mainpageads

विदेशका कामदारलाई विशेष आर्थिक सहायता

सुरेन्द्र पौडेल, काठमाडौं, माघ १७ - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले 'वैदेशिक रोजगार कल्याणकारी कोष' सञ्चालनमा ल्याउने तयारी गर्दै छ। अफ्ठेरो परेका बेला व्यवसायी तथा कामदार र तीनका परिवारका लागि कोष मार्फत संघले आर्थिक सहायता उपलब्ध गराउने छ।

 एक महिना भित्र कोष सञ्चालनमा आउने संघले जनाएको छ। वैदेशिक रोजगारका क्रममाः रोजगारदाता कम्पनीका कारण कामदार अलपत्र परे, दुर्घटनामा परी घाइते वा मृत्यु भए निज तथा तीनका परिवारलाई कोष मार्फत सहायता रकम उपलब्ध गराइने छ। कोष सञ्चालनका लागि तयार पारिएको निर्देशिकामा 'आर्थिक सहायता सम्बन्धी व्यवस्था' स्पष्ट गरिएको छ। आर्थिक सहायता सम्बन्धी व्यवस्थामा कामदारलाई मात्र होइन, तीनका परिवारलाई समेत समेटिएको छ।
'एक महिनाभित्र वैदेशिक रोजगार कल्याणकारी कोष सञ्चालनमा ल्याउने योजना छ,' नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए, 'कोष मार्फत पिडित व्यवसायी र कामदारलाई आर्थिक सहायता उपलब्ध गराने व्यवस्था गरिएको छ।'
तामाङका अनुसार संघका सदस्यता प्राप्त व्यवसायीले कामदारको अन्तिम स्विकृति लिंदा सेवा शुल्क वापत लिएको रकमबाट प्रतिव्यक्ति ५ सय रुपैयाँ कोषमा बुझाउनु पर्नेछ। एक व्यक्ति विदेश पठाए वापत व्यवसायीले कामदारबाट ५ हजार रुपैयाँ लिन पाउने कानूनी प्रावधान छ। 'कामदार र व्यवसायी दुवैलाई थप लागत नपर्ने गरी कोषमा रकम जम्मा गरिने छ,' उनले भने।
प्रत्येक बर्ष वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दो छ। गत आर्थिक बर्ष ०६८/०६९ मा अन्तिम श्रम स्वीकृति लिई ३ लाख ८४ हजार ६ सय ६५ कामदार गएका थिए। आर्थिक बर्ष ०६९/०७० को पहिलो ६ महिनामा अन्तिम श्रम स्वीकृती लिनेको संख्या अघिल्लो बर्षभन्दा निकै बढि छ। आर्थिक बर्ष ०६८/०६९ को आँकडालाई आधार मान्ने हो भने पनि संघले प्रति व्यत्तिको पाँच सय उठाए कोषमा एकै बर्षमा १९ करोड २३ लाख ३२ हजार ५ सय रुपैयाँ जम्मा हुनेछ।
कोषमा गरिएको आर्थिक सहायता सम्बन्धी व्यवस्थामा तीनवटा अवस्थामा कामदार तथा तीनका परिवारलाई सहयोग गरिने उल्लेख छ। जस अर्न्तगत वैदेशिक रोजगार क्रममाः मृत्यु भएका कामदारको नाबालिक सन्तानलाई शैक्षिक सहायता, रोजगारदाता कम्पनी टाट पल्टेको कारण फर्केका र दुर्घटनामा परि अंगभंग वा मृत्यु भएमा तीनका परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने छ।
संस्थागत श्रम स्वीकृती लिई गएका कामदारको मृत्यु भए कोषले तीनका नावालिक सन्तानलाई आर्थिक सहायता सम्बन्धी व्यवस्था अर्न्तगत शैक्षिक सहायता गर्नेछ। सामुदायिक र सरकारी विद्यालयमा अध्ययन गर्न बार्षिक शुल्क, शैक्षिक सामाग्री, ड्रेस र एकमुष्ट जिन्सी सामान उपलब्ध गराइने छ।
'शैक्षिक सहायता एकदेखि एसएलसीसम्म बढिमा १० बर्ष प्रदान गरिने छ,' अध्यक्ष तामाङले भने, 'कम्तीमा बार्षिक १० हजार रुपैयाँ उपलब्ध गराइने छ।'
रोजगारदाता कम्पनी टाट पल्टेका कारण संस्थागत रुपमा ग्ाएको कामदार एक बर्षभित्र फर्कनु परे निजलाई कोषले जाँदा लागेको खर्च समेत उपलब्ध गराउने छ। निःशुल्क भिसा र टिकटमा गएकाहरुका सम्बन्धमा भने यो लागू नहुने जनाइएको छ।
यस्तै, संस्थागत रुपमा गई दुर्घटनामा परी अंगभंग वा मृत्यु भए निज कामदार तथा उसको परिवारलाई आर्थिक सहयोग व्यवस्था पनि गरिएको छ। कोष सञ्चालनमा आएपछि अंगभंग भएकालाई बढिमा दुई लाख रुपैयाँ र मृत्यु भएकाको परिवारलाई कम्तीमा दुई लाख रुपैयाँ सहयोग स्वरुप उपलब्ध गरिने उनले बताए।
सरकारबाट इजाजतपत्र लिई नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सदस्य संस्थाका सम्पूर्ण प्रमाणित शेयर हेल्डर व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा कारणवस दुर्घटनामा परि अंगभंग वा मृत्यु भएमा पनि कोषबाट आर्थिक सहयोग पाउने व्यवस्था गरिएको छ। यसैगरी वैदेशिक रोजगार विभागबाट इजाजतपत्र लिई संघको सदस्यता प्राप्त गरी संचालनमा रहेको व्यवसायीको कार्यालय बिभिन्न कारण (प्राकृतिक प्रकोप, भैपरी आउने बिपत्ति) बाट क्षति भएमा समेत आर्थिक सहयोग पाउने छन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts