mainpageads

‘एमाओवादीमा नव एलिट वर्ग जन्मियो ‘

महाधिवेशनले उत्तराधिकारी जन्माउनुपर्छ : पौडेल

२२ माघ हेटौडा । एकीकृत नेकपा माओवादीको सातौं महाधिवेशनमा भाग लिन हेटौंडामा भेला भएका नेता-कार्यकर्ताहरु महाधिवेशनले पार्टीभित्रको विकृति हटाउने, नेतृत्वको उत्तराधिकारी तयार पार्ने, पार्टीलाई एक ढिक्का बनाउने अनि राजनीतिक गतिरोधको निकास दिन सफल हुनेमा विश्वस्त देखिन्छन् । कोही कार्यकर्ता चाहिँ जनयुद्धपछि पार्टीमा नव सामन्त वर्ग जन्मिएको भन्दै महाधिवेशनले यसमा नियन्त्रण गर्ने विधि नबनाए अब उत्पादन बढाउने कार्यदिशाका क्रममा समेत नयाँ वर्ग जन्मने दाबी गर्छन् । अनलाइनखबरले केही नेता/कार्यकर्ताहरुसँग गरेको कुराकानी :
महाधिवेशनले उत्तराधिकारीको टिम निर्माण गर्छ
देवेन्द्र पौडेल सुनील, पोलिटब्यूरो सदस्य
यो महाधिवेशनले विधान, प्रतिवेदन र समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै अहिलेको राष्ट्रिय राजनीतिमा पार्टीको तर्फबाट ढोका खोल्छ । त्यसपछि विधान प्रतिवेदनमा प्रस्तुत नीतिका आधारमा प्रौढ, युवा र अनुभवसिद्ध थ्री एण्ड वान (तीन र एक) को सिद्धान्तअनुसार नेतृत्वको टिम निर्माण गर्छ ।
नेतृत्वसम्बन्धी सैद्धान्तिक विषयमा हामीले छलफल शुरु गरेका छौं । संसारका कतिपय कम्युनिष्ट पार्टीहरुमा अन्तिमसम्म लिटरसिपमा रहिरहने र सम्बन्धित लिडरको मृत्यु भैसकेपछि प्रतिक्रान्ति हुने स्थिति देखापरेको छ, त्यसबाट हामीले पाठ सिक्नुपर्छ भन्ने बहसको शुरुवात भएको छ । अहिले तत्कालै त हामीले मुख्य नेतृत्व परिवर्तन गर्दैनौं तर नेतृत्व ‘थ्री एण्ड वान’को सिद्धान्तअनुसार कमजोरीहरुलाई सच्याउने प्रक्रियाको शुरुवात चाहिँ यही महाधिवेशनबाट हुन्छ ।
नेतृत्वको उत्तराधिकारी पनि यसैसँग सम्बन्धित कुरा हो । क्युवा, कोरिया, चीन र अरु कतिपय देशका कम्युनिष्ट पार्टीहरुको प्रक्रिया हेर्दाखेरि हाम्रो भन्दा अलि भिन्न देखिन्छ । पार्टीको पदमा नभइकन पनि कतिपय विचार र नेतृत्व गर्ने भूमिका खेेलिरहेको पाउँछौं । तर, हामी कहाँ निरन्तर नेता भैरहने र बसिरहनेजस्तो बन्न खोजिरहेको छ । यसलाई अलिकति सच्याएर, उत्तराधिकारीको टीम निर्माण गरेर क्रमशः प्रमुख लिडरहरुले नीतिगत नेतृत्व दिने र सांगठानिक नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्दै जाने कार्यको ढोका यो महाधिवेशनले गर्छ भन्ने हामीलाई विश्वास छ ।
राजनीतिक संकटलाई हाम्रै नेतृत्वमा समाधान गरिन्छ
महेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य 
यो महाधिवेशनबाट हामीले पार्टीलाई एक ढिक्का बनाएर लैजान्छौं । त्यसैगरी राजनीतिक कार्यदिशामा भएका कतिपय अस्पष्टताहरुलाई स्पष्ट गराउँछौं । र, अहिलेसम्म प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्ने र समाजवादी क्रान्तिको आधार तयार गर्ने कार्यनीति हामीले तय गर्ने छौं । साथै भावी चुनौतीहरुको सामना गर्ने र नेपाली राजनीतिको संकटलाई हाम्रै नेतृत्वमा समाधान गर्ने तयारी यो महाधिवेशनले गरेको छ ।
पार्टीमा विकृतिहरु छन्
ज्ञानेन्द्र कुमाल, पूर्वसभासद्
यो महाधिवेशनबाट राजनीतिक वैचारिक एकरुपता ल्याउने कुरो मुख्य हो । त्यसपछि पार्टीभित्र जुनप्रकारको विकृति विसंगति देखएको छ, यसलाई रोकेर पार्टीलाई चुस्त दुरुस्त बनाउने कुरा नै हो ।
पार्टीमा अहिले दुईवटा लाइन नै छैन, पार्टी एउटा लाइनमा आएको धेरै भैसक्यो । अब शान्ति र संविधानको लाइनमा पार्टी प्रष्ट रुपमा अगाडि बढिसकेको छ । अब त्यसमा केही अपुगहरु छन् भने कार्यकर्ताले सल्लाह र सुझाव दिने कुरामात्र हो ।
पार्टीभित्र आर्थिक सामाजिक विकृतिहरु छन्, अराजकता छ । यी विकृति विसंगतिहरु नसोचेको ढंगले हाम्रो पार्टीभित्र प्रवेश गरेका छन् । यसले पार्टीलाई ठीक ठाउँमा लैजाँदैन ।
पार्टीभित्र ‘नव एलिट वर्ग’ जन्मियो
ध्रुव अधिकारी
पार्टीभित्र लाइनको सवालमा मतभेद होलाजस्तो लाग्दैन । दस्ताबेजमा लाइन एउटै छ । खालि पार्टीले लिएको कार्यदिशा अनुरुपको संगठन कसरी बनाउने भन्ने हो । तलदेखि माथिसम्म पार्टीलाई ‘डेमोक्रेट्राइज’ नियन्त्रण गर्ने अथवा अंकुश लाउने परिपार्टीको कसरी विकास गर्ने भन्ने माओवादीभित्रको ठूलो चुनौती हो । किन यो ठूलो चुनौती हो भने जनयुद्ध लडेर यहाँसम्म आइपुग्दा प्राप्त उपलब्धीहरुलाई पार्टीभित्र ‘नव एलिट वर्ग’ले आफ्नो मुठ्ठीमा पारेको छ । यी उपलब्धीलाई कसरी जनताको स्वामित्वमा लैजाने ? यसका लागि पार्टीलाई कार्यकर्ताहरुको नियन्त्रणमा रहने व्यवस्था गरिएन भने जसरी अहिले नयाँ वर्ग जन्मियो, आर्थिक विकासको कार्यक्रमबाट पनि अर्को नयाँ वर्ग जन्मिन्छ । त्यसकारण महाधिवेशनले तलबाट माथि अंकुश लगाउने परिपाटीलाई कसरी विकास गर्छ र जनवादको अभ्यासलाई कसरी परिभाषित गर्छ, त्यसमा पार्टीले ध्यान दिनुपर्छ भन्ने लाग्छ ।
३३ प्रतिशत अधिकार सुनिश्चित गराउनुपर्छ
सरु, पूर्वकमान्डर, काठमाडौं
हाम्रो आन्दोलनले महिलाहरुलाई ३३ प्रतिशत सहभागी गराउनुपर्छ भन्ने भैराखेको छ । कतिपय ठाउँहरुमा ३३ प्रतिशत संख्या पुगेको छैन । यो महाधिवेशन पछाडि राज्य जिल्ला र केन्द्रीय कमिटीमा पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व पुर्‍याउनुपर्छ । हामीले हिजो जनयुद्धका बेला ५० प्रतिशत पुर्याउनुपर्छ पनि भन्यौं । त्यतिबेला जनसेनामा महिलाको ५० प्रतिशत सहभागिता थियो पनि । तर यतिबेला माथिदेखि तलसम्म ३३ प्रतिशित प्रतिनिधित्य सुनिश्चित गराउनुपर्छ भनेर हामी लागिराखेका छौं । मलाई लाग्छ यो महाधिवेशनले यसलाई सुनिश्चित गर्छ ।
जहाँसम्म जनमुक्ति सेनाको भावनाको कुरा छ, मुख्य कुरा विचार भएकाले पार्टीले देशलाई निकास दिनका लागि कस्तो राजनीति लिएर अगाडि बढ्छ, जनमुक्ति सेनाको भावना पनि त्यसैमा समेटिन्छ भन्ने लाग्छ । जनसेनाको छुट्टै कुरा भन्दा पनि पार्टीको रणनीति र कार्यनीति नै मुख्य कुरा हो ।
महाधिवेशनको पहिलो कुरा भनेको पार्टीलाई एक ढिक्का बनाउने कुरा हो । पार्टीलाई एक ढिक्का बनाएर आम जनतामा जाने कुरा मुख्य हो भन्ने मलाई लाग्छ । अर्को कुरा देशमा अहिले जुन किसिमको राजनीतिक गतिरोध देखिएको छ, यसलाई निकास दिने मुख्य उद्देश्य लिनुपर्छ भन्ने मलाई लाग्छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts