सुनिलले उडाए फुच्चे ‘हेलीकोप्टर’ (फोटो फिचरसहित)
काठमाडौं ।
एक नेपाली युवाले आइतबार राजधानीमा रिमोर्ट कन्ट्रोलको माध्यमबाट जमीनमा
उभिएर सानो यानजस्तै ‘हेलीकोप्टर’ आकाशमा उडाई सबैलाई आश्चर्यचकित बनाए ।
ललितपुरका युवा सुनील महर्जनले तयार पारेको सो यान एमाले मुख्यालय बल्खुमा
आयोजित कार्यक्रममा उडाएर देखाइएको हो ।
शुरुमा एमाले उपाध्यक्ष वामदेव गौतमले
रिमोर्ट ‘अन’ गरेर उद्घाटन गरेपछि आविस्कारक सुनीलले बाइनाकुलरजस्तै
रिमोर्ट कन्ट्रोल घाँटीमा झुण्ड्याएर भुईंबाटै ‘हेलीकोप्टर’ आकाशमा उडाए ।
‘क्वाडकोप्टर’ नाम दिइएको यो यानले आकाश चुमेपछि दुईवटा चील अचम्म मान्दै
मेसिन छेउमा आउँदै भाग्दै गरेको दृश्य जमीनबाट निकै रोचक देखिएको थियो ।
यान आकाशमा केहीबेर उडेर पुनः पहिले
राखिएकै टेबलमा ‘ल्याण्ड’ भएको थियो । ल्याण्ड हुने बेलामा साँच्चैको
हेलीकोप्टरले जस्तै धूलोसमेत उडाएको थियो भने टेबलमा रहेको रातो कपडासमेत
हावाले भुइँमा झारेको थियो । भित्री इञ्जिनजस्तै देखिने यो फुच्चे यानको
छेऊमा प्लेनजस्तै आकारको काठले बनेको ढकनीसमेत राखिएको थियो ।
सुनीलले यान उढाउनुअघि एमाले पोलिटब्यूरो
सदस्य गंगालाल तुलाधरले माइकबाट भन्नुभयो-’हाम्रो आन्दोलन दबाउन विगतमा
ज्ञानेन्द्रले हेलिकोप्टर उडाए । अहिले बाबुारमले दैलेखमा जनतालाई दमन गर्न
हेलिकोप्टर उडाए । अब जनताको हेलीकोप्टर उड्ने छ र अब यसले बल्खुको
आकाशबाट एमालेको कार्यक्रम निरीक्षण गर्ने छ ।’
‘हेलीकोप्टर’ टेबलमा फर्किसकेपछि तुलाधरले
फेरि भन्नुभयो- ‘ पढेको मान्छेले त यस्तो काम पो गर्नुपर्छ । बाबुरामले त
डाक्टर पढेको रे तर बन्दूक बोक्नमात्रै जाने । त्यस्तो पढाइ के पढाइ ?’
आविस्कारक युवा के भन्छन् ?
आइतबार बल्खुमा उडाइएको क्वाडकोप्टरमा
एउटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको थियो भने मोटर र पंखा ४/४ बटा थिए ।
सानो आकारको सामान्य यान बनाउन न्यूनतम १५/१६ हजार खर्च लाग्ने सुनील
बताउँछन् । मान्छे बस्न मिल्ने पनि बनाउन सकिने तर, अलि बढी खर्च लाग्ने
उनको भनाइ छ ।
‘क्वाडकोप्टर’ उडाउने युवा सुनील महर्जन
ललितपुरको बालकुमारीमा आफ्नो परिवारले सञ्चालन गरेको हेन्डीक्राफ्ट पसलमा
काम गर्छन् । ०३७ साल असारमा जन्मिएका सुनीललेसेन्ट जेभियर्स र ललितपुरकै
सगरमाथा स्कुलबाट माध्यमिक तह पार गरेका हुन् । उनले व्यवस्थापनमा १२
कक्षासम्म पढेका छन् ।
सानैदेखि विज्ञानप्रति रुची भएकाले ८/१०
वर्ष अघि नै यस्तो मेसिन आकाशमा उडाएको उनले अनलाइनखबरलाई बताए । ‘घरमा ५/७
वटा अझै छन्, केही क्र्यास भए । धेरैवर्ष अघि यस्तो आविस्कार गरिसकेको भए
पनि द्वन्द्वका बेला अप्ठ्यारो पर्ने डरले बाहिर आउन सकिँन ।’ महर्जनले
भने-’यसमा क्यामेर राखेर आकाशबाट भिडियो खिच्न सकिन्छ, भर्खरै मनकामनामा
यसैगरी भीडियो खिचेको छु ।’
‘क्वाडकोप्टर’मा आकर्षक ढकनीसमेत राख्न
सकिने र बढी रकम खर्च गरेर राम्रो बनाउन मिल्ने सुनीलको कथन छ । यसमा
लाग्ने सामान मल्टी रोडरजस्तै भएको उनले अनलाइनखबरलाई बताए । आफूले कतैबाट
प्रोत्साहन पाए देशका लागि केही गर्न सक्ने उनले बताए । आफूले कुनै पार्टी
वा गुटको नभई सिंगै देशका लागि काम गर्न चाहेको समेत उनले अनलाइनखबरसँग भने
।
सुनीलले केही महिनाअघि काठमाडौंको चोभारमा उढाएको ‘क्वाडकोप्टर’ को भिडियो उनको युट्युबमा समेत हेर्न सकिन्छ ।
हेर्नुस भिडियो

0 comments
Write Down Your Responses