mainpageads

हामी स्खलित हुँदै र फस्दै गएका छौं

प्रचण्ड, अध्यक्ष एकीकृत माओवादी
पार्टी विभाजन र सातौँ विस्तारित वैठक वरिपरि हाम्रो पार्टीमा अराजकता, अस्वस्थता, अन्यौलता, गुटबन्दी व्यापक बढिरहेको थियो । विस्तारित बैठकले यसलाई सच्याउन बल गर्‍यो । तर, आज पनि यो सच्चिएको छैन । महाधिवेशन तयारीसँग स्थानीय स्तरबाट एक हदसम्म संगठनको आधार बन्न सुरु भएको छ, तर अझै सुदृढ भएको छैन ।विचारधारात्मक र राजनैतिक कार्यदिशाको बुझाइमा एकरुपता नआउनु, परिवर्तित परिस्थिति एवम् विकसित हुँदै गरेको कार्यदिशाको अनुकूल पार्टी संरचनाहरुमा विकास नहुनु, पार्टी अन्तरसंघर्षलाई व्यवस्थित र वैज्ञानिक ढंगले संचालन गर्न नसक्नु, पार्टीको संगठनात्मक पद्दति लागू हुन नसक्नु, आन्दोलनमा नेतृत्वको महत्व आवश्कता र स्थापित गर्ने बारेमा एकरुप बुझाई नहुनु, पार्टी कमिटीहरु प्रणाली अनुसार नचली व्यक्तिको ईच्छामा चल्नु, सर्वहारा कार्यशैलीको ह्रास तथा अनुशासनहीनता बढ्दै जानु, लाखौं पूर्णकालीन कार्यकर्ताको व्यवस्थापन र संरक्षण गर्ने काममा उदासिनता देखिनु हजारौं जनमुक्ति सेनालाई पार्टीभित्र समयमै उचित समायोजन गर्न नसक्नु आदि यतिबेला हाम्रो पार्टीमा देखापरेका ज्वलन्त समस्याहरु हुन् ।
हाम्रो पार्टीमा विगत केही वर्षयता पार्टीको भित्री संघर्ष अस्वस्थ्य र अराजक वन्दै भएको छ । विचार समूह गुटमा परिणत भएका छन् । पार्टी हैन, गुट र व्यक्ति हावी हुन पुगेको छ । पार्टीमा विचार र राजनीति संघर्ष नभई व्यक्तिगत स्वार्थ प्रतिबिम्वन हुन थालेको छ । यो क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको सर्वाधिक बाधक र हानिकारक यस कारण पनि छ कि वर्गदुश्मनले यही बिन्दुवाट पार्टी अन्तरध्वंस गर्न रणनीति अपनाउँछ । हामी कम्युनिष्टहरु कुनै अमुक व्यक्तिलाई होइन, बरु समाज वा जनसमुदायको राजनैतिक, आर्थिक, सास्कृतिक रुपान्तरणको नेतृत्व गर्छौ । यही सर्वहारा सामूहिकताको आदर्श पनि हो । वर्ग संघर्षको मूल कडी पनि यही हो । वर्ग संघर्षको यही मूल कडीलाई केन्द्रबिन्दुमा राखि हरेक नेता वा व्यक्तिमा आउने नयाँ सोच, चिन्तनहरुलाई कमिटीमा स्वस्थ बहस गर्न सकिन्छ र पार्टीको सामूहिक बुझाइमा परिणत गर्न सकिन्छ । एकता संघर्ष र रुपान्तरणको माक्र्सवादी नियमको मर्म पनि यही हो ।
आज हाम्रो पार्टीमा देखिने अराजकता, अस्वस्थता र गुटबन्दीको मुख्य स्रोत हामी आफूभित्रै चिन्तन र ब्यवहारमा बिस्तारै पहलाउँदै गरेको व्यक्तिवादी अराजकतावाद हो । यसर्थ यतिबेला सवै प्रकारका व्यक्तिवादसँग निर्मम संघर्ष गरेर मात्रै अन्तरसंघर्षलाई स्वस्थ बनाउन सकिन्छ र नयाँ पार्टी निर्माण गर्न सकिन्छ । हाम्रो जस्तो निम्न पुजिवादी वर्ग समाज, दलाल तथा नोकरशाही सत्ताको प्रभाव रहने स्थितिमा एउटा विशेषता कै रुपमा व्यक्तिवाद देखिन्छ । आफ्नो पद प्रतिष्ठाका लागि मात्र चिन्ता गर्नु, पार्टीभित्र घुर्की, धम्की र बार्गेनिङ गर्नु, आफ्नो र आफ्नो परिवारको सुरक्षा र सुविधाको ग्यारेन्टी खोज्नु, आफूभन्दा तल नोकरशाही बन्नु तथा आफूभन्दा माथि दलाली गर्नु अरुको दुःख कष्ट एवं आवश्यकतामा उदासिन बन्नु, आलोचना सहन नसक्नु आदि व्यक्तिवादी अराजकतावादको उदाहरणहरु हुन । दुश्मनको चौतर्फी घेराबन्दीमा रहेको सर्वहारावर्गको पार्टीले आफैंभित्र रहेको व्यक्तिवादका विरुद्ध कठोर र निर्मम आत्मसंघर्ष र विचारधारात्मक संघर्ष नगरिकन क्रान्तिका बांकी कार्यभार पूरा गर्न सम्भव छैन ।
आज हाम्रो पार्टीमा संगठनात्मक कुनै पद्दति छैन, व्यक्तिहरु कमिटी मातहत छैनन, पार्टी तल्ला कमिटीहरु र माथिल्ला कमिटीबीच सम्बन्ध छैन । न त सर्वसम्मत छ न बहुमत अल्पमत नै छ । गुट स्वार्थ र व्यक्ति स्वार्थले प्रभाव जमाइरहेको छ । यो कम्युनिष्ट पार्टीको संगठनात्मक सिद्धान्त र विधिको ठाडो उल्लंघन हो । पार्टीको निर्माण गर्न गुटको अन्त्य हुनैपर्छ । नेतृत्व निर्माणको प्रश्न अति संवेदनशील पनि हो । नेतृत्व व्यक्ति पनि हो तर नेतृत्व त्यो भन्दा माथि पार्टी, समाज, राष्ट्रको सामूहिक अभिव्यक्ति हो । व्यक्तिगत इच्छा, चाहना र स्वार्थभन्दा माथि उठेर मात्र नेतृत्व निर्माण हुन्छ । नेतृत्वको आलोचना, उसलाई रुपान्तरण गर्न हुनुपर्छ, तर अन्तरध्वस गर्न होइन । हाम्रो समाजमा र पार्टीमा नेतृत्वबारेको वुझाई अत्यन्त अराजनैतिक सोंचमात्र प्रभावी बनेको छ । एकलध्रुबीय विश्वको कल्पना गरिरहेको शक्ति केन्द्रले अर्को स्थापित भैरहेको स्थापित नेतृत्वको केन्द्रलाई या त आफ्नो दास वा दलाल बनाउन पहल गर्छ या त त्यसलाई विध्वस गर्ने रणनीति अपनाउँछ । हाम्रो समाज र पार्टीभित्र पनि नेतृत्वको न्युनिकरण गर्ने, अबमुल्यन गर्ने, बदनाम गर्ने, खुट्टा तान्ने संस्कृति छ । यो प्रतिक्रियावादी रणनीतिको सहयोगी मात्र सावित हुनपुगेको छ । नेतृत्वको अबमुल्यन गर्नेले स्वयं आफ्नो, आन्दोलन, पार्टी, समाजको अबमुल्यन भैरहेको हुन्छ भन्ने बुझ्न बिर्सन हुदैन । सर्वहारा सोंच र चिन्तन, मुल्य मान्यतालाई दृढतापूर्वक अबलम्वन गर्ने समाजको बहुसंख्यक जनसमुदायमा सामूहिक स्वार्थको अभिव्यक्तिका रुपमा नेतृत्वले पनि आफूलाई खरो उतार्नु पर्दछ ।
हाम्रा कमिटीहरु अस्तव्यस्त छन् । भएका कमिटीहरु केवल औपचारिकतामा सीमित छन् । कमिटीका निर्णयहरु बेवारिस बन्न गएका छन् । केही व्यक्तिहरु मात्र चलेका छन् त्यो पनि आफ्नै स्वार्थले । कमिटीहरु निस्प्रभावी बन्नुले आम कार्यकर्ता परिचालन र जनपरिचालन शून्य जस्तो हुन पुगेको छ । शान्ति प्रक्रियाले हाम्रो पार्टीलाई राजनैतिक रुपमा निकै उचाइमा उठायो, तर त्यसको तुलनामा पार्टीको संगठन व्यवस्थित हुन सकेन र पार्टीभित्र गैरसर्वहारा कार्यशैली र अनुशासनहीनता झांगिन पुगेको छ । सर्वहारा मूल्य मान्यता निकै स्खलित हुन पुगेको छ । मालेमाको मार्गदर्शनको सचेत पहलमा भन्दा पार्टी दिनानुदिन विद्यमान आर्थिक, सामाजिक सत्ताको विसंगतिपूर्ण प्रभावको स्वत स्फुर्ततामा फस्दै गएको छ । साम्यवादी चेतना र जनवादी कार्यशैली (व्यवहार) यतिबेलाको हाम्रो आवश्यकता हो । तर हाम्रो पार्टी यसबाट विचलित जस्तै भएको छ । विद्यमान समाजका विसंगतिहरुमा हामी क्रान्तिकारी कम्युनिष्टहरु सलल वग्ने होइन, बरु यसलाई वदल्ने अभियानको नेतृत्व गर्न चाहान्छौ । दलाल तथा नोकरशाही सत्ताले पैदा गरिरहेको विद्यमान आर्थिक, सामाजिक विसंगतिपूर्ण व्यवहारहरु नै हाम्रो पार्टीभित्र प्रभावी हुँदै गरेका विकृतिहरु हुन् । आर्थिक प्रलोभन र अपारदर्शिता तथा सांस्कृतिक र सामाजिक विकृतिका रुपमा देखिने हाम्रो कार्यशैलीको ह्रास र अनुशासनहीनताका उदाहरण हुन् ।
आज हाम्रो पार्टीमा कार्यकर्ताको व्यवस्थापन र संरक्षणको प्रश्न गम्भीर समस्या बनेको छ । हिजो जनयुद्धकालका हजारांै पूर्णकालीन कार्यकर्ता तथा क्रान्तिकारी ध्रुविकरणसंगै आएका सयौं पेशेवर क्रान्तिकारीहरुको संख्या बढ्दो छ । पार्टीको तर्फबाट कुनै अमुक नेताबाट कार्यकर्ताको व्यवस्थापन र संरक्षण गर्ने कुरा सैद्धान्तिकरुपले गलत मात्र हैन सर्वहारावर्गको नेतृत्वको लागि यो असम्भव विषय हो । जनयुद्धको क्रममा स्थापित एक युगै हल्लाउने क्रान्तिको उर्जा र शक्ति जनमुक्ति सेना आज पूर्व जनमुक्ति सेनामा परिणत भएको छ । क्रान्तिकारी कार्यदिशाको विकाससंगै पूर्व जनमुक्ति सेनाको भूमकालाई फरक तर नयाँ स्वरुमा परिभाषित गर्न जरुरी छ । जनसमुदायको क्रान्तिकारी चेतनालाई निरन्तरता दिदै राज्यसत्तामा उनीहरुको हस्तक्षेप र बिद्रोहलाई सम्भव बनाउन पूर्व जनमुक्ति सेनाको भूमिका महत्वपूर्ण हुन्छ ।
सेना समायोजनको प्रक्रियापछि स्वैछिक अवकाशमा आएका पूर्व जनमुक्तिसेनाका कमाण्डर तथा सदस्यहरुको पार्टीमा अझै पनि समूचित समायोजन हुन सकेको छैन । हजारौं जनमुक्ति सेनाका कमाण्डर तथा सदस्यहरु आज पनि कमिटीविहीन र जिम्मेवारीविहीन अवस्थामा छन् । यो अवस्था लामो समय राख्नु हुँदैन । स्थानीय स्तरमा फरक स्वरुपमा पार्टीको नेतृत्वमा स्थानीय सत्ताको निर्माण गरी त्यसमा पूर्वजनमुक्ति सेना, योंग कम्युनिष्ट लिग र स्थानीय जनवर्गीय मोर्चा, अन्य मोर्चाहरुको सहभागितामा स्थानीय सत्तामार्फत् जनसमुदायको राजनैतिक चेतना उठाउने, उनीहरुको विकास निर्माणमार्फत् जीवनस्तर उठाउने काममा परिचालिन गर्नु पर्दछ ।
(हेटौँडा महाधिवेशनका लागि प्रचण्डद्वारा तयार पारिएको दस्तावेजको ५३ देखि ६५ पृष्ठसम्म पार्टीभित्रका चुनौतीबारे गरिएको विश्लेषणको सारांश)


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts