mainpageads

सुत्केरी हुन जंगलमा

कान्दा (चितवन), माघ २१ - लोथर ९ स्थित कान्दाकी ४० वर्षीया शीरमाया चेपाङ एक वर्षअघि सुत्केरी ब्यथाले पिरोलिइन् । ब्यथा सहन नसकेपछि जबरजस्ती हिँडेर आधा घन्टा दूरीको जंगलमा पुगेर पतिङ्गर जम्मा गरिन् । त्यही पतिङ्गरमा उनले छोरी जन्माइन् । एक घन्टापछि छोरी बोकेर घर आइन् । अनि आराम गर्नै नपाई मेलापात लागिन् । उनका लागि यो नौलो होइन । उनले अन्य १० छोरा यसअघि यसैगरी जन्माएकी छिन् ।
छोराछोरी जन्माउन घरमा लत्ताकपडा हुँदैन । कसैले सहयोग पनि गर्दैनन् । वनमा एकान्त हुने र आफ्नै तरिकाले बच्चा जन्माउन सकिने भएकाले त्यसरी बच्चा जन्माउने गरेको उनले बताइन् । 'घरमा बच्चा जन्माउन डर लाग्छ, स्वास्थ्यचौकी जान ५ घन्टा हिँड्नुपर्छ,' उनले भनिन्, 'त्यसैले वनमा गयो, एकछिन ब्यथा लाग्छ, बच्चा जन्मिहाल्छ । ल्याएर घरमा राखी काममा जान्छु ।' उनले बच्चा जन्माए पनि दूध नआउँदा भने बच्चा हुर्काउन गाह्रो हुने गरेको बताइन् ।
गाउँमा १ सय १६ घरधुरी चेपाङको बसोबास छ । अधिकांश महिला बच्चा जन्माउन जंगल जाने गरेका छन् । उनीजस्तै बेसीमाया चेपाङले पनि ९ सन्तान जंगलमै जन्माइन् । 'घरमा जन्माउँदा लाज लाग्छ, सहयोग गर्ने कोही हुँदैनन्,' उनले भनिन्, 'ब्यथाले च्याप्नासाथ घरमाथि जंगलमा जान्छु, सबै बच्च्ाा जंगलमै जन्माएकी हुँ ।' उनले गाउँलेको सहयोग नपाउने र स्वास्थ्यचौकी जान नसक्दा जंगलको भर पर्नुपरेको बताइन् ।
गाउँमा कम उमेरमै विवाह हुने परम्परा छ । कम उमेरमै विवाह गरे पनि बच्चा जन्माउन कम उमेरमै गर्भवती भएका किशोरीसमेत एक्लै जंगल जाने गरेका छन् । 'गाउँमा स्वास्थ्यसम्बन्धी जनचेतना कमी छ, स्वास्थ्य सेवाको पहुँच पनि छैन,' स्थानीय कान्देश्वरी प्राविका प्रअ बालकृष्ण थपलियाले भने, 'त्यसैले पीडा सहेरै चेपाङ महिला जंगलमा गई बच्चा जन्माउन बाध्य छन् ।'
उनले ब्यथा लाग्दा मृत्यु हुने खतरा भए पनि उनीहरूले कसैको सहयोग नपाउने गरेको बताए । बच्च्ाा जन्माउन नपाएर महिलाको मृत्यु नभए पनि पोसिलो खान नपाउँदा जन्मिएका बालबालिका र आमा भने कमजोर हुने गरेका छन् । अहिलेसम्म गाउँलेले गाउँमै स्वास्थ्य सेवा पाउन सकेका छैनन् । बालबालिकाको भने पोसिलो खाना नपाएर कुपोषण भई मृत्यु हुने गरेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts