mainpageads

दैलेखका पत्रकारले अनसन तोडे..

सुर्खेत, माघ १४ - क्षेत्रीय प्रशासन कार्यालयले सुरक्षाको तीन बुँदे प्रतिबद्धता जनाएपछि दैलेखबाट विस्थापित पत्रकारले जारी अनसन फिर्ता लिएका छन् ।
एमाओवादी कार्यकर्ताले ज्यान मार्ने धम्की दिएपछि दैलेखका दुई दर्जन पत्रकार सुर्खेतस्थित क्षेत्रीय प्रशासन कार्यालयमा धर्नामा बसेका थिए । क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले दैलेखी पत्रकारलाई भयरहीत पेशा व्यवसाय गर्ने वातावरण मिलाउने प्रतिबद्धता जनाएका छन् ।
क्षेत्रीय प्रशासन कार्यालयले विस्थापित पत्रकारलाई जिल्लामा भयरहीत र निर्वाध ढंगले पेशा व्यवसाय गर्ने वातावरण मिलाउने र सुरक्षा प्रदान गर्ने, विगतमा भएका धम्की, डर र त्रासलगायतका विषयमा सरोकारवालाहरुसँग छलफल गरी त्यस्ता गतिविधि हुन नदिन स्थानीय प्रशासनलाई निर्देशन दिने र विस्थापित पत्रकारलाई क्षेत्रीय प्रशासन कार्यालयकै अग्रसरतामा फर्काउने प्रतिबद्धता जनाएको छ ।
'दैलेख सदरमुकाम पुगेपछि स्थानीय प्रशासनले विशेष कार्ययोजनासहित पत्रकारको सुरक्षा प्रबन्ध मिलाउनेछ,' स्थानीय प्रशासनले भनेको छ, 'यस कार्यको निरन्तर अनुगमन गरिनेछ ।' प्रशासनले पत्रकारमाथि कुनै आक्रमण भए कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ ।
एमाओवादी कार्यकर्ताको धम्कीले असुरक्षित भएपछि विस्थापित भई चार दिनदेखि सुर्खेतमा रहेका सुर्खेतका पत्रकारहरुले क्षेत्रीय प्रशासन कार्यालयमा रिले अनसन सुरु गरेका थिए । यसअघि उनीहरुले विस्थापितहरुको पुनस्थापना र बन्द भएका सञ्चार माध्यम सुचारु गर्न २४ घण्टे अल्टिमेटम दिएका थिए ।
दैलेखबाट बिस्थापित २२ पत्रकार र सुर्खेतका समेत पत्रकारहरु रिले अनसनमा सहभागी थिए । 'विस्थापित पत्रकारहरुलाई ससम्मान फर्काउने र बन्द भएका सञ्चार माध्यमहरुको सुचारु गराउनेका लागि सुरक्षा प्रत्यभूति दिने दायित्व राज्यको भएको नेपाल पत्रकार महासंघका मध्यपश्चिम संयोजक सुर्यमणि गौतमले बताए ।
दैलेख घटना समाधानको लागि सरोकारवालाबीच छलफल गर्न सामुदायिक रेडियो प्रसारक संघद्वारा वीरेन्द्रनगरमा आइतबार आयोजित छलफल कार्यक्रममा संघका महासचिव खेम भण्डारीले सञ्चारविहीन दैलेखमा विस्थापित पत्रकारलाई पुनःस्थापित गरी बन्द सञ्चार माध्यम सञ्चालन गर्ने वातावरण तयार नभए प्रतिकात्मक आन्दोलन गर्न वाध्य हुने बताएका थिए । भण्डारीले सञ्चार जगत र सञ्चार माध्यमलाई विस्थापित गर्नु सरकार र सत्तासिन दलको जीतका रुपमा नलिन आग्रह गरे । उनले सञ्चार शून्यताको स्थितिलाई राज्य तहबाट ध्यान नदिनु गैरजिम्मेवारी र आपत्तिजनक भएको बताए । दैलेख घटना नेपालको लोकतान्त्रिक इतिहासकै कलंक भएको उनको टिप्पणी थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य गौतमले दैलेखबाट पत्रकार विस्थापित हुनु सिंगो राज्य आतंक भएको बताए । उनले सरकारले सूचनाविहीन लोकतन्त्र लाद्न खोजेको आरोप लगाए ।
मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासक शारदाप्रसाद त्रितालले पत्रकार तथा आम नागरिकको सुरक्षा दिन प्रशासनले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका थिए । उनले दैलेख समस्या समाधानका लागि एकिकृत माओवादीको जिल्ला नेतृत्वसँग समन्वय गर्न समेत तयार रहेको धारणा व्यक्त गरे ।
दैलेख घटनाका बारेमा जानकारी गराउँदै क्षेत्रीय प्रशासक त्रितालले भने, ‘छानबिन नगरी सिडियो र डीएसपीलाई हटाउने काम गलत भएको छ, म पनि त्यो कुरामा सहमत छैन् ।’ उनले सत्तापक्षले नै जनतालाई उचाल्दा दैलेख घटना भएको दावी गरे । उनले भने, ‘सत्तापक्ष जहिले पनि नरम हुनु पर्छ, तर दैलेखमा त्यो भएन ।’
छलफल कार्यक्रममा अञ्चल प्रहरी कार्यालय नेपालगञ्जका वरिष्ठ प्रहरी उपरीक्षक मधुप्रसाद पुडासैनीले पत्रकारलाई धम्की दिनेलाई अनुसन्धान गरी कारवाही गर्ने प्रतिवद्धता जनाएका छन् । उनले शान्ति सुरक्षालाई मजबुत गराई पत्रकारलाई जिल्ला जाने वातावरण तयार गर्न पहल गरिएको जानकारी दिए ।
दैलेख घटनापछि स्थलगत अनुगमन गरी फर्केका मानवअधिकार आयोगका अधिकृत रमेश थापाले पत्रकार विस्थापित भएर वस्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको प्रश्न चिन्ह खडा भएको बताए । उनले भने, ‘यसले नागरिकको सुसुचित हुने अधिकार बन्चित भएको छ ।’
विस्थापित पत्रकार एवं दैलेख शाखाका सभापति पुष्कर थापाले वाईसीएलको धङधङीका कारण पत्रकारहरु असुरक्षित हुनु परेको बताए । पूर्व सभापति विष्णु शर्माले माओवादीद्वारा हत्या गरिएका पत्रकार डेकेन्द्र थापाको शव उत्खनन् देखि नै पत्रकारहरु असुरक्षित भएको जनाए । उनले पत्रकार थापा हत्यालाई ओझेलमा पार्ने सरकारको षड्यन्त्र भएको आरोप लगाए ।
त्यस्तै विस्थापित पत्रकार यज्ञराज थापाले राज्यसत्ताको आडमा माओवादी कार्यकर्ताको गुण्डागर्दीका कारण पत्रकारहरु असुरक्षित हुनु परेको बताए भने पत्रकार भुपेन्द्र शाहीले पत्रकार तथा सञ्चार माध्यम प्रति सरकार निरंकुश शैलीमा आक्रमण गर्न थालेको आरोप लगाए ।
एमाओवादी कार्यकर्ताको आक्रमणपछि बन्द भएको हाम्रो तेस्रो आँखा दैनिकका सम्पादक गोविन्ददेव भारतीले पत्रकारहरुलाई विपक्षी दलको कित्तामा राख्नु आपत्तिजनक भएको बताए ।
यसैबीच सुर्खेतका सम्पादकहरुको बैठकले सोमबार सवै दैनिक तथा साप्ताहिक पत्रिका बन्द गर्ने निर्णय गरेको छ । दैलेखका पत्रकारको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आइतबार साँझ सुर्खेतका रेडियोहरुले प्रसारण आधा घण्टा बन्द गरे ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts