घन्टौं झुन्डिएर अस्पताल ..
सदरमुकामबाट उत्तरको डाँडोपारी कोराक ढाडखोलाको ठाडो भिरमा घर छ नानीमायाको। लामो समयदेखि ज्वरो आइरहेको थियो। त्योभन्दा अझ उत्तरको अर्को डाँडो ठकुरीभन्ज्याङस्थित उपस्वास्थ्यचौकीको सिटामोलले उनको ज्वरो बिसबाट उन्नाइस भएन। 'हिँड्नै नसक्ने गरी थलिएपछि भरतपुर लिएर हिँडेको,' सदरमुकाम आउने बाटोको चिप्लेटी भन्ने ठाउँमा भेटिएका उनका श्रीमान सन्जय चेपाङले बताए।
'ज्वरो आयो, यहाँको ओखतीले छोएन। त्यै भएर डाक्टरकोमा लैजान लागेको,' चेपाङले ओरालो झर्दै गर्दाको पसिना पुछ्दै भने, 'अस्पताल पुग्दा त झन् बढी ज्वरो आउलाजस्तो छ यो घामले।' काठको लामो वलोमा दुईतिर बाँधिएका पुछ्यौरीभित्र निकै अप्ठेरो गरी घाम खाँदै सुतेकी थिइन् नानीमाया। के भयो भनी बोलाउँदा तिर्खाले प्याकप्याक भएजस्तो उनको मुख राम्ररी खुल्न पनि सकेन।
मध्याह्नको चर्को घाममा वीरेन्द्रनगर पनि नपुगेका उनीहरु दुई घन्टा उकालो-ओरालो हिँडिसकेका थिए। अझै मुख्य सडक पुग्न तीनचार घन्टाको बाटो थियो। बिरामीको त उसै हालत खराब थियो। बोक्नेहरु पनि बिरामीजस्ता भएका थिए। 'बिरामीलाई अस्पताल पुर्या उनैपर्योो। त्यही भएर पानी पनि खान पाएको छैन,' नानीमायाका भाइ आइते चेपाङले सुनाए, 'भुइँमा राखेर आराम गरे झन् ढिला हुन्छ कि!'
भर्खर खुलेको कच्ची बाटो भए पनि सवारीका नाममा फोरह्विलर जिपमात्र कहिलेकाहीँ गाउँमा चल्छ। अझै पनि विकटका चेपाङ, तामाङ हिँडेर गाउँसहर गर्छन्।
नानीमायाजस्तै थुप्रै बिरामी अलपत्र अवस्थामा अस्पताल आउन बाध्य छन्। त्यै पनि समयमै पुगे बाँचियो नत्र अकालमै मर्छन्। 'अरुबेला त गाह्रो सहिन्छ तर बिरामी भएका बेला ज्यादै साह्रो पर्छ,' ढाडखोला फेदीकी सावित्री प्रजा भन्छिन्, 'सुत्केरी हुन नसक्दा एम्बुलेन्स पनि गाउँ आउन सक्दैन।'
उसो त पारीको ठकुरीभन्ज्याङको उपस्वास्थ्यचौकीमा स्वास्थ्य कर्मचारी छन्। तर पनि औषधी र उपचारका लागि चाहिने सामग्री पर्याप्त छैन।
'त्यहाँ त पखाला र थोरै ज्वरो आएका बेलाको औषधी पनि थोरै छ अरु त केही छैन,' स्थानीय शिक्षक इन्द्रबहादुर तामाङले भने, 'बिरामी लैजानु परे उही हो दिनभर घाममा बोकेर हिँडायो, झन् बिरामी भएर अस्पताल पुग्छ।'
'बाटो त बन्दैछ तर अस्पताल गाउँमा आएन। त्यै भएर दुःख छ,' ६० वर्षे माया चेपाङले भनिन्, 'मैले पनि आठ जना छोराछोरी घरमै जन्माएको। झन्डै मरिनँ कान्छा पाउने बेला।' अस्पताल आइदिए आफूले जस्तो दुःख अरु बिरामीले नपाउने उनी बताउँछिन्। एउटा पाखोबाट अर्को पाखा टाढाटाढा घर छ गाउँमा। मर्दापर्दा बोलाउन पनि मानिस भेटिन्नन्। त्यसैले पनि चेपाङले समयमै उपचार पाउन्नन् र ज्यान गुमाउँछन्।
जंगल, भिर, पहाड, खोलानाला आदिकै भरमा वर्षौं बाँचेका उनीहरु अहिले ती प्राकृतिक स्रोत नासिँदै गएपछि संकटमा छन्। 'बाबुबाजेले जडिबुटी खाएर निको पार्थे। अहिले त्यो खोज्न पनि घना जंगल छैन,' खड्गबहादुर चेपाङ भन्छन्, 'अनि दिनभरि घाममा बोक्ने र बिरामी दुइटैले दुःख पाएर सदरमुकाम लैजानुभन्दा अर्को ठाउँ छैन।'

0 comments
Write Down Your Responses