बैंककमा बिरामी पारसलाई सिमराबाटै सोधीखोजी
छोरीको डिस्चार्जपछि श्रीमान भेट्न हिमानी हतार
१० फागुन,
काठमाडौं । आफ्ना छोराछोरी र घरका सदस्यमात्रै होइन, अरु कुनै आफन्त र
छरछिमेकी गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका छन् भन्ने सुन्नेबित्तिकै
मान्छे चारतिरको काम छोडेर भेट्न अस्पताल पुग्छन् । जसरी हुन्छ, जतिसक्दो
छिटो बिरामीको अनुहार हेरौं भन्ने सबैलाई हुन्छ ।
डेढ हप्ताअघि पारिवारिक घुमफिरका लागि
सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल अझै उतै हुनुहुन्छ ।
जीवन र मरणको दोसाँधमा रहेका छोरा पारसलाई भेट्न बैंककसम्म पुग्ने योजना
उहाँहरुले अझै बनाउनुभएको छैन । बैंकक जानका लागि खर्चका अभाव पनि पक्कै
भएको होइन । बैंकक टाढा पनि होइन, जाउँ भनेर बिहान योजना बनाउनेबित्तिकै
काठमाडौंबाट ४ घण्टामा बैंकक पुगिन्छ ।
आफ्नो एक्लो बिरामी छोरालाई भेट्न पूर्व
राजारानी किन बैंकक गएनन् ? ‘सबै गुरुरु गएर पनि हुने केही होइन,
छोरी-ज्वाइँंलाई पठाउनुभएकै छ’ पूर्वराजाका एकजना सहयोगीले अनलाइनखबरसित
भने-’बैंकक नै नगए पनि उहाँहरुले छिनछिनमा छोराको स्वास्थ्य अवस्थाबारे
सिमराबाटै सोधीखोजी गरिरहनुनभएको छ ।’
ती सहयोगीका अनुसार सिमरामा रहेका
पूर्वराजारानी छोराको अवस्था सुनेर निकै चिन्तित हुनुहुन्छ । सबैजना त्यहाँ
पुगेर पनि केही नहुने भएकाले उहाँहरु तत्काल बैंकक नजाने सोचमा हुनुहुन्छ ।
‘आजभोलि नै त जाने योजना छैन’ ती सहयोगीले भने ।
आउँदो १५ गते बुबा महेन्द्रको श्राद्ध
परेकाले १४ गते पूर्वराजा ज्ञानेन्द्र काठमाडौं र्फकने कार्यक्रम छ ।
त्यसपछि पनि पारसको हालत यस्तै रहृयो भने उहाँहरु बैंकक जान सक्ने
पूर्वराजाका सहयोगीले बताए ।
हिमानीलाई छटपटी
श्रीमान र छोरी एकैपटक गम्भीर बिरामी
परेपछि पूर्वयुवराज्ञी हिमानी गहिरो चिन्तामा हुनुहुन्छ । सिमरामा
सासुससुरा र छोराछोरीको साथमा रहेकै बेला थाइल्याण्डको बैंककमा रहेका
पारसलाई हृदयघात भए खबर उहाँले सुन्नुभयो । बिरामीलाई श्रीमानलाई भेट्न
भोलिपल्ट अर्थात बुधबार बिहान बैंकक जाने तयारी गरेकै बेला कान्छी छोरी
कृतिकालाई एपेन्डिसाइट भयो र मंगलबार राति नै हतारहतार छोरीलाई सिमराबाट
राजधानीको नर्भिक अस्पताल ल्याउनुपर्यो ।
नर्भिक अस्पतालमा उपचारपछि छोरी कृतिकाको
स्वास्थ्यमा सुधार आएको छ । चिकित्सकले घरमै लगेर आराम गर्न सल्लाह दिएपछि
कृतिकालाई बिहीबार बिहान १० बजे डिस्चार्ज गरिएको छ ।
छोरीलाई घर पुर्याएपछि हिमानी अब बैंकक
उड्ने तयारीमा हुनुहुन्छ । पारसको अवस्था अझै गम्भीर भएको खबर सुनेपछि उहाँ
निकै चिन्तित हुनुहुन्छ । शुक्रबार बेलुकीसम्म हिमानी बैंकक जाने उहाँ
निकट स्रोतले जनाएको छ ।

0 comments
Write Down Your Responses