mainpageads

अस्पतालकै छतमा हेलिकप्टरबाट बिरामीको उद्वार

काठमाडौं, फाल्गुन १९ - बल्खुस्थित बयोधा अस्पतालले अस्पतालकै छतमा हेलिप्याड बनाई हवाई सेवाबाट बिरामीको उद्धार गर्न थालेको छ । बेलैमा अस्पताल पुग्न नसकेर उपचारमा देखिने असर समाधान गर्न  शुक्रबारदेखि हवाई सेवाबाट बिरामीलाई अस्पतालसम्म ल्याउने व्यवस्था गरेको हो ।
पोखराको साराङकोटमा प्याराग्लाइडिङ अवतरण गर्दा दुर्घटनामा परी घाइते भएकी रसियन नागरिक एन्टोनिना फेडोरोभालाई अस्पतालले हेलिकप्टरमार्फत उद्धार गरेको हो । प्याराग्लाइडिङबाट दुर्घटना भएकी फेडोरोभाको 'स्पाइनल फ्याक्चरल' ले उठ्न नमिल्ने अवस्थामै अस्पतालसम्म ल्याउन सफल भएको अस्पतालका अध्यक्ष श्यामबहादुर पाण्डेले जानकारी दिए । उनी दस दिनअघि मेरुदण्डमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । 'त्यस्तो अवस्थाको बिरामीलाई बिनाकुनै झन्झट उपचार गराउन सफल भएका छौं,' उनले भने, 'यो नेपाल मेडिकल सेवाको इतिहासमै नयाँ आयाम हो ।'
दस दिनअघि घाइते भएकी फेडोरोभाले केही दिन पोखराको मणिपाल अस्पतालमा उपचार गराएकी थिइन् । अस्पतालमा बस्न गाह्रो भएको भन्दै साथीहरूको सहयोगमा होटलमा बसिरहेको अवस्थामा काठमाडौं आएर उपचार गर्ने इच्छा राखेपछि उनलाई उद्धार गरिएको उद्धार व्यवस्थापक लाक्पा शेर्पाले जानकारी दिए । 'उठ्नै नमिल्ने गरी घाइते भएकाले उनलाई अन्य ठाउँमा गएर उपचार गराउन सम्भव थिएन,' उनले भने । हेलिकप्टरमार्फत अस्पताल ल्याउन १ लाख ९० हजार खर्च लागेको शेर्पाले बताए ।
फेडोरोभालाई फिस्टेल एयरको हेलिकप्टरले शुक्रबार पोखरा विमानस्थलबाट आधा घन्टा लगाएर १२:४५ बजे बल्खुस्थित अस्पतालमा अवतरण गरेको हो । २६ वषर्ीया फेडोरोभाको उपचार सुरु भइसकेको अस्पतालले जनाएको छ ।
अस्पतालले हवाई सेवाबाट अस्पतालको छतमा रहेको हेलिप्याडमार्फत बिरामी ओसारपसार गरी नेपालको हरेक कुनाबाट आवश्यक परेको खण्डमा सेवा दिन सक्ने छ । यो अभियानलाई 'र्फम हि्वल्स टु विङ्स' अर्थात् 'चक्काबाट पखेटासम्मको रूपान्तरण' नाम दिएको अध्यक्ष पाण्डेले जानकारी दिए ।
अस्पतालको सम्पूर्ण संरचना नै अत्यन्तै वैज्ञानिक र सरल ढंगले निर्माण गरिएको र जुनसुकै किसिमका बिरामी, दुर्घटनाको तुरुन्त उपचार गर्न सम्भव रहेको अस्पताले जनाएको छ  । यसका लागि अस्पतालले विभिन्न एयर कम्पनीसँग समन्वय गरी हेलिकप्टरको व्यवस्था गर्ने छ ।
हालसम्म कुनै पनि बिरामीलाई उपचारका लागि जहाजमार्फत अस्पताल ल्याउँदा पहिले विमानस्थलसम्म र विमानस्थलबाट अस्पतालसम्म गर्दा धेरै समय खर्च हुने प्रक्रियालाई सहज र छिटो छरितो गराउन अस्पतालले यस्तो व्यवस्था गरेको हो ।  'बिरामीको उपचारमा एक मिनेटले पनि ठूलो महत्त्व राख्ने हुँदा अस्पतालकै छतमा अवतरण गराई बिरामीलाई छिटो छरितो उपचार सेवा प्रदान गर्नु हाम्रो उद्देश्य हो,' पाण्डेले भने । गत वर्षमात्रै नेपालका विभिन्न ठाउँबाट विभिन्न हेलिकप्टरमार्फत ३ सय ५० बिरामीलाई विमानस्थलसम्म उद्धार गरिएको तथ्यांक छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts