यसरी जान सकिन्छ वैध तरिकाले अफगानिस्तान !
२५ पुस, काठमाण्डौं । यतिबेला
अफगानिस्तानमा कार्यरत नेपाली श्रमिकहरु वैध हुन् कि अवैध भन्ने बहस
चलिरहेको छ । नेपालको बैदेशिक रोजगार बिभागबाट अनुमति नलिई पर्यटक भिसामा
दुबईसम्म पुगेर अफगानिस्तान जाने नेपाली नेपालीहरुको संख्या धेरै छ, जोसँग न
त अफगानिस्तानको भिसा हुन्छ न त अफगानिस्तान प्रवेश गरेको कुनै प्रमाण नै ।
यस्ता नेपालीहरु त्रिभुवन बिमानस्थलबाट आवत जावत गर्न सक्दैनन्, त्यसैले
उनीहरुले गैरकानुनी बाटो समात्नै पर्छ ।
अहिले अफगानिस्तानमा करिव १८ हजार नेपाली
कामदार रहेको बताइन्छ । नेटो सैनिकका क्याम्पमा काम गर्ने यस्ता नेपाली
कामदारमध्ये अधिकांशसँग अफगानिस्तानको भिसा हुँदैन, केवल क्याम्पको
परिचयपत्र मात्र हुन्छ । उनीहरुलाई नेपाल आउन जान दिने कि नदिने र कसरी
बैधानिक बनाउने भन्ने बिषयमा अहिले नेपालको उच्च सरकारी तहमा छलफल चलिरहेको
छ ।
धेरैले अफगानिस्तान काम गर्न नेपाल
सरकारले पुरै बन्देज लगाएको रुपमा बुझे पनि वास्तविकता त्यस्तो छैन । अहिले
पनि हजारौं नेपालीहरु बैदेशिक रोजगार बिभागबाट इजाजत लिएरै अफगानिस्तानका
लागि उडिरहेका छन् । किनकि अफगानिस्तान काम गर्न नेपाल सरकारले पुरै
प्रतिबन्ध लगाएको छैन । आखिर कस्ता नेपालीहरुले त्यसरी भिसा पाएर
वैधानिकरुपमा काम गरिरहेका छन् त ?
वैदेशिक रोजगार विभागका महानिर्देशक
पूर्णचन्द्र भट्टराईका अनुसार अहिले पनि पाँच किसिमका कामका लागि
अफगानिस्तान काम गर्न जान अनुमति दिइन्छ ।
पहिलो, त्यहाँस्थित बिदेशी दूतावासको
सुरक्षाका लागि खटिने नेपाली सुरक्षा गार्डहरु । सामान्यतयाः बेलायती
गोर्खा सैनिक र नेपाली सेनामा काम गरेका पूर्व सैनिकले यस्ता काममा अवसर
पाउने गरेका छन् । उनीहरुले पाउने तलव, बिदा, सुरक्षा लगायत उल्लेख गरिएको
सम्झौता पत्र हेरेर उनीहरुलाई त्यहाँ काम गर्ने अनुमति दिइन्छ ।
दोस्रो, बिभिन्न परियोजनामा काम गर्न जाने
इन्जिनियर र ओभरसियरहरु । अफगानिस्तानस्थित गैरसरकारी संस्थाहरुले चलाएका
परियोजनामा काम गर्ने गरि धेरै नेपाली इन्जिनियरहरु त्यहाँ काम गर्न गएका
छन् । बिभागले तोकेका सवै मापदण्ड पुरा भएको अबस्थामा यस्ता इन्जिनियरहरुले
पनि अफगानिस्तान काम गर्न जान अनुमति पाइरहेका छन् ।
तेस्रो, अफगानिस्तान सरकारका बिभिन्न
कार्यालय र परियोजनाहरुमा बिज्ञ र सल्लाहकारका रुपमा काम गर्ने गरी केही
पूर्व सरकारी कर्मचारी र केही बहालवाला कर्मचारी पनि अफगानिस्तान गएका छन् ।
उनीहरुलाई पनि बिभागका अनुमति लिन र नेपाली बिमास्थलाट स-सम्मान
अफगानिस्तान पुग्न कुनै समस्या छैन ।
र, चौथो त्यहाँ रहेका बिभिन्न कम्पनीहरुले
नेपाली कामदार चाहियो भन्दै बेलायतस्थित दूतावास वा पाकिस्तानस्थित
दूतावासमा प्रमाणित गराएर आएका मागमा पनि नेपालीलाई काम गर्ने अनुमति
दिइएको छ ।
महानिर्देशक भट्टराईले भन्नुभयो- ‘हाम्रा
नेपाली कामदार सुरक्षित हुनुपर्यो, तलव पाउनुपर्यो, बैधानिक हिसावले
अफगास्तिानको भिसा भएको हुनुपर्यो र अफगानिस्तान प्रवेश भएको र बाहिरिएको
रेकर्ड हुनुपर्यो ।’ यी कुराहरु ग्यारेन्टी भए अहिले पनि नेपाली कामदारलाई
अफगानिस्तान काम गर्न जान कुनै समस्या नरहेको बताउनुभयो । यसरी बिभागबाटै
अनुमति लिएका करिव ६ हजार नेपाली अफगानिस्तानमा काम गरिरहेको उहाँले
जानकारी दिनुभयो ।


0 comments
Write Down Your Responses