mainpageads

एमाले बाख्राको लुर्का होइन...

अहिलेको संक्रमण काल सामान्य होइन । यतिबेला हामी एउटा जटिल अवस्थामा छौं । यतिबेला हाम्रो संक्रमणकाल बडो गम्भीर अवस्थामा छ । जहिले पनि ठूला राजनीतिक परिवर्तनहरु संक्रमण कालबाट गुजि्रन्छन् । शासकहरु फेरिन्छन्, शासन फेरिदा प्रणालीहरु फेरिन्छन्,व्यवस्थाहरु फेरिन्छन् । व्यवस्था फेरिँदा संविधान फेरिन्छ, कानूनहरु फेरिन्छन् । यसरी पुरानोलाई भत्काएर नयाँ कहाँ लान खोजिएको हो, त्यहाँ पुर्‍याउनका लागि नयाँ प्रणाली व्यवस्थित गर्नुपर्ने हुन्छ । यो अवधिलाई हामी संक्रमणकाल भन्छौं ।
ठूला परिवर्तनपछि संक्रमणकाल हुन्छन्, यो स्वाभाविक हो । तर, अहिले हामी जटिल खालको संक्रमणकालमा पर्यौं । जेठ १४ गतेपछि संक्रमणकाले जटिलता र गंभीरताको मोड लियो । यस्तो किन भयो ? सामान्यतः शान्ति र लोकतन्त्र पक्षधर शक्तिको हातमा नै नेतृत्व छ भने संक्रमणकाल सहज ढंगले अगाडि बढ्छ । तर, जानुपर्ने गन्तव्य छ शान्तितिर, नेतृत्व छ हिंसावादीका हातमा भने अब मुलुक फस्यो । जानुपर्नेछ लोकतन्त्रतिर तर, अधिनायकवादीका हातमा नेतृत्व छ भने उसले मुलुकलाई लोकतन्त्रतिर लाँदैन अनि मुलुक जटिलतातिर फस्छ ।
संविधानसभा किन असफल भयो ? संविधान किन भनेन ? किन संवैधानिक संकट खडा भयो ? संवैधानिक निकायहरुको रिक्तताको अवस्था किन बन्दैछ ? यो सबै कुरा शान्तिवादी, लोकतन्त्रवादी मूलधारका पार्टी, शक्ति र व्यक्तिहरुले गर्दा होइन । दक्षिणपन्थी अतिवादलाई हामीले विस्थापित गर्यौं । सामन्ती राजतन्त्रात्मक व्यवस्थालाई विस्थापित गर्यौं । हिंसावादी अतिवादी उग्रवादी माओवादीका कारणले गर्दा जटिल र अनौठो खालको सं्रक्रमणकाल हाम्रो देशमा छँदै थियो । यहाँ दक्षिणपन्थी अतिवादसँग मुकाविला गरिरहँदा शान्ति प्रक्रियालाई अवसरका रुपमा प्रयोग गर्ने र अलोकतान्त्रिक एकाधिकारवादी अभिष्ट प्राप्त गर्न कोशिस गर्ने माओवादीसमेत यसमा मिसिएर आयो । मिसियोमात्रै होइन, संविधानसभाको निर्वाचनको गलत परिणामका कारणले गर्दा माओवादी प्रमुख शक्तिका रुपमा आयो । शान्ति स्थापना गर्नुपर्नेछ तर हिंसावादी प्रमुख शक्तिका रुपमा संविधानसभामा आयो । लोकतन्त्र सुदृढ गर्नुपर्ने छ, तर अलोकतान्त्रिक, एकाधिकारवादी, स्वेच्छाचारी खालको उग्र वामपन्थी शक्ति प्रमुख शक्तिका रुपमा आयो । यही अनुपयुक्त संविधानसभालाई पनि सही परिणाम दिने हाम्रो भूमिका सफल हुन सकेन । माओवादीले या त आफ्नो छाप लागेको संविधान चाहियो, या संविधान हुँदैन भन्यो । यसरी माओवादीले संविधान बन्न दिएन । अत्यन्त धूर्तताका साथ देशभित्र र बाहिरका शक्तिहरुलाई ढाँटेर सरकारमा गयो । कतिपयका स्वार्थहरुलाई पूरा गरेर राष्ट्रहित विपरीत, देशद्रोही, जनविरोधी कामहरु गर्दै धोकापूर्ण ढंगले सरकार प्राप्त गर्ने र त्यो सरकारमा कायम रहने तर, सहमतिको निकटमा पुगेको अभियन गर्ने, सहमति नगर्ने, भैहाल्यो भने त्यसलाई तोड्ने काम गरियो । र माओवादी असहमतिको बाटोमा हिँड्यो । सरकामा टिकिरहने मनसायले नगर्ने चुनावको घोषणा गर्यो ।
संविधान बन्न नदिने माओवादी हो । संविधानसभा सिध्याउने माओवादी हो । यो देशमा संघीय शासन पनि माओवादीले नै हुन दिँदैन । धेरै मान्छे संघीयता भनेका छन्, माओवादीका पछि कुदेका छन् । उल्टो गरेका छन् । माओवादीको न दस्ताबेजमा संघीयता छ, न मनमा संघीयता छ । माओवादी संघीयताको पक्षधर छैन । माओवादी साम्प्रदायिक विद्धेष र साम्प्रदायिक घृणाको पक्षमा छ । एकल जातीय स्वायत्त, त्यो पनि आत्मनिर्णयको अधिकार, फुट्न पाउने अधिकारसहितको एकल जातीय स्वायत्तता शासनको पक्षमा छ । एकल जातीय स्वायत्तता भनेको संघीयता होइन । यहाँ मान्छेहरु हेर्दा पढेलेखेकै जस्ता पनि देखिन्छन्, कसैकसैले त डाक्टर पनि लेखेको देखिन्छ, कोही कोही लामो इतिहास भएका भन्नेहरु पनि छन् । तर, बहकिँदै गएपछि मान्छे यति बहकिँदोरहेछ, माओवादी संघीयताको पक्षमा छैन भन्ने कुरो पनि थाहा पाउँदैनरहेछ र माओवादीकै पछि लाग्दोरहेछ ।
जबज धारण गरेको, लामो अनुभव बोकेको, राणाशाहीसँग लडेको, पञ्चायती ढालेको, राजतन्त्र फालेको अनि माओवादीलाई जंगलबाट समातेर घिस्याउँदै शान्ति प्रक्रियामा यहाँसम्म ल्याइपुर्‍याएको एमाले पार्टी यहाँ छँदैछ, फेरि देश संकटमा छ । यो त महाभारतको कथामा अर्जनले गान्डिव धनु फ्याँकेर के लड्ने भनेजस्तो स्थिति देखियो । गान्डिव पनि छ, अर्जुन पनि छ, सीप पनि छ, पाखुरा पनि छ, सारथी कृष्ण छ, तर नलडेपछि के गर्ने ? शत्रु खुशी हुने, आफ्ना सबै निराश हुने । हामीसँग जबज छ । हामीसँग संगठन छ, जनताको विश्वास छ । हामीसँग अनेक अनुभवहरु छन् । हामीसँग दुनियाँको आशा, भरोसा छ । यस्तो अवस्थामा यत्रो पार्टी !
मैले थुप्रै ठाउँमा भन्ने गर्छु के हाम्रो पार्टी बाख्राको घाँटीमा झुण्डिएको लुर्का हो ? थुनजस्तो देखिन्छ, दूध आउँदैन । पुच्छर होइन, झिंगा धपाउन पनि काम लाग्दैन । न सुन्न कामलाग्छ, न सुँध्न काम लाग्छ, न खान काम लाग्छ, केही पनि काम लाग्दैन । तैपनि लुर्काचाँहि झुण्डिरहेको हुन्छ । नेकपा एमाले भनेको यस देशको बाख्राको लुर्का होइन । कहिले कहिले निस्कने मधु र कैटबहरुलाई ठेगान लगाएर अगाडि जाने पार्टी हो नेकपा एमाले ।
अहिलेको परिस्थितिमा यो सरकारलाई एकछिन पनि राख्न मिल्दैन । बाबुराम सरकारलाई राजीनामा गर भन्ने हैन, उनी कामचलाउमात्रै हुन् । उनीहरु कामचलाऊ भएर नै टिकिरहन चाहन्छन् । यही सरकार २०/२५ वर्ष जान्छ भनेर कुनै केटाकेटीले गुच्चा खेल्दा भनेको कुरा होइन । यस्तो अवस्थामा यो सरकालाई अर्को सरकार गठनद्वारा विस्थापन गर्नुपर्छ । यो सरकारको राजीनामाको प्रश्न होइन, यो हटिसकेको छ । तर, हटे पनि हट्न मान्दैन । तपाईहरुले सुनिहाल्नु भो, गोली खाएर मर्छु, झुण्डिएर मर्छु, सेरिएर मर्छु सरकार छाड्दिन भनिराखेको । यसो भएको हुनाले आज राष्ट्रियता जस्तो खतरामा परेको छ, लोकतन्त्र खतरामा परेको छ, जसरी संक्रमणकाल लम्ब्याउने षड्यन्त्र भैरहेको छ, देशलाई अग्रगामी परिवर्तनतर्फ जान नदिने षड्यन्त्र भैराखेको छ, त्यसबाट देशलाई मुक्त गर्नका लागि जनतालाई सचेत पार्नुपर्छ । माओवादीको धाकधम्की, त्रास, भ्रम सबै कुराबाट जनतालाई मुक्त गरेर देशलाई अगाडि बढाउने कामको नेतृत्व गर्न नेकपा एमालेले अहिले विशेष ढंगको भूमिका खेल्नुपरेको छ ।
हामीले यसो भनिरहँदा हाम्रो सहयात्रामा रहेका कतिपय मित्रहरु झस्किन्छन् होला । हामी स्पष्ट छौं, ००७ सालमा कम्युनिष्टको सहयोग रहे पनि कांग्रेसले नेतृत्व गरेको थियो । ०४६ को आन्दालेन बैचारिक ढंगले एमालेले नेतृत्व गरेको थियो, व्यहारिकरुपमा कंग्रेसले संयुक्त नेतृत्व लियो । ०६२/०६३ को आन्दोलनमा वास्तवमा नेकपा एमालेको अगुवाइ थियो, यद्यपि नेपाली कांग्रेसको मानसिकताका कारण। खासगरी गिरिजाप्रसाद कोइरालाको कारणले गर्दा त्यसबेला पनि नेपाली कांग्रेसको नेतृत्व भन्ने भयो । तर, व्यवहारिक नेतृत्व एमालेको थियो । अबको आन्दोलनलाई नेकपा एमालेले दृढताका साथ वैचारिक रुपमा हाँकेर अगाडि बढ्दैन भने आन्दोलन सम्भव हुँदैन । त्यसकारण नेकपा एमालेले आन्दोलनेको नेतृत्व गर्नुपर्छ । अरु पनि प्रतिश्पर्धामा आए हुन्छ । एमालेको भन्दा बढ्ता शक्ति लिएर आऊ, एमालेभन्दा व्यवस्थित विचार लिएर आऊ, म उनीहरुलाई भन्न चाहन्छु । तर, यो कुनै गाई कि त्रिशुल खेल्ने कुरा होइन । भवितव्यले हुने कुरा होइन, यो विचारको कुरा हो । यो इतिहासले सुम्पेको अभिभाराको कुरा हो । यो कुरा नेकपा एमालेले बुझ्नुपर्छ । आज आन्दोलन अपरिहार्य छ । पोखरीमा चढाउन लोहोटामा पानी अलिकति पानी बोकेर गएजस्तो तरिका एमालेले गर्नु हुँदैन । नेकपा एमालेले आफ्नो अभिभारा बुझ्नुपर्छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts