गाँजा खाएर बिग्रिएका गायक
स्मृति ढुंगाना, काठमाडौं, फागुन १० - 'छपनीले छान छान' बोलको गीत गाउने गायक गंगा वरदान इटहरीतिर बरालिएको अवस्थामा भेटिन्छन्। उनको सांगीतिक गतिविधि पनि पातलिएको छ। वास्तविक नाम गंगा मास्के भए पनि उनी 'वरदान' टाइटलबाट चर्चित छन्। उनले चौथो एल्बम 'गंगा वरदान भाग ४' गत असार महिनामा एसियन म्युजिकबाट रिलिज गरेका थिए।
बरालिने क्रममा केही महिनाअघि विराटनगरमा भेटिएका उनी गाँजा खाएर आफू बिग्रिएकोमा पछुतो गर्दैथिए। 'पैसा कमाउने सोच गरिनँ। गाँजा खाने लत लाग्यो। अब त नयाँ कलाकारले पनि नचिन्ने अवस्था आइसक्यो,' ६० वर्षका उनले भने।
संगीत क्षेत्रका पुराना साथीभाइको संगत छुटेकाले गानाबजानामा अलि निस्त्रि्कय भएको उनले बताए। नेपाली संगीतमा २५ वर्षभन्दा बढी बिताइसकेका उनका अधिकांश गीतहरु हराइसकेका छन्। 'गीत रचना, संगीत र गायन विधामा काम गरेँ। ध्यान दिन नसक्दा हाल धेरै गीतहरु हराएका छन्। बसाइको ठेगान नहुँदा र आफूले राख्न नसक्दा हराए ती गीतहरु,' उनले बिजोग सुनाए।
हालसम्म आफ्नो जम्मा २६ वटा गीत रेकर्ड भएको उनलाई सम्झना छ। त्यस्तै 'मेरो कविता यात्रा' नामक कवितासंग्रह पनि प्रकाशन गरेका छन्। आठ वर्षदेखि उनी कुनै पनि ब्यान्डसँग आवद्ध छैनन्। तैपनि उनले फाट्टफुट्ट एकल कर्न्सट गरिरहेकै छन्। त्यस्तै कन्सर्टको आम्दानीबाट उनको गुजारा चलिरहेको छ।
'कहाँमा काट्यौ' बोलको गीतसँगै संगीत यात्रा सुरु गरेका उनले पछिल्लोपटक 'हाँस्नु खेल्नु' नामक डिस्को गीतमा स्वर दिएका थिए। '५५ वटा गीतहरु तयार गरेको छु। त्यसबाहेक विभिन्न ठाउँका धुनहरु संकलन गरिरहेको छु। केही समयपछि राजधानी आएर गीत रेकर्ड सुरु गर्नेछु,' उनको योजना लामो छ। उनले 'गंगा वरदान' शीर्षकमा चारवटा एल्बम रिलिज गरिसकेका छन्।
'राजधानीका कलाकारसँग गाउनका लागि गीत छैन। किनकि उनीहरुले गीतको शब्द रचनामा कहिल्यै गम्भीरता देखाएनन्। नेपाली गीतको अवस्था खस्कनुमा उनीहरु बढी जिम्मेवार छन्,' उनले आरोप लगाए। इटहरीका स्थानीय युवाहरुसँगको सहकार्यमा उनले लोक धुन संकलन गर्दै शब्द रचिरहेका छन्।
कालो लट्टा परेको कपाल, दाह्री, चेक सर्ट र जिन्सको आफ्नो गेटअप उनले कहिल्यै परिवर्तन गरेनन्। 'गंगा स्टाइल'बाट चर्चित उनको स्टाइललाई पछ्याउने अल्लारेसँग उनले गाँजा तान्न भ्याइसकेका छन्। '२०३० सालतिर मेरो हुलिया अप्नाउने केटाहरु धेरै थिए। अहिले पनि केही केटाहरु मेरो हुलियामा देखिन चाहन्छन्। मलाई पनि यस्ता हुलियालाई परिवर्तन गर्ने कहिल्यै सोच आएन,' उनले भने। विराटनगरमा तीसको दशकमा युवा कला कुञ्ज स्थापना गरेका उनी अभिनेता शिव श्रेष्ठका समकालीन साथी हुन्। 'कला कुञ्ज स्थापना गर्दा हामी दुईले एकसाथ काम गरेका थियौं। उनले गर्दा फिल्मतिरका धेरै व्यक्तिसँग चिनाजान गर्ने मौका मिल्यो। अभिनय चाहिँ गरिएन,' उनले बताए।
आफूले ६० वर्ष नाघेको बताउने उनलाई धेरैले जमैकन गायक बब मार्लीको नक्कल मान्छन् तर उनी यसलाई स्विकार्दैनन्।
1 comments
Write Down Your Responses

November 16, 2014 at 4:22 PM
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन