डेकेन्द्र हत्या आरोपमा पक्राऊ परेकालाई तुरुन्त रिहा गरियोस् : एमाओवादी
२५ पुस, काठमाडौं । एकीकृत नेकपा
माओवादीले पत्रकार डेकेन्द्र थापाको हत्या आरोपमा गिरफ्तार भएका आफ्ना
कार्यकर्तालाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।
प्रवक्ताको वक्तव्यमा भनिएको छ- ‘शान्ति
सम्झौता र अन्तरिम संविधानमा ०५२ साल फागुन १ गतेदेखि ०६३ मंसिर ४ गतेसम्म
भएका घटनाबारे प्रहरी वा अदालतमा मुद्दा दायर गर्न नमिल्ने व्यवस्था छ ।
तर, त्यसको ठाडो उल्लंघन गर्दै हत्या आरोपमा मानिसहरूलाई पक्राउ गर्नु
शान्तिप्रक्रिया भाँड्ने नियतबाहेक अरु केही हुन सक्दैन भन्ने हाम्रो
पार्टीको ठहर छ ।’
प्रवक्ता सापकोटाले वक्तव्यमा बेलायतमा
नेपाली सेनाका कर्णेल कुमार लामा समातिनु र दैलेखमा डेकन्द्र हत्याको
आरोपमा पाँच माओवादी कार्यकर्ता समातिनु संयोगमात्रै नभएको बताउनुभएको छ ।
‘नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतमा पक्राउ पर्नु र दैलेखमा
हत्या आरोपमा पाँच जनालाई पक्राउ गरिनुलाई हामीले देशी-विदेशी षड्यन्त्रको
पछिल्लो श्रृंखलाका रुपमा लिएका छौँ । यी दुवै घटनालाई हामीले आकस्मिक
संयोगका रुपमा मात्र लिएका छैनौँ । वक्तव्यमा भनिएको छ- ‘विस्तृत शान्ति
सम्झौता र नेपालको अन्तरिम संविधान-२०६३ को व्यवस्था, मर्म र भावनाविपरीत
भएको उक्त घटनालाई हाम्रो पार्टीले शान्ति प्रक्रिया भाँड्ने नियोजित
चालबाजीका रुपमा लिएको छ ।
अन्तराष्ट्रिय चलखेल तीब्र
मुलुक अहिले शान्ति प्रक्रियालाई
सकारात्मक निस्कर्षमा पुर्याउने र संघीयतासहितको संविधान जारी गर्ने
प्रक्रियामा रहेका बेला पछिल्लो समय शान्ति र संविधान लेखन प्रक्रिया तथा
समृद्ध नेपाल निर्माण अभियानका विरोधी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय
तत्वको चलखेल र षड्यन्त्र तीव्र भएको एमाओवादीले ठहर गरेको सापकोटाले
बताउनुभएको छ ।
संवैधानिक कानुनको पालना गराउने जिम्मेवार
सरकारी निकायबाटै अन्तरिम संविधान प्रतिकुल हुने गरी त्यस्ता घटना हुनुले
शान्ति प्रक्रिया भाँड्ने तत्व सरकारी निकायभित्रै त छैन भन्ने गम्भीर
आशंका समेत उब्जिएको सापकोटाले बताउनुभएको छ । ‘१० वर्षे जनयुद्धका क्रममा
राज्य र गैरराज्य दुवै पक्षबाट भएका मानवअधिकार उल्लंघनका घटना सत्य निरुपण
तथा मेलमिलाप आयोग गठनमार्फत टुंगो लगाउने प्रक्रिया चलिरहेका बेला यस्ता
घटना हुनुले हामीलाई गम्भीर एवम् आश्चर्यचकित तुल्याएको छ ।’- प्रवक्ता
सापकोटाले वक्तव्यमा उल्लेख गर्नुभएको छ ।


0 comments
Write Down Your Responses