झण्डाका कारण सुडानमा झण्डै ज्यान गयो..
लोकबन्धु कार्की, विश्व साइकल यात्री
आठ वर्षअघि साइकलबाट विश्वयात्रा थाल्छु
भन्दा नपत्याएर कुरा काट्नेहरुले आज पनि लोकबन्धु कार्कीको कुरा काटिरहेकै
छन् । तर, कार्कीले भने विश्वका ८६ मुलुक घुमिसकेका छन् । यद्यपि
विश्वयात्रामा कार्कीका सुख-दुखका कथा भने उदेकलाग्दा छन् । विदेशमा कसैसँग
झन्डै माया बसेको, आफ्ना दुई साथीहरु यात्राकै क्रममा गुमाउनुपरेको र कुनै
देशमा चाँहि पिसाब फेर्ने संकेत गर्दा गलत अर्थ लागेको अनुभवसमेत सँगालेका
छन् कार्कीले ।
नेपालका सगरमाथा र गौतम बुद्धलाई
विदेशीले नचिनेको तर, माओवादीका कारणले भने कतिपय देशले चिनेको अनुभव पनि
कार्कीले सँगाल्न भ्याएका छन् । विदेशमा रहेका नेपाली दाजुभाइका बारेमा पनि
कार्कीको नयाँ अनुभव छ । नेपाली पोशाक, राष्ट्रिय झण्डा र सगरमाथा एवं
बुद्धको प्रचार गर्दै विश्वयात्रा गरिरहेका कार्की यो साता मलेसियाको
राजधानी क्वालालम्पुरमा भेटिए । उनै कार्कीसँग अनलाइनखबरका मलेसिया
संवाददाता रामचन्द्र नेपालले गरेको रोचक कुराकानी :
कहिलेदेखि विश्वयात्रा शुरु गर्नुभयो ?
मैले विश्व भ्रमण गर्नुभन्दा अगाडि ०५९
साल जेठ २५ गते ताप्लेजुङवाट नेपालका ६७ जिल्लाको पैदल यात्रा शुरु गरेको
हुँ । ६७ जिल्ला घुम्नलाई १८ महिना लागेको थियो । त्यसपछि साईकलवाटै
नेपालका ५३ जिल्ला घुमें । त्यतिबेला मलाई ५ महिना १७ दिन लागेको थियो ।
विश्वयात्रा भने ०६१ साल मंसिर २३ गते धरानको भानुचोकबाट गरेको हुँ ।
विश्वका कुन-कुन देशमा पुग्नुभयो ?
विश्वमा रहेका १ सय ५३ देश भ्रमण गर्ने
लक्ष्यबा साथ अगाडि बढिरहेको छु । हालसम्म एसियाका ३२, अफि्रकाका ३६,
दक्षिण अमेरिकाका ८ र उत्तर अमेरिकाका ९ मुलुकको भ्रमण गरिसकें । अझै
आधाजति विश्व त घुम्नै बाँकी छ । सन् २०१७ सम्म सबै मुलुकको भ्रमण गरिसकेको
हुनेछु ।
यतिका देश घुमिसक्नु भयो, यो अवधिमा नेपाल कतिपटक पुग्नुभयो ?
आमा बितेपछि मैले घर छाडेको हुँ । नेपालमा
जम्मा दुईपटक पुगेको छु । आफन्तहरुले पनि बिर्सिएजस्तो भएको छु । आफन्तलाई
पनि परदेशको कुरा सुनाउँदिन ।
यात्रा गर्दा लाग्ने खर्च कसरी जुटाउने गर्नुभएको छ ?
शुरुमा यात्रा थाल्दा मैले आफ्नै जग्गा
साढे तीन लाखमा बेचेर शुरु गरेको हुँ । यात्रा शुरु गरिसकेपछि विभिन्न
देशमा रहेका नगरपालिका, खेलकुद, टुरिज्म, रेडक्रसलगायतले सहयोग गरिहेका छन्
। केही समय अगाडि दक्षिण अमेरिकी मुलुकमा १५/१६ हजार डलर सहयोग प्राप्त
भएको थियो । नेपाली ब्यवसायीहरु र विशेष गरेर श्रम गरिरहनुभएका श्रमिकहरुले
सहयोग गर्नुभएको छ । तर, विदेशमा खोलिएका संघसंस्थाहरुबाट भने त्यति सहयोग
भएको छैन । कति त नामका लागि खोलिएका संघसंस्था पनि पाएँ । अमेरिकामा
मात्रै ७ सयभन्दा बढी संस्था होलान्, इजरायलमा २२/२५ वटा होलान्, कोरियामा
७० भन्दा बढी नै होलान् । तर, त्यति सहयोग पाइएन । हालसम्म्ा यात्रा गर्दा
५५ हजार पाउण्डजति खर्च भैसक्यो । कहिलेकाँही पैसा नभएर ऋृण पनि लाग्ने
गरेको छ ।
यात्राका क्रममा कुनै देशमा त्यतै बसौं जस्तो लागेन ?
त्यस्तो त लागेन तर एसियाको लाओस र साउथ
अफि्रकाको लेसाथो, दक्षिण अमेरिको कोलम्बिया र उत्तर अमेरिकाको बेलीज निकै
राम्रो लाग्यो । यी ठाउँहरुले मेरो मन जितेका छन् ।
यात्रा गर्दा दुख पनि भोग्नुपर्छ होला नि ?
त्यसको त कुरै नगरौं । तर, पनि मैले
दुखलाई दुख ठानेको छैन । साइकलले उकालोमा तान्दैन, बोकेर हिँडनुपर्छ । कुनै
देशमा लेफ्ट र राईट हुन्छ त्यही समस्या हुन्छ । गाँसबासको कुनै टंुगो
हँुदैन । जंगल, मरुभूमि, मन्दिर, चर्च, मस्जिद, स्कुल, टहरा, पाटी पौवा,
सबैमा रात कटाउनुपर्छ । कति देशमा भाषाको समस्या पर्छ । हामीले सोच्छौं,
सबै देशमा अंग्रेजी बोल्छन् । तर, होइन रहेछ । मैले घुमेका मध्ये १७ देशमा
मात्रै नागरिकहरु अंग्रेजी बोल्थे । अरु त आफ्नै भाषा छन् । फेरि सांकेतिक
भाषाले पनि काम नचल्दो रहेछ । हामीले खानुपर्यो भने हात मुखमा पुरयाउँछौ,
कोही ठाउँमा काटाले खाँदा रहेछन् । कतै दाउराको छेस्कोले खाँदा रहेछन् ।
त्यसैले सांकेतिक भाषाले पनि नहुने । अझ बाटोमा पिसाब लाग्छ, यतिबेला पनि
समस्यै हुन्छ । हामीले पिसाब फेर्नुपर्यो भने कान्छी औंला ठड्याउछौं, कति
देशमा कान्छी औंला ठड्याउँदा नराम्रो अर्थ लाग्ने गर्दाे रहेछ ।
पाइलैपिच्छे समस्याहरु आउँछन् ।
यात्रा गर्दा सबैभन्दा खुशी लागेको दिनचाहिँ कुन थियो ?
पहिलो खुशी त मैले यात्रा शुरु गर्दाकै
दिन थियो । किनकि म एक अभियानमा हिँडेको थिएँ । त्यसपछि रङ भेद आन्दोलनका
नाइके नेल्सन मण्डेलालाई क्यापटाउन, दक्षिण अफि्रकामा भेट्दा निकै खुशी
लागेको थियो । त्यसैगरी युएनका पूर्व महासचिव कोफी अन्नानलाई घानाको
राजधानी आक्रामा भेट्दा निकै खुशी लागेको थियो । यसैगरी बु्रनाईमा नेपालमा
राजकीय सम्मानजस्तै गरेर रातो कार्पेटमा ओछ्याएर विभिन्न ठाउँमा लगियो । यी
अविस्मरणीय क्षणहरु हुन् ।
दुख लागेको दिन पनि त छ होला नि ?
दक्षिणी सुडानको मलकालमा झण्डाका कारणले
गर्दा समस्या परेर झण्डै ज्यान गएन । त्यहाँ नर्थ र साउथको छुटटा छुटटै
झण्डा रहेछन् मलाई थाहा भएन । मसंग सधै शान्तिको झण्डा हुने गर्दथ्यो ।
उनीहरुले मलाई नर्थबाट आएको जासुस भनेर समातेर तीन दिनसम्म राखे । अन्तिममा
गोली हानेर मार्नेसम्मको कुरा भयो । पछि के भएर हो, छाडिदिए । त्यसैगरी
मसँग साईकल यात्रामा रहेका महोत्तरीका खडक् जिसी साईकल चलाउँदा चलाउँदै
लाओसमा भीरबाट लडे । अर्धचेत अवस्थामा रहेका उनलाई नेपाल ल्याइयो । तर, उनी
बाँच्न सकेनन् । उपचारकै क्रममा ज्यान गयो । त्यसैगरी झापाका नारायण खरेल
बंगलादेशमा यात्रा गर्दा गर्दै जण्डिस भएर नेपाल र्फकनुभयो । उहाँको पनि
उपचारकै क्रममा ज्यान गयो । त्यसैगरी काभ्रेका जनार्दन खनाल जोर्डनबाट
बिरामी भएर र्फकनु भयो र उहाँको यात्रा वीचमै रोकियो । हाल उहाँ नेपालमा
हुनुहुन्छ । यात्राका क्रममा भेटिएका दुईजना साथीहरुलाई मैले यसरी गुमाउनु
पर्यो । यो सम्झँदा निकै दुख लाग्छ ।
कहिले काहि किन यात्रा गरिएछ जस्तो लाग्दैन ?
साथीको निधन भएपछि मैले तीन दिन खाना पनि
खाइँन । यात्रा पनि रोकौं किजस्तो भएको थियो । तर, फेरि जोस आयो, तैंले
यात्रा छोडनु हुँदैन, जन्म र मृत्युबाट त कोही पनि भाग्न सक्दैन भन्ने
लाग्यो र यात्रालाई निरन्तरता दिन शुरु गरें ।
अविवाहित हुनुहुन्छ, कतै विदेशतिर मायापि्रति त बसेन ?
छैन । स्वाजिल्याण्डको राजधानी एम्बाबाने
भन्ने ठाउँमा स्कुलको पि्रन्सिपलसँग लभ पर्लापर्ला जस्तो भएको थियो, तर
परेन । उनले मलाई निकै रुचाउँथिन् । उनको ब्यवहारले त्यस्तो झल्को दिन्थ्यो
।
विश्वका कुन देशका युवती सबैभन्दा सेक्सी लागे ?
त्यतापट्टी ध्यान दिनै भ्याइँन । सबै ठाउँका आफ्नो विशेषताअनुसार हुन्छन् होला । तर, मलाई त्यतापट्टी सोच्ने फुर्सदसमेत भएन ।
विश्वमा रहेका नेपालीहरुको अवस्था कस्तो पाउनुभयो ?
कुनैकुनै देशमा रहेका नेपालीहरुले
उधोगधन्दा पनि चलाउनुभएको रहेछ । कतैकतै व्यापारमा रहेको पनि भेट्टाएँ ।
होटल रेष्टुराँ चलाएर बस्नुभएकाहरु पनि भेट्टाएँ । तर, त्यो प्रतिनिधित्व
मात्रै हो अधिकांश देशमा श्रमिक जीवन बिताइरहेको पाएँ ।
विदेशमा नेपाललाई कसरी चिन्दारहेछन् ?
राज्य चलाउने निकायहरुलाई त थाहा हुने नै
भयो । तर, अधिकाश नागरिकहरुले नेपाललाई चिनेको जस्तो लागेन । जसले चिनेका
छन्, तिनीहरुले पनि नेपाल गरीब र युद्धमा होमिएको देश भनेर चिन्दा रहेछन् ।
अहिले पनि सगरमाथा चीनमा बुद्धको जन्मस्थल भारतमा पर्छ भनेर चिन्दा रहेछन्
। माओवादी विद्रोहका कारणले भने नेपाललाई चिन्दा रहेछन् । संसारमा माओवादी
युद्ध सफल भएको देश भनेर चिन्दा रहेछन् ।
सगरमाथा र वुद्धलाई विदेशीले नचिनिदिँदा कस्तो अनुभव हुन्थ्यो ?
एकपटक अवश्य चिन्ने छन् भन्ने लाथ्यो ।
सरकारले संसारभर हुनेखालको कार्यक्रम ल्याएको खण्डमा अवश्य पनि नेपाललाई
चिन्ने छन् भन्ने मलाई विश्वास छ ।
यात्रा पश्चात के गर्ने सोचाइ बनाउनुभएको छ ?
मैले विदेश घुम्दा पाएको ज्ञान र अनुभवलाई
नेपालका हरेक गाविसमा पुगेर बताउने इच्छा छ । यसै गरेर यात्रा सम्बन्धी
एउटा पुस्तक पनि तयार गर्दैछु, त्यसबाहेक वृद्धाश्रम चलाउने विचार छ ।

0 comments
Write Down Your Responses