छोरीको बिहेको निम्तो बाँड्न हिँडेका व्यक्तिको विभत्स हत्या
भक्तपुर, माघ २० – छोरीको बिहेको निम्तो बाँड्न
हिँडेका एक व्यक्तिको हत्या भएको छ । माघ २२ गते हुने छोरीको बिहेको निम्ता
बाड्न आफन्तकहाँ हिडेका भक्तपुर सिरुटार ७ का ४५ वर्षीय रामेश्वर राउतको
घर नजिकै विभत्स हत्या भएको हो ।
राउतको शव शनिबार बिहान फेला परेको हो । परिवारलाई बिहेको सामाग्री तयार
गर्न लगाएर बिहेको निम्ता बाड्न र विवाहका लागि अवश्यक रकमको तयारी गर्न
शुक्रबार बिहान घरबाट निस्किएका राउतको शव घरबाट करिब १ किलोमिटर पर
उत्तरतर्फ हत्या गरिएको अवस्थामा परिवारले फेला पारेको हो ।
शुक्रबार घर नफर्केपछि र फोन समेत सम्पर्क नभएपछि खोज्न निस्किएका उनका
परिवारले दधिकोट गाविस ८ चित्रपुरमा गहुँ खेतमा ढलका लागि प्रयोग हुने
सिमेन्टको हिम पाईप भित्र जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकका दाई रामभक्त राउतका अनुसार शुक्रबार बेलुका सवा पाँच बजे राउतले
फोन गरेर आफू ग्वार्कोमा रहेको र पैसा दिनेहरुसँग बिवाद भएको जानकारी दिएका
थिए ।
‘साँझ पैसा लिन जाँदा विवाद भएको जानकारी गराएपछि उसँग फोन सम्पर्क भएन ।
घरमा नआएपछि फोन गर्दा मोवाईल अफ थियो । रातभर चिन्ता भै रह्यो’, मृतकका
दाई राउतले भन्नुभयो, ‘बिहान मोटरसाईकल बाटोमा भएको खबर आएपछि खोज्न जादा त
यस्तो पो देखियो ।’
दधिकोट ८ मा रहेको ढलको पाईपभित्र आगो लगाएको अवस्थामा शव भेटिएको
प्रहरीले जनाएको छ । दधिकोट ८ र ६ को सिमानामा रहेको सडकममा मृतक राउतको
बा.३८ प. ५२५९ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल र हेल्मेट भेटिएको छ ।
त्यसको केही पर खेतमा उहाँले लगाएका कालो ज्याकेट र अलि पर खेतमा टोपी
भेटिएको छ ।
ज्याकेटबाट नगद रु. ६ हजार ८ सय ९० , पञ्चशिल सहकारीको एकलाखको हस्ताक्षर
सहितको चेक, हिमालयन बैंकको चेकबुक, अन्ना क्यासिनोको बिजनेश प्रमोटर
लेखिएको परिचयपत्र, टेलिफोनको पैसा तिरेको बिल, बिभिन्न कार्डहरु र बिहेको
निम्तोकार्ड समेत भेटिएको छ ।
ढलभित्र शव जलेर चिन्नै नसकिने अवस्थामा छ । एक वर्ष अघिमात्र करिब ७ वर्षसम्म ईराक बसेर मृतक राउत घर फर्किनुभएको थियो ।
‘जलेको देखेँ तर पत्तो पाइन’
मृतककका भतिजा श्रीचन्द्र राउतले शुक्रबार राती करिब ९ बनेतिर अलि पर आगो
बलेको देखेको बताउनुभयो । ‘राती करिब ९ बजे शौचालय जान घरको बरण्डामा
निस्कदा घटनास्थल नजिकै आगो बलिरहेको देखेको थिएँ’, राउतले भन्नुभयो, ‘कुनै
मादक पदार्थ सेवन गर्नेले आगो बालेको होला भनेर मतलब गरिनँ । तर त्यही
ठाउँमा काकाको हत्या भएको रहेछ । घटना सुनुयोजित देखिन्छ ।’
प्रहरीको अनुमान
प्रहरीका अनुसार घटनास्थल वरपर ३ ठाउँमा आगो बालिएको छ । हत्या गरेर शव ढल
भित्र हालेर पेट्रोल छर्किएर आगो लगाएर हत्याराहरु फरार भएको हुन सक्ने
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक दिलिप चौधरीको अनुमान छ ।
प्रहरी उपरीक्षक चौधरीले आर्थिक लेनदेन वा व्यक्तिगत दूश्मनी कै कारण भएको
हुनसक्ने बताउनुभयो । ‘मृतकले चढ्ने मोटरसाईकल रोकिएको अबस्थामा छ’,
उहाँले भन्नुभयो, ‘मृतकको अबस्था हेर्दा चिनजान कै मानिसबाट मनमुटाबका कारण
घटना घटेको देखिन्छ ।’
मृतकको मोबाइलमा सम्पर्क भएका नम्बरको कल डिटेल मगाएर अनुसन्धान सुरु
गरेको र छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउने प्रहरी उपरीक्षक दिलिप
चौधरीको भनाई छ ।
मृतकको शव पोष्ट मार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

0 comments
Write Down Your Responses