२४ असोज, काठमाडौं । दशैंमा लुगाफाटा, खाद्यान्न र मरमसलासँगै नयाँ नोटको कारोबार पनि उत्तिकै हुने गर्छ । टीकाटालो गर्ने बेला कटकट परेको नयाँ नोट लेनदेन गर्न सबैलाई रहर लाग्छ । दशैंको बेला सबैले नयाँ नोट नै खोज्ने भएकाले यसलाई मध्यनजर गर्दै राष्ट्र बैंकले हरेक वर्ष नयाँ नोट वितरण गर्दै आएको छ । राष्ट्रबैंकको थापाथली कार्यालय र अरु बैंकिङ कार्यालयमा हरेक दिन नयाँ नोट लिनेहरुको घुईंचो लागिरहेको छ ।
अघिल्ला वर्षहरुमा घटस्थापनाको केही दिनअघि मात्र नयाँ नोट वितरण गर्ने गरेको राष्ट्र बैंकले यसवर्ष समयमै वितरणको काम थालेको हो । १४ गतेदेखि नै राष्ट्र बैंकको थापाथली कार्यालयमा तीनवटा काउन्टरबाट नयाँ नोट वितरण शुरु भएको हो । दशैंमा ५, १०, २०, ५० र १०० रुपैंया दरको नोट बढी माग हुने भएकाले यसै अनुसार व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ नोटकै लागि एक अर्ब रुपैंया छुट्याइएको छ ।
भनेजस्तो सजिलो छैन
सर्वसाधारणको सुविधा र सजिलोको लागि तीनवटा काउन्टरबाट नया नोट वितरण भैरहेको राष्ट्र बैंकको भनाई छ । त्यसमाथि अरु बैंकिङ कार्यालयलाई पनि नोट दिइएकाले त्यहाँबाट समेत लिन सकिने बैंकको भनाई छ । तर अन्यत्रबाट भनेजति रकम साट्न नपाएपछि सर्वसाधारण थापाथलीको कार्यालयबाटै लाइनमा बसेर नयाँ नोट साट्न बाध्य छन् ।
नोट विभागका अनुसार अहिले दिनहुँ चार पाँचसयको संख्यामा नोट साट्नेहरुको भीड लाग्ने गरेको छ ।बिहान १० बजेदेखि २ बजेसम्म थापाथली कार्यालयभित्र छिरिसकेकालाई राष्ट्रबैंकले पैसा साटिदिन्छ । नयाँ नोट लिन चारपाँच घण्टासम्म लाइनमा पर्खनुपरेको सर्वसाधारणको भनाई छ । थापाथलीमा एकजनाले बढीमा २२ हजार रुपैंयासम्मको नोट साट्न सक्छ ।
onlinekhabar
1 comments
Write Down Your Responses

January 4, 2013 at 8:11 PM
Hmm Its nice ( Test Coment )