उत्रिरहन सक्ने उनको भनाइ छ । ८२ केजी तौल भएका उनी शरीरलाई पानीमा माछाको भुराझैं सुलुसुलु पौडिन्छन् । 'पानीमा श्वासप्रश्वास चालको भूमिका महत्त्वपूर्ण हुन्छ, उनी भन्छन्, 'पानीमा सुत्न, थचक्क बस्न र पौडिन श्वास लिने-छोड्ने प्रक्रियाले डुब्ने-उत्रने कामको निर्धारण गर्छ ।' नारायणी नदीमा उनी १० किमि बढी तैरिएर पुग्ने गर्छन् । यस्तो अद्भूत कलालाई प्रसार गर्न उनी पूर्वअध्यक्ष रहेको लायन्स रत्ननगरले पहल गरेको छ । पाँच दाजुभाइमध्येका माइला विकर्णले मोटर पार्टस्को व्यवसाय गर्दै आएका छन् । ekantipur


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts