पारसलाई हिमानीको बल..
केही महिनाअघि एमाले नेता केपी शर्मा ओली
सिकिस्त बिरामी हुँदा धेरैले धारे हात लगाए । सहानुभूति देखाउने भन्दा
गैदिए हुन्थ्यो भनेर कामना गर्नेहरुको संख्या बढी देखियो । बिरामी हुँदा
शत्रुलाई पनि सहयोग र सहानुभूति जनाउने नेपाली संस्कृति देख्दैभोग्दै
आएकालाई यसले बिझायो । मरोस् भनेर धार हात लगाउनेहरुप्रति चौतर्फी बिरोध
भयो । त्यसपछि केपी ओलीको स्वास्थ्य लाभको कामना गर्नेहरु बढ्न थाले ।
अहिले पूर्वयुवराज पारस शाह गम्भीर बिरामी
हुँदा ठिक्क पर्यो भनेर काखी बजाउने भन्दा निको भैदिए हुन्थ्यो भनेर कामना
गर्नेहरु धेरै देखिएका छन् । पारसलाई मात्र एकोहोरो हेर्ने हो भने उनी
देशका एकजना खराब पात्र हुन् । सुखसयल र मोजमस्तीमा हुर्केर उनले
चाहिँदो/नचाहिँदो धेरै गरे । गुण्डागर्दी र लागुऔषधको कारोबारमा लागे ।
राजतन्त्रको जगजगी भएको बेला सडकमा अरुले हिँडडूल गर्न नसक्ने गरी
मोटरसाइकल हुईंक्याए । डिस्को र डान्सबारमा गएर होहल्ला गरे । कतिलाई
थर्काए । कतिलाई दुव्र्यवहार गरे । कुटे, पिटे । उनी आफैंले चलाएको कारको
ठक्करबाट संगीतकार प्रवीण गुरुङको मृत्यु भयो ।
दरबार हत्याकाण्डमा पनि
प्रत्यक्ष/अप्रत्यक्ष उनको सहयोग रहेको भन्ने आरोप पनि लाग्ने गरेको छ ।
त्यसैले उनी बिरामी हुँदा ठीक्क भयो भन्ने मान्छेहरु देखिनु स्वभाविक नै
होला । तर भावना र सहानुभूति दर्शाउन खप्पीस नेपालीले उनको स्वास्थ्य लाभको
कामना पनि उत्तिकै गरेका छन् । राजतन्त्र पक्षधरका मान्छेलाई मात्र होइन,
सच्चा गणतन्त्रवादीहरुलाई पनि उनी सञ्चो भैदिए हुन्थ्यो भन्ने लागेको छ ।
पारसप्रतिको सहानुभूति बढाउन मुख्य भूमिका
खेलेकी छिन्, उनकी जीवनसंगिनी हिमानीले । सम्भ्रान्त परिवारकी बुहारी भएर
पनि हिमानीले कहिल्यै दम्भ देखाइनन् । गाउँघरमा बिग्रेको छोरो सपार्न भन्दै
भित्र्याएकी बुहारीले जस्तो पारसलाई सही बाटोमा ल्याउन निकै मेहनत गरिन् ।
परिवारका अरु सदस्यलाई दाग लागेपनि उनले आफूलाई सधैं चोखो राखिन् ।
राजपरिवारकी बुहारी जस्तो भूमिकामा आफूलाई कहिल्यै देखाइनन् । सक्दो
समाजसेवामा लागिन् । गाउँघरको दुःखी गरिबको आँगनमा पुगिन् । आफ्नै बाआमालाई
जस्तै गरी सुखदुःख र गाह्रो साह्रो सोधिन् । मीठो मुस्कान र दरिलो दिल
बनाएर सक्दो सहयोग गरिन् ।
भारतकी छोरी भएर पनि नेपाली बुहारीको असल
भूमिका देखाएकी हिमानीप्रति श्रद्धा राख्नेहरु पनि धेरै छन् । उनको रुप
मात्र होइन, गुण पनि उत्तिकै सुन्दर छ । पारसलाई औंला ठड्याउनेहरु
हिमानीलाई देख्नेबित्तिकै नतमस्तक हुन्छन् । हिउँजस्ती हिमानीको जिन्दगीमा
बज्रपात नहोस्, अहिले सबैको यही कामना छ ।सानी छोरी कृतिकालाई थुम्थुम्याएर
सिकिस्त भएका पति भेट्नको लागि बैंकक उड्ने बेला बिमानस्थलमा देखिएकी
हिमानीलाई कहिले अस्पताल पुगौंला भन्ने हतार थियो । अहिले उनी त्यही
अस्पतालमा इन्तु न चिन्तु भएर सुतिरहेको पतिलाई देखेर भावुक छिन् ।
जिन्दगीमा सुखभन्दा दुःख मात्र बढी दिने गरेको पति छिटै उठेर आफूलाई हेरोस्
भन्ने उनको कामना छ ।
राजपरिवारमा भिजेर पनि सबैको आँखामा बस्न
सफल भएकी यि हिमानीले सुध्रेको पारस पाउन सकून् । अस्पतालको बेडबाट होस्
खुल्ने बित्तिकै अगाडि उभिएकी हिउँजस्तै हिमानी देखेर पारसको आँखामा बररर
आँशु आओस् । म अब सुध्रन्छु, तिमीलाई दुःख दिन्न भन्दै घोप्टो परेर रोउन्
उनी । धेरै रोउन् । त्यो पुराना दाग सबै आँशुले पखालोस् । अनि छिटै
बैंककबाट फर्केर विमानस्थलमा परिवारका अरु सदस्यसँगै पारसको छेउमा बसेकी
हिमानीले उही मीठो मुस्कान सहित हात हल्लाउन् । सिनेमाको दृश्यमा जस्तो
लाग्ने यो क्षण साँच्चै वास्तविकता भैदिए !

0 comments
Write Down Your Responses