सहमति नभए सडक आन्दोलन
२६ पुस,सिरहा । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले राजनीतिक दलहरुबीच सहमति नभए संविधानसभा पुनःस्थापना गरी त्यहींबाट नयाँ संविधानका लागि सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सिरहाको बडहरामाल गा.वि.स.को बस्तीपुर चोकमा निर्मित किसान नेता जयगोविन्द साहको शालक अनावरण तथा २३ औं स्मृति सभालाई हिजो सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मुख्य दलहरुबीच भोलिसम्म नयाँ निर्वाचन र संविधानका अन्तर्वस्तुको विषयमा सहमति नभए आफूहरु विघटित संविधानसभा पुनःस्थापना गरी त्यहींबाट नयाँ संविधान घोषणाका लागि आन्दोलनमा जाने बताए ।
ग्रामीण वर्ग संघर्ष र यो क्षेत्रको किसान आन्दोलनको प्रतीकको रुपमा रहनु भएका जयगोविन्दको प्रेरणा र छापले नै आफूहरुले १० वर्षको जनयुद्ध गरेको प्रचण्डले बताए ।सिरहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी र सर्लाहीसम्मका ग्रामीण क्षेत्रका किसानहरुको उल्लेख्य सहभागिता रहेको स्मृति सभामा एकीकृत माओवादीका पूर्वाञ्चल ब्यूरो प्रमुख गिरीराजमणि पोखरेल, मध्यपश्चिम ब्यूरो प्रमुख लिलामणि पोखरेल, महाधिवेशन आयोजक समितिका सदस्य तथा पूर्व मन्त्री रामकुमार यादव, भोजपुरा राज्य समिति संयोजक प्रभु साह, प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादव लगायतले जयगोविन्दले उठाएको वर्ग संघर्षलाई गाउँ गाउँमा उठाए उनको सपना पूरा हुने बताएका थिए ।

0 comments
Write Down Your Responses