mainpageads

दिमागमा कीरा पर्‍यो दाजु, अब के गर्ने ?

हिजोसम्म चलचित्रको नायक भन्नेबित्तिकै अग्लो, राम्रो, आकर्षक जीउडाल एवं आर्य अनुहार भएको चित्र आउँथ्यो। दयाहाङ राई प्रमुख पात्रका  रूपमा नेपाली चलचित्रमा प्रवेश हुन थालेपछि पुरानो मान्यतामा परिवर्तन आएको छ। उनी मोटा छन्, अलिकति भुँडी बाहिर आएको छ। थेप्चो  अनुहार खुम्च्याएर उनी पूर्वी पहाडी लवजमा कुराकानी गर्छन्। तैपनि नयाँ आउन लागेका बहुप्रतीक्षित चलचित्र छड्के, साँगुरो, कर्कस, उमा  तथा झोलेमा दयाहाङ प्रमुख पात्रका रूपमा देखा पर्दैछन्। यसअघि मेरो एउटा साथी छ, दासढुंगा, हाइवे र लुटमा दयाहाङको अभिनयको ठूलो  प्रशंसा भएको थियो। उनले अभिनय गरेका धेरैजसो चलचित्रले राम्रो व्यापार गरेका कारण पनि उनी निर्माताहरूको आँखामा पर्न थालेका हुन्।  १० वर्षअघि पूर्वी नेपालको भोजपुरमा आईए पास गर्न नसकेर काठमाडौं छिरेका दयाहाङ किन नेपाली चलचित्रका अनिवार्य पाटो बन्दै गए ?  यसपटक साप्ताहिकले दयाहाङका माध्यमबाट नेपाली कलाक्षेत्रमा आएको परिवर्तनका बारे रमाइलो कुरा गर्‍यो।

दयाहाङ राई, कलाकार

हेर्दाहेर्दै सेलिब्रेटी हुनुभयो, कस्तो लागिरहेको छ ?

रमाइलो पो भैरहेको छ हौ। पहिले-पहिले मान्छेले जिस्क्याएका हुन् कि भन्ने लाग्थ्यो, सबैले राम्रो भन्न थालेपछि अहिलेचाहिँ हो कि भन्ने लाग्छ।

सबैभन्दा पहिले कहिले सेलिब्रेटी भएको महसुस भयो ?

म नेपाल यातायात चढ्थें। आमव्यक्तिझैं म पनि आफ्नो काम गर्थें र डेरा र्फकन्थें। एकपटक एक युवाले मलाई आफ्नो डायरी झिकेर केही  लेखिदिन आग्रह गरे। मैले अटोग्राफ भन्ने सुनेको त थिएँ, उनले मसँग त्यही अटोग्राफ लिइरहेका छन् भन्ने चाहिँ बुझिनँ। उनले अटोग्राफ  दिएकोमा धन्यवाद भनेपछि पो म झसङ्ग भएँ। ए बाबा, म पनि अटोग्राफ दिने भएछु, भनेर खुसी लाग्यो।

त्यसो भए तपाईं कुन कोटिको सेलिब्रेटी ?

ओहो, यो त गाह्रो प्रश्न हो। साँच्चै भन्नुहुन्छ भने आजका दिनसम्म म ठूलो मान्छे हुँ भन्ने लागेकै छैन। धमाधम कामको अफर आउँदा मलाई  किन हो मानिसले यसरी पत्याएका भन्नेचाहिँ लाग्छ।

त्यस्तो के विशेष खुबी छ तपाईंमा ?

थाहा छैन। अँ, म अलिकति क्यारेक्टरमा ध्यान दिन्छु कि भन्ने लाग्छ।

कतिपय जनजाति नेताहरूको के आरोप छ भने अन्य क्षेत्रमा झैं कलाक्षेत्रमा पनि बाहुन-क्षेत्रीको वर्चस्व भयो, जनजातिलाई मूल धारमा आउन  दिइएन। यसमा तपाईं सहमत हुनुहुन्छ ?

अचानक ज्यादै गम्भीर प्रश्न पो गरिदिनुभयो। लाखे है, कुरा के भने म त्यो बेला कला क्षेत्रमा प्रवेश गरें, जुन बेला समाज तीव्र छटपटीमा  थियो। एउटै खालका चलचित्र हेर्दा-हेर्दा दर्शक वाक्क भैसकेका थिए। नयाँ निर्देशकहरू पनि चलचित्रमा परिवर्तन खोजिरहेका थिए। ठीक त्यहि  बेला म कलामा प्रवेश गरेछु। दर्शकको चाहनासँग सायद मेरो चरित्र मिल्यो होला। नत्र दर्शकले मेरो चरित्र यति मनपराउनु हुन्नथ्यो।

मैले गरेको प्रश्नको उत्तर आएन कि ?

म आउँदैछु। हिजोसम्म अभिनयका सबै विधामा जनजाति, मधेसी वा नेवार चरित्रलाई हास्यरूपमा मात्र प्रस्तुत गरिन्थ्यो। उनीहरूका अन्य पाटा  ल्याउन निर्देशकले ध्यान दिएका थिएनन्। अहिले यो महसुस भयो। यो किन महसुस भयो भने राजनीतिले त्यसलाई बाहिर ल्याइदियो। यस अर्थ मा नेताहरूको कुरा ठीकै हो। जहाँसम्म बाहुन क्षेत्रीले अगाडि बढ्न दिएनन् भन्ने कुरा छ, त्यसमा भने मेरो विमति नै छ। किनभने मलाई यहाँसम्म ल्याउने निर्देशक बाहुन-क्षेत्री नै हुन्।

धेरै मानिस सफल भएपछि के भन्छन् भने म यही क्षेत्रका लागि जन्मिएको हुँ। तपाईं पनि त्यसै भन्नुहुन्छ होला, होइन ?

म भन्दिनँ। चलचित्र वा नाटकमा मजस्तो थेप्चे केटा नायक वा कलाकार भएको मैले देखेकै थिइनँ। सायद त्यही कारणले म अभिनय गर्न  सक्छु, मेरो पनि चरित्र हुन सक्छ भन्ने कल्पना गरेकै थिइन्। नौ वर्षअघि जतिखेर मैले नाचघरमा नाट्य कार्यशालामा भाग लिएँ, त्यो बेला  पर्दापछाडिको काम गर्दै विस्तारै निर्देशक बन्न सक्छु कि भन्ने धारणा बनाएको थिएँ। अनुप बरालले जबरजस्ती तिमी सक्छौ र तिमीले नगरे  कस्ले गर्छ भनेर हौसला दिएपछि त्यहीँको नाटकमा एउटा बूढाको चरित्र निर्वाह गरेको थिएँ। त्यसपछि जति पनि अभिनयका अफर आए, सुरु मा त पत्याउँदिनथेँ। म सानोतिनो भूमिकामै प्रसन्न थिएँ। नाटक र चलचित्रमा मलाई हेरपछि निर्देशकहरू पहिलेको भन्दा लामो चरित्रमा अफर  गर्न थाल्नुभयो। हुँदा-हुँदा त राम्रो कलाकार पो भइयो।

आफूले चाहना नै नगरेको क्षेत्रमा स्थापित भएपछि मनमा खटपटी त बढेको होला, होइन ?

दिमागमा कीरा पर्‍यो दाजु के गर्नु ? निर्देशक बन्ने कीरा पर्‍यो। म त पर्दापछाडिको काम पो राम्रो गर्न सक्छु भन्ने नै लाग्छ। निर्देशकहरूले  भने मलाई कलाकार बनाइदिनुभयो। सायद यही कीरा परेर होला राजन खतिवडासँग मिलेर मण्डला थिएटर खोलेको छु। त्यसमा नाटक निदेर् शन गर्छु। तैपनि चित्त बुझेको छैन, चलचित्र नै निर्देशन गर्ने रहर छ। म समय कुरेर बसेको छु।

कुन बेला निर्देशक बन्न सक्छु भन्ने लाग्यो ?

सात कक्षा पढ्दा मैले भोजपुर बजारमा नेपाली चलचित्र हेरेको थिएँ। त्यो उमेर कस्तो रै'छ भने जे देख्यो, त्यसैमा लाग्ने। मैले उक्त चलचित्र  करिब ७ पल्ट हेरें। सिनेमा मन परेर होइन, पर्दामा चित्र कसरी आउँछ, मान्छे कसरी बोल्छ भन्ने जान्नका लागि। जब सेतो पर्दामा पछाडिबाट  विचित्रको किरण पर्दामा ठोकिन्थ्यो र त्यहाँ सजिव मानिस देखा पर्थे, म पनि त्यसै गर्छु भन्ने लाग्यो। त्यसपछि फोटोका नेगेटिभलाई टर्च  लाइटले फोकस गरेर भित्तामा त्यो दृश्य हेर्थे। हङकङबाट एक जना आफन्त लाहुरेले त्यसरी चित्र हेर्ने एउटा वाकस पठाइदिनुभएको थियो,  त्यसमा विभिन्न फोकस गर्थें। त्यो प्रयास सम्झदा चाहिँ ममा सिनेमासम्बन्धी केही टेक्निकल काम गर्ने रुचि थियो कि भन्ने लाग्छ।

तपाईंलाई नजिकबाट चिन्नेहरू के भन्छन् भने तपाईं सिनेमामा आउने व्यक्ति हुँदै होइन। वैज्ञानिक वा इन्जिनियरिङमा जाने खालको चरित्र  थियो, के भन्नुहुन्छ ?

म बिग्रिएका रेडियो जोडजाड गर्थें। काठमा रबरको सहायताले तीर वा गोली फ्याक्ने शैलीको बन्दुक बनाएको थिएँ। पुराना ब्याट्री जोडजाड  पारेर बिजुली निकाल्थें। राम्रा ढुंगा जम्मा गरेर त्यसको नाप तौल लिने खालको खेलमा रमाउँथें। यस अर्थमा त्यो कुरा पनि सही हो।

तर कलामा आउनुभयो, अचम्म होइन ?

यदि विज्ञान विषयमा भएको त्यो रुचि बुझेर मलाई अनुसन्धानतिर लगाएको भए वैज्ञानिक हुन्थे हुँला। आईए फेल भएपछि विरक्तिएर  काठमाडौं आएँ। संयोगले राष्ट्रिय नाचघरमा हुन लागेको नाट्य कार्यशालामा भाग लिन पुगें र कलाकार बनें। यदि विज्ञानको कार्यशाला भएको  भए वैज्ञानिक हुन्थें कि ? अहिले यस्ता कुराको केही अर्थ छैन। यद्यपि यसले नेपाली युवाको विवशता देखाउँछ। हाम्राे शिक्षा नै यस्तै छ । के  गर्ने ?

काठमाडौं आउँदा अन्य युवाजस्तै तपाईं पनि असहाय हुनुहुन्थ्यो, यस्तो बेलामा तपाईंलाई साथ दिने को थियो ?

संयोगले एउटी युवतीसँग परिचय भएको थियो। उनी गायिका बन्न प्रयासरत थिइन्। म नाटक गर्न उत्साहित थिएँ। उनी जहिले पनि मलाई  हौसला दिन्थिन्। सुरुसुरुमा पैसा हुँदैनथ्यो, असफलता मात्र हात लाग्थ्यो। त्यो बेला उनले मलाई विस्तारै काम पाइन्छ, म पनि तपाईंजस्तै  संघर्ष गर्दैछु तर आत्तिएकी छैन भनेर सम्झाउँथिन्। हुन त अरू युवकले पनि मलाई साथ नदिएका होइनन्, तर उनको हौसलाले भने मलाई  घर र्फकनबाट रोक्थ्यो।

अहिले उनी कहाँ छिन् ?

मेरो घरमा। पहिले साथी थिइन्, अहिले जीवनसाथी भएकी छिन्।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts