किन अबैधानिक हुन्छन् मलेसियामा नेपाली कामदार ?
मलेसिया, पुस २४ – मलेसियामा अबैधानिक भई बसेका आप्रावासी
कामदारलाइ बैधानिक बन्न सरकारले ल्याएको कार्यक्रम सकिएको पनि एक वर्ष
भैसक्यो । तर अबैधानिक भई बस्ने क्रम रोकिएको छैन ।
सन् २०११ को जुलाइ ११ देखि २०१२ जनवरी १० सम्म बैधानिक बन्न छुटेका र
जनवरी १० देखि यता अबैधानिक भएका प्रसस्तै नेपाली कामदार छन् । नेपाली
कामदारहरु किन अबैधानिक भएर मलेसियामा वस्छन् त ?
छ महिनाअघि मलेसिया आएका रुकुमका टेकबहादुर भण्डारी काम गर्ने कम्पनीको
ब्यबहार सहन नसकेर अबैधानिक रुपमा अर्को कम्पनीमा सुरक्षा गार्डको काम
गर्दै हुनुहुन्छ । ‘अन्जानमा सानो गल्ती पनि हुन नहुने, बिरामी भएर काममा
जान सकिएन भने महिनाभरिकै तलब रोकिदिने, ज्यानको बाजी लगाएर काम गर्नु छ
त्यसमाथि तलब रोकिदिने र समयमा नदिने गरेकाले कम्पनी छाडेँ’ उहाँले
भन्नुभयो ।
१ लाख १० हजार रुपैयाँ तिरेर मलेसिया आएका भण्डारी मेनपावरले भनेजस्तो
सेवा सुविधा नभएको र विदेश आउँदा लिएको ऋण तिर्न नसकेका कारण कम्पनी छाडेर
अबैधानिक रुपमा अर्कै काम गर्न थालेको बताउनुहुन्छ । उहाँ अबैधानिक भएर
सुरक्षा गार्डको काम गर्न थालेको एक महिना पुग्न लाग्यो ।
सिन्धुलीका बिजय लामा मेनपावर कम्पनीले भनेका कुरा सबै उल्टो भएपछि कम्पनी
छाड्ने निर्णयमा पुग्नुभयो । ‘कम्पनीमा धेरै तातो मेसिनमा काम गर्नुपर्ने,
ओभरटाइम पनि नचल्ने, मेनपावरले एक हजार रिङ्गेट भन्दा धेरै कमाइन्छ भनेको
थियो मरेर काम गर्दा सात सय पनि थाप्न सकिएन’ लामा भन्नुहुन्छ ‘यस्तो
ज्यानै जाने गरी काम गर्नुपर्ने, फेरि कमाइ पनि नहुने भएपछि कम्पनी छाडेर
बाहिर काम गर्न थालेँ ।’
अहिले लामा पनि सुरक्षा गार्डकै काम गर्नुहुन्छ । दुई वर्षअघि मेनपावर
कम्पनीलाई ९५ हजार रुपैयाँ तिरेर मलेसियाको जोहोरबारुको कम्पनीमा काम गर्न
आइपुगेका लामा कम्पनीमा काम गर्न नसकेर अबैधानिक बन्नुपरेको बताउनुहुन्छ ।
उहाँ एक वर्षदेखि पाङ्सापुरी शहरमा सुरक्षा गार्डको काम गर्नुहुन्छ ।
‘अहिले आफ्नो काम र कमाइबाट सन्तुष्ट छु’ लामा भन्नुहुन्छ ।
डेढ वर्षअघि मेनपावर कम्पनीलाई ८५ हजार रुपैयाँ तरेर जोहोरबारुको लिस
प्रजेसन कम्पनीमा आइपुगेका धादिङका गणेश घलेको पनि कुरा उस्तै छ ।
‘मेनपावरले ११÷१२ सय रिङ्गेट कमाइ हुन्छ भनेको थियो तर यहाँ आएपछि धैरै
तलब थापेको भनेको ८ सय ९१ रिङ्गेट हो’ उहाँले भन्नुभयो ‘अनि यस्तो चालाले त
हुदैन यत्तिकै आयो भने त बिदेश लागेको कुनै अस्तित्व नहुने भएकाले कम्पनी
छाडेँ ।’
घलेले कम्पनी छाडेको एघार महिना भैसक्यो । अहिले उहाँ क्रिस फोर्स नामक
सुरक्षा गर्ड कम्पनीको मातहतमा काम गर्नुहुन्छ । ‘अहिलेको कमाइमा म
सन्तुष्ट छु’ घले भन्नुहुन्छ ।
यी उदाहरणले नै बताउँछ नेपाली कामदार किन मलेसियामा अबैधानिक हुन्छन् ? यी
नेपाली कामदारसंग अहिले आफु नेपाली हो भन्ने कागजी प्रमाण छैन । यस्तो
अवस्थामा मलेसियामा लामो समय काम गरिरहन अफ्ठयारो हुन्छ । प्रहरीको चेकिङमा
परेमा छ महिनाको जेल सजायँ र फेरि मलेसिया आउन नपाउने गरी स्वदेश
फर्काइदिन्छ । यहाँ सरकारी कानुन उल्लङ्घन गर्नेलाई कोरा पनि हान्ने नियम छ
।
यस्तो गतिविधिले नेपाली कामदारको नराम्रो रेकर्ड त बन्छ नै स्वास्थ्य पनि
बिग्रन्छ भन्नुहुन्छ मलेसियाका लागि कार्यबाहक नेपाली राजदुत लेखनाथ
भट्टराई । ‘अझैसम्म पनि औंठाछाप नगरी बस्नु भनेको यहाँको कानुन नमान्नु हो र
औंठाछाप नगर्दा के हुन्छ भन्ने कुराको ज्ञान भई भई एक कम्पनीमा औंठा छाप
गरी अर्को कम्पनीमा काम गर्नु भनेको झन ठुलो अपराध हो’ उहाँ भन्नुहुन्छ
‘त्यसैले जतिसक्दो चाँडै बैधानिक भएर काम गरौं । त्यसका लागि राजदुताबासले
गर्ने सहयोग गर्न हामी तयार छौं ।’
0 comments
Write Down Your Responses
