mainpageads

कुमारी आमाकी सन्तान रोशालाई कानुनले नै अनाथ बनायो

उपेन्द्र लामिछाने, काठमाडौं, फागुन १४- छ वर्षीया रोशाको कारुणिक कथा अरबबाट सुरु हुन्छ। वैदशिक रोजगारीमा अरब पुगेकी अविवाहित युवती गर्भ बोकेर फर्किन्छिन्। रोशालाई जन्म दिएर उनी कुमारी आमाको परिचय गुमनाम राख्न अलप हुन्छिन्। जन्मनासाथ रोशाको लालनपालन जिम्मा आमा बनेर एक बेलायतीले लिइन्। ६ वर्षअघिको यस घटनाले अहिले अचानक नाटकीय मोड लिएको छ।
बेलायती नागरिक मगाली मेनन्ताबाट आमासरह माया पाइरहेकी रोशा अहिले अनाथाश्रममा छिन्। उनीसँग अहिले न आमा छिन्, न उनले दिने माया र संरक्षण। नक्सालस्थित नेपाल बालसंगठनको बालगृहमा रहेकी रोशालाई मगालीको काखबाट कानुनले खोसिदियो। जिल्ला प्रशासन कार्यालयमा बेलायती नागरिकले गैरकानुनी रुपमा नेपाली बालिका पालिरहेको उजुरी परेपछि प्रहरीले उनलाई बालगृहको जिम्मा लगाइदियो।
रोशा अहिले बालगृहमा दिनभर टोलाएर आमा खोजिरहन्छिन्। मगालीलाई पनि रोशासँगको विछोडले सताएको छ। उनी छोरीलाई फर्काउन कानुनी लडाइँमा भौंतारिइरहेकी छन्।
'मैले रोशालाई केही कमी हुन दिएकी थिइनँ,' मेगाली भन्छिन्, 'आज मेरो र रोशाको सबै कुरा खोसिएको छ।' काखमा खेलिरहेकी ६ वर्षीया बालिकालाई प्रहरीले खोसेर लगेको उनले सुनाइन्। 'ऊ 'मामा-मामा' ‐आमा-आमा) भन्दै मतिर आउँदै थिई,' उनले भनिन, 'कानुनले उसलाई समाएर लग्यो।'
बच्चालाई आफूबाट खोस्न विभिन्न व्यक्तिले चलखेल गरिरहेको उनको आरोप छ। 'रोशा कुनै खेलौना त होइन नि?' मगालीले भनिन्, 'अबोध छे, उसले कुनै अपराध गरेकी छैन, आफ्नो स्वार्थका लागि उसलाई खेलौना बनाउने काम नगरौं।'
आफूलाई बालसंगठनका अधिकारीले रोशासँग भेट्नसमेत नदिएको उनले सुनाइन्। 'बच्चाको भावना र मायालाई कानुनले जित्न खोजेको छ, यस्तो अवस्था अन्त्य हुनुपर्छ,' उनले भनिन्, 'नत्र थुप्रै रोशा र उनलाई माया गर्नेहरु रुनेछन् ।' आफूलाई एकपटक रोशाको अनुहार हेर्न मन लागेको उनले सुनाइन्। 'मलाई थाहा छ, ऊ मेरो बाटो हेर्दैछे,' उनले भनिन्, 'म कुन बाटो त्यहाँ पुग्ने हो, थाहा छैन।' आफ्नो अनुरोधलाई प्रशासनले नसुनेको उनले बताइन्।
मगालीको अहिले कानुनी लडाइँमा छिन्। उनको पक्षबाट मुद्दा लडिरहेकी तुला कँडेलले भनिन्, 'विदेशीले नेपाली नागरिकलाई पाल्न नपाइने कानुनमा कहीँ छैन, कानुनी रुपमा हकदाबी पाउनुपर्छ।'
नेपाल बालसंगठनका उपनिर्देशक बालकृष्ण ढुंगेलले सिडिओ कार्यालयबाट बच्चा बालमन्दिरमा आइपुगेको जानकारी दिए। 'ब्रिटिस नागरिकले गैरकानुनी रुपमा पालेको बच्चा रहेछ, राख्दिनू भने,' उनले भने, 'माघ १२ बाट बालिका हाम्रै रेखदेखमा छिन्।' रोशा बालमन्दिरमा उदास रहने गरेको उनले सुनाए। 'लामो 'एटेचमेन्ट' का कारण हुनसक्छ, रोशाले ती ब्रिटिस नागरिकलाई सम्झने गरेकी छिन्, 'यो स्वाभाविक हो,' उनले भने।
मगालीले जन्मनासाथ पालनपोषण र शिक्षाको व्यवस्था गरे पनि संरक्षणसम्बन्धी कागजी प्रक्रिया पूरा गरेकी थिइनन्। स्रोतका अनुसार सोही जानकारी पाएकाले उजुरी गरेपछि रोशाले अभिभावक गुमाइन्।
जिल्ला प्रशासनमा स्माइल नेपाललगायत केही संस्थाले त्यसबारे उजरी दिएको स्रोतको भनाइ छ। संस्थाकी उपाध्यक्ष अनु पन्तले भने यस विषयमा कुरा गर्न चाहिनन्। उनले टेलिफोनमा भनिन्, 'अपोइन्टमेन्ट लिएर आउनुस्, म टेलिफोनमा बोल्दिनँ।'
रोशाको विषयमा विभिन्न किसिमका व्यक्तिले अनावश्यक चासो देखाइरहेको उपनिर्देशक ढुंगेलले जानकारी दिए। 'बालमन्दिरमा रोशाजस्ता २ सय अनाथ बालबालिका छन्,' उनले भने, 'तर रोशाकै लागि धेरैले चासो देखाएका छन्, यस्तो प्रवृत्ति ठीक होइन।'
बालिकाको हकदावी गर्न माघ २८ मा पत्रिकामा सूचना निकालेको उनले बताए। सूचना जारी गरेपछि मगालीले नजिकको आफन्तको रुपमा बालिकाकी ठूली आमालाई ल्याएर निवेदन दर्ता गर्न खोजिन् तर प्रशासनले निवेदन नै दर्ता गरेन। बालिकाकी वास्तविक आमाको पहिचान भने गोप्य राखिएको छ।
'अहिले प्रमाण लिएर कोही आएका छैनन्,' उपनिर्देशक ढुंगेलले थपे, 'कानुनी रुपमा मगालीले रोशालाई लैजान सक्दिनन्, शिक्षा-दीक्षाका लागि स्पोन्सर गर्नमात्र सक्छिन्।'
काठमाडांैका प्रमुख्ा जिल्ला अधिकारी चुणामणि शर्माले विदेशीले नेपाली बच्चालाई अनधिकृत रुपमा राखेको उजुरी परेपछि आफूहरुले उक्त बच्चालाई त्यहाँबाट लिएर बालमन्दिरको जिम्मा लगाएको बताए। 'वि्रटिस नागरिकसँग बच्चा राख्ने कानुनी अधिकार थिएन,' उनले भने, त्यसैले बालिकालाई बालमन्दिर पुर्‍यायौं।'


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts