नपत्याउने काम, गज्जबको दाम ! (फोटोसहित)
कामको सम्मान नभएको गुनासो
२४ पुस, काठमाडौं । काम छैन भनेर बरालिने र
जागिरको लागि चारतिर भौंतारिनेहरु भन्छन्- ‘देशमा काम गर्ने ठाउँ नै छैन,
बेरोजगार भइयो ।’ तर, यही समाजमा सानातिना काम गरेर मनग्गे कमाउनेहरु
प्रशस्तै छन् । सडकपेटीमा नाङ्लो पसल थाप्ने, चटपटे बेच्ने, ठेलागाडा
धकेल्ने, भारी बोक्ने, कपडा धुने र बच्चा स्याहार्ने र साइकलमा तरकारी
ओसार्ने जस्ता काम गर्नेहरुको कमाइ सरकारी हाकिमको भन्दा कम छैन ।
‘मेहनत र धैर्य गर्ने हो भने आफ्नै
गाउँठाउँमा बसेर मजाले आम्दानी गर्न सकिन्छ ।’ सडकमा ‘साना’ काम गर्नेहरु
भन्छन्- ‘सानोतिनो व्यवसाय गर्ने मान्छेलाईर् हेप्ने चलन बदलिनै पर्छ र
कामलाई सम्मान गर्ने चलन शुरु गरिनुपर्छ ।’ यस्तै काम र सोचाइ भएका केही
जाँगरिला मान्छेहरुलाई हामीले राजधानीमा भेटेका छौं
भोजपुरका मनबहादुर राई ठेलामा दूध राखेर
काठमाडौंको चोकचोकमा पुग्नुहुन्छ । ‘मैले काम थाल्दा दूधको भाउ पोकाको ७५
पैसा थियो ।’ ७२ वर्ष उमेर काटेका राईले भन्नुभयो-’हेर्दाहेर्दै भाउ
कहाँबाट कहाँ पुग्यो, मचाहिँ जस्ताको तस्तै ।’ दूधको मूल्यजस्तो उहाँको
आम्दानी त बढेको छैन । तर, उहाँ आफ्नो कामप्रति सन्तुष्ट हुनुहुन्छ ।
‘दिनको ५/६ सय रुपैंया -मासिक १८ हजारसम्म) कमाउँछु ।
पाँच वर्षपछि राजधानीको तापक्रम माइनसमा
पुगेपनि यही राजधानीमा बस्ने काभ्रेका रामबहादुर भण्डारीलाई त्यति जाडो
लागेको छैन । ‘बिहान उठ्ने काममा निस्कने, रिक्सा तान्ने हिँड्ने, खै मलाई त
जाडो बढेको जस्तै लागेको छैन’ चप्पल र पातलो कपडा लगाएर रिक्सामा भारी
तानिरहेका भण्डारीले भन्नुभयो-’काम गर्नेलाई केको जाडो ? जाडो त अल्छीलाई
मात्रै लाग्छ ।’
जाडोमा पनि काम गरेर नथाक्ने भण्डारीले
दिनमा पाँच सयदेखि सातसय रुपैंयासम्म कमाउनुहुन्छ । ‘बिहान उठेर काममा
निस्कँदा दाम त मिलिहाल्छ’ उहाँले थप्नुभयो-’त्यसमाथि ट्याम पनि पास, जाडो
पनि खलास ।’ माथिका यी उदाहरणीय व्यक्तित्व प्रतिनिधि पात्र मात्रै हुन् ।
सानोतिनो काम गरेर आफू र परिवारको गुजारा चलाउने मात्रै होइन, जग्गाजमीन
जोड्नेहरु पनि हाम्रो समाजमा प्रशस्तै छन् । यस्तो चर्को महंगीमा पनि आफ्नै
देशमा काम गरेर पैसा बचाउन सक्ने यी महान् मान्छेबाट तपाई-हामीले पनि पाठ
सिक्ने हो कि ?
सर्लाहीका १४ वर्षीय दीपक सुन्दासले आमाले
काम गरेको हेर्दाहेर्दै लुगा सिलाउन सिके । अहिले उनी आमालाई सघाउने पक्का
‘दर्जी’ भएका छन् । काम खोज्दै राजधानी पसेको उनको परिवारले यही कल घुमाउन
सिक्यो । दिनभरि कल चलाएर जम्मा भएको पैसाले सुन्दासको परिवारको गुजारा
चल्छ । कल चलेन भने गुजारा पनि चल्दैन । ‘अहिलेसम्म काम पाइएन भन्न परेको
छैन’ सडकपेटीको एकातिर कल राखेर लुगा सिइरहेका दीपकले भने-’दिनमा ५ सयदेखि ७
सय रुपैंयासम्म कमाइ हुन्छ, घरखर्च मजाले चलिरहेको छ ।’
नुवाकोटकी ५६ वर्षीया यी आमैलाई घरगाउँले र
आफन्तले ठूलीमाया तामाङ भनेर चिन्छन् । कसैकसैले ठूली पनि भनेर बोलाउँछन् ।
तर, राजधानी पसेर काम गर्न थालेपछि उहाँको नाम फेरियो । गाउँका आफूजस्तै
दौंतरीहरुले बदाम बेचेको देखेर उहाँले पनि त्यही काम थाल्नुभयो । सडकमा
डालो राखेर बदाम बेच्दाबेच्दै उहाँलाई धेरैले बदामे आमै भनेर बोलाउन थाले ।
‘जे भनेर बोलाए पनि के भो र, मेरो काम बदाम बेच्ने हो’ आमैले भन्नुभयो-
‘जे जानियो, जे थालियो, त्यही काम गर्दैछु ।’ बदाम बेचेर दिनमा ३/४ सय
रुपैंयासम्म कमाइ हुने ठूलीमायाले सुनाउनुभयो । तर, उहाँ बदाम मात्र
बेच्नुहुन्न । बदाम बेच्न बसेका बेला कपासको बत्ति पनि कात्नुहुन्छ ।
‘बुढेसकालमा मलाई किन चाहियो धेरै पैसा ?’ सन्तुष्ट हुँदै आमैले
भन्नुभयो-’छोराहरुले कमाइ हाल्छन्, मैले पनि यसो भरथेग गर्ने हो ।’
धादिङका कुमार भण्डारीलाई पढ्न त्यति
जाँगर चलेन । काम खोज्दै राजधानी पसे । यताउता केही नसोची तुरुन्तै
पाइहाल्ने भारी बोक्ने काममा हात हाले । राजधानीका ठाउँ-ठाउँमा रिक्सामा
भारी खेपेर ओहोर-दोहोर गर्नु उनको दैनिकी हो । ‘काम पाइएन भनेर खाली बस्नु
पर्दैन’ आफूभन्दा अजंगको भारी खप्ट्याएर रिक्सामा हिँड्दै गरेका उनले
भने-’दिनको चार-पाँच सय रुपैंया बचत हुन्छ, खान मजाले पुगिरहेको छ ।’
गोरखाकी शर्मिला थापा दुई वर्षअघिसम्म
आफ्नै घरमा गोबरमाटोले लिपपोत गर्नुहुन्थ्यो । तर, अहिले उहाँको अरुको घर र
पर्खालमा सिमेन्ट पोत्ने काम गर्नुहुन्छ । काम खोज्दै शहर पस्ने क्रममा
उहाँले ज्यामी काम सिक्नुभयो । यही काममा आफूलाई खार्दै लैजानुभयो । ‘जे
इलम जान्यो, त्यही त गर्ने हो नि’ राजधानीको सानेपामा सडकवाल बनाउने काममा
व्यस्त शर्मिलाले भन्नुभयो-’सन्तुष्ट नै छु, खाली हात बस्न परेको छैन ।’
दिनमा चार पाँचसयदेखि कहिलेकाहीँ हजार रुपैंयासम्म कमाई हुने उहाँले
सुनाउनुभयो ।
काभ्रेका पुष्पबहादुर थापाले हाते
ट्याक्टर चलाउन थालेको २२ वर्ष भयो । ‘पहिलेदेखि यही काम थालियो, अरुतिर
हात हालिएन’ थापाले भन्नुभयो-’हेर्दाहेर्दै दुईदशक नाघिसकेछ ।’ नयाँ घर
बनाउन चाहिने बालुवा, सिमेन्ट, इर्ंटालगायतका सामग्री ओसार-पसार गर्न
उहाँलाई खोज्दै मान्छेहरु आइपुग्छन् । ललितपुरको पुल्चोक नजिकै अरु
सहकर्मीसँगै ट्याक्टर लाइनमा राखेर काम पर्खिरहेका उहाँले
भन्नुभयो-’कहिलेकाहीँ त यत्तिकै खाली हुन्छ, तर धेरैजसो काम पाइन्छ । दिनको
पाँचसयदेखि कहिलेकाहीँ हजार रुपैंयासम्म कमाइ हुने उहाँले बताउनुभयो । यो
हिसाबले थापाको मासिक कमाइ १५ हजारदेखि ३० हजारसम्म हुन्छ ।
‘तर हामीलाई ट्राफिकदेखि बाटो
हिँड्नेसम्मले हेप्छन्’ थापाले गुनासो गर्दै भन्नुभयो-’सरकारले हामीलाई
कहिल्यै वास्ता गरेन, हाम्रो कामको सम्मान छैन ।’
धेरै नेपाली कामका लागि भारतलगायत विदेशका
धेरै ठाउँ पुगेका छन् । तर, भारतबाट नेपाल आएर बिभिन्न पेशा व्यवसाय
गर्नेहरुको संख्या पनि धेरै छ । कपाल काट्ने, तरकारी-फलफूल बेच्ने, चटपटे र
पानीपुरी बेच्ने जस्ता काममा लागेका भारतीय धेरै छन्-नेपालमा ।
तिनैमध्येका एक हुनुहुन्छ, मोतिहारीका रामस्वरुप पण्डित । काठमाडौंका
सडक-सडकमा पानीपुरी बेच्दै हिँड्ने पण्डितले दिनमा ५ देखि ६ सय रुपैंया
कमाउनुहुन्छ । ‘अरुले कमाएको देखेर लोभ गर्नु पनि हुन्न, केही भएन भनेर
आत्तिन पनि हुँदैन’ पण्डितले भन्नुभयो-’मेहनत र धैर्य गर्ने हो भने
सानोतिनो कामबाट पनि कमाइ गर्न सकिन्छ ।’
काभ्रेकी शान्ता रेग्मीले राजधानी आएर काम
थालेको चार महिनामात्रै भयो । ‘पैसा कमाउन भनेर राजधानी आएँ, अरु
साथीहरुले देखेर गर्न थालेको राम्रै भैरहेको छ’ शान्ताले भन्नुभयो ।
शान्ताको रिक्सा घरमा चिया, अण्डा, खाजा धेरै परिकार पाइन्छ । होटलमा भन्दा
सस्तोमा पाइने भएकाले खाजा खाने धेरैले यस्तै ठाउँ रोज्छन् । ‘दिनको ५
सयदेखि कहिलेकाहीँ एकहजार रुपैंयासम्म पनि कमाइ हुन्छ’ शान्ताले भन्नुभयो ।


0 comments
Write Down Your Responses