खानु न खुट्नुसँग किन लडेकी छिन् यि महिला ?
अनसन बस्न पनि दिएन सरकारले
१७ फागुन, काठमाडौं । उहाँलाई न खान,
लाउनको दुःख छ । न बस्ने ठाउँको चिन्ता । घरमा ठाकठुक परेको पनि छैन ।
माइतीसँग आउनुजानु बन्द भएको पनि होइन । तर घरपरिवार, माइती र आफन्त सबै
छोडेर उहाँ अहिले बेबारिसे झैं सडक छेउमा लड्नुभएको छ । एक हप्ता भयो पानी
समेत पिउनुभएको छैन । खानाखाजा त परको कुरा ।
अर्घाखाँची माइती र जनकपुर घर भएकी शारदा
भुसाल झालाई घरपरिवार र आफन्तको मात्र होइन, हिजोआज आफ्नो समेत मतलब छैन ।
देशमा बढ्दो भ्रष्टाचार र अनियमितता जरैदेखि उखेलिनुपर्छ भन्ने एकसूत्रीय
माग बोकेर उहाँ राजधानी आउनुभएको छ । आफ्नो जायज माग्ने सुन्नुको सट्टा
सरकारले लखेट्न थालेपछि उहाँ खानु न खुट्नुसँग रत्नपार्कको सडकमा
लडिरहनुभएको छ । सहयोगीले बनाइदिएको टेन्टमुनी पल्टेर उहाँ भ्रष्टाचारमुक्त
देश बनेको सपना देखिरहनुभएको छ ।
सरकारी तारो
जताततै भ्रष्टाचार र अनियमितता देखेर खप्न
नभएपछि भुसाल आफ्ना सहयोगीहरु सहित अघिल्लो शुक्रबारदेखि अनसन बस्न भनेर
जनकपुरबाट राजधानी आउनुभएको हो । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय
अख्तियार दुरुपयोग अनुसन्धान आयोग अगाडि नै अनसन बस्ने उहाँको योजना थियो ।
यही योजना अनुसार उहाँ साथीहरु सहित शुक्रबार बिहान अख्तियारको प्राङ्गण
पुग्नुभयो । तर अनसन बस्दैछन् भन्ने कुरा पहिल्यै थाहा पाएको प्रहरीले
झ्याँकुटी पारेर कमलपोखरी चौकी पुर्यायो ।
‘हामीलाई किन ल्याएको भन्दा माथिको आदेश
भन्दै दुई दिनसम्म प्रहरीले राखे’ भ्रष्टाचार बिरोधी अभियानकर्ता संगीता
थापाले अनलाइनखबरसित भन्नुभयो । शनिबार राति कमलपोखरी प्रहरीले छोड्यो । तर
राति जाने ठाउँ कहीँ नभएपछि उहाँहरु आइतबार बिहानबाट त्यहाँबाट हिँड्नुभयो
। त्यहाँबाट सिधै शान्तिबाटिका, रत्नपार्कमा अनसन बस्ने तयारी भएपनि
त्यहाँ राखिएको टेन्ट पनि प्रहरी भत्काइदियो । तीन ठाउँमा बस्दै, लखेटिँदै
गरेपछि आइतबारदेखि मात्र उहाँहरु शान्तिबाटिकामा बस्न पाउनुभयो । पहिले
भुषालसँगै अनसनमा बसेका अरु दुईजनाले स्वास्थ्यले साथ नदिएपछि छोडे । तर
शारदा भुसाल भने कुनै पर्वाह नगरी खानु न पिउनुसँग सुतिरहनुभएको छ ।
स्वास्थ्य अवस्था गम्भीर
सात दिनदेखि पानी समेत नखाई अनसन बसेकी
भुसालको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । बिहान केहीबेर खान ढिलो
भयो भने त मान्छे भोकले छटपटाउँछ । उहाँ त सात दिनदेखि मुखमा केही नहाली
सुतिरहनुभएको छ । ‘उहाँ बोल्न नसक्ने भैसक्नुभएको छ, उठ्न पनि नसक्ने गरी
शरीर कमजोर भएको छ’ थापाले भन्नुभयो ।
तर शरीर कमजोर भएपनि भुसालको आँट गलेको
छैन । ‘राज्यका बिभिन्न निकायमा भएको ब्रम्हलुट म हेरेर चुपचाप बस्न
सक्दिन, बरु मर्छु माग पूरा नभएसम्म यहाँबाट उठ्दिन’ त्यहाँ पुगेका समर्थक र
सञ्चारकर्मीसित बिस्तारै कुरा गर्ने क्रममा भुसालले भन्ने गर्नुभएको छ ।
आँखैले भ्रष्टाचार देखेपछि अभियानमा
चर्चा कमाउने रहरले भुसालले यसो गर्नुभएको
हैन । स्थानीय निकायमा भएको भ्रष्टाचार प्रत्यक्ष रुपमा देखेपछि उहाँ
त्यसबिरुद्धको आन्दोलनमा होमिनुभएको हो । चार वर्ष अघिदेखि स्थानीय निकायमा
भएका भ्रष्टाचार र अनियमितताका प्रमाणहरु संगलन गरी जिल्ला प्रशासन
कार्यालय र अख्तियारमा उहाँले पटकपटक निवेदन दिनुभएको छ । तर कुनै निकायले
कार्वाही प्रकृया अगाडि नबढाएपछि डेढ वर्षअघि उहाँ महोत्तरीमा आमरण अनसन
बस्नुभयो ।
१३ दिनसम्म आमरण अनसन बसेपछि सरकारले
उहाँसँग वार्ता गर्यो । छानबीन आयोग गठन गर्ने सरकारको प्रतिबद्धतापछि
उहाँले त्योबेलाको अनसन तोड्नुभयो । सरकारले गठन गरेको छानबीन टोलीले
अनुसन्धान गर्दा भुसालले कोट्याएको विषयभन्दा पनि बढी र अझै भयावह रुपमा
भ्रष्टाचार र अनियमितता भएको प्रतिवेदन सार्वजनिक भयो । यो प्रतिवेदन
कार्वाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुग्यो । तर आयोगले
छानबीनको सट्टा निलम्बनमा परेका स्थानीय निकायका कर्मचारीलाई समेत फुकुवा
गरिदिएको भुसालाको आरोप छ ।
यसरी भ्रष्टाचार भएको प्रमाणित हुँदा पनि
दोषीलाई कार्वाही नहुने देखिएपछि भुसाल फेरि अनसनमा बस्नुभएको हो ।
महोत्तरीको बनौली दमौली, लोहारपट्ट िर सुन्दरपुरमा भएको अनियमितता छानबीन
गरी दोषीलाई कार्वाही हुनुपर्ने उहाँको माग छ ।

0 comments
Write Down Your Responses