mainpageads

अमेरिकामा कांग्रेसी झगडा मिलाउने प्रयास

न्युयोर्क, पुस २१ -
अमेरिका स्थित नेपाली कांग्रेसको प्रवास संगठन जनसम्पर्क समितिको विद्यमान विवाद सुल्झाउने प्रयास फेरि थालिएको छ । लामो समय देखि विवादमा रुमल्लिएको जनसम्पर्क समितिलाई व्यवस्थित गर्न कांग्रेस केन्द्रिय सदस्य एवम पार्टीको जनसम्पर्क समिति समन्वय विभाग प्रमुख अर्जुन जोशी प्रयासरत छन् ।
विवाद समाधानको क्रममा न्युयोर्क, कनेटीकेट, न्युजर्सी, बाल्टिमोर पछि क्यालिफोर्निया पुगेका जोशीले विवाद समाधान उन्मुख रहेको बताए ।  ईकान्तिपुरसँगको टेलिफोन सम्पर्कमा जोशीले भने, ‘विगतमा एकता अधिवेशनको कमिटीको कार्यक्षेत्र र अधिकार स्पष्ट नहुँदा विवाद चर्किएको देखियो । अब, सिमित अधिकार दिएर अधिवेशनमार्फत विवाद अन्त्य गरिनेछ ।’
सन २००४ मा अस्तित्वमा आएको जनसम्पर्क समिति अमेरिकामा स्थापनादेखि नै विवादको लामो श्रृखला रहेको छ । विवाद सल्ट्याउन दई बर्षअघि कांग्रेसले अमेरिका नेपाली वकिल खगेन्द्र जिसीको संयोजकत्वमा एकता अधिवेशनका कमिटी गठन गरेको थियो । विवाद सुल्झिनुको साटो बल्झिएर व्यक्तिगत आक्षेप र चरित्रहत्या गर्ने खाले गतिविधि भएपछि जिसीले राजिनामा दिएका थिए । तथापी, उनको राजिनामा स्वीकृत भने भएको छैन् । जिसीको राजिनामा सम्बन्धमा आफु छलफलमै ब्यस्त रहेकोले यसबारेमा जनसम्पर्क समन्वय विभागले निर्णय गर्ने केन्द्रिय सदस्य जोशीले बताए ।
विवादित पक्षहरुले समस्यालाई आ–आफनैरुपले परिभाषित गर्दै समाधानको लागि पनि बेग्लाबेग्लै तर्क राख्दै आएका छन् । एक पक्षले जिसीको राजिनामा स्वीकृती गरिनुपर्ने र नयाँ संयोजक तोकेर एकता महाधिवेशन मार्फत विवाद सुल्झाउनु पर्ने कुरा अघि सारेको छ । पूर्व महाधिवेशन प्रतिनिधि एवं जनसम्पर्क समितिका पूर्व केन्द्रिय सदस्य मुनेन्द्र नेम्वाङले विगतलाई थन्काएर नयाँ म्यान्डेटमार्फत अधिवेशन गरिनुपर्ने बताए । नेम्वाङले भने ‘संयोजकले राजिनामा दिएको स्थितिमा पुरानो कमिटीलाई पार्टीले भंग गर्नुपर्छ । यदि खगेन्द्र जिसीलाई नै निरन्तरता दिने भए पनि नयाँ ‘म्यान्डेट’ अनुरुप हुनुपर्छ ।’
अर्को पक्ष भने १७ वटा च्याप्टरमा अधिबेशन सम्पन्न भईसकेकाले न्युयोर्कको अधिबेशन गर्दै जिसीकै संयोजकत्वमा एकता अधिवेशन गर्नुपर्ने पक्षमा अडिग छ् । महासमिति सदस्य रहेका पूर्व अध्यक्ष आनन्द विष्टले भने, ‘१७ वटा राज्यमा अधिवेशन सम्पन्न गर्नु र महाधिवेशनमा अमेरिकामा प्रतिनिधित्व हुनु जिसी कमिटीको सफलता हो । उनकै संयोजनमा एकता अधिवेशन हुनुपर्छ ।’
जनसम्पर्क समिति अमेरिकालाई नजिकबाट नियाली रहेका अमेरिकामा बसोबास गर्ने पुराना कांग्रेसी विश्वबन्धु प्रसाई केन्द्रिय नेताहरुको ब्यक्तिगत स्वार्थ र न्युयोर्कका केही स्वार्थी ब्यक्तिहरुका कारण विवाद भएको ठान्छन् । ईलाम नगरपालिका पूर्वमेयर प्रसाईका अनुसार केन्द्रिय नेता जोशीले बहुमत साथीहरुको भावनालाई बुझन सके विवाद सहजै साम्य हुनेछ ।
न्यूयोर्कको विवाद सुल्झाउनु केन्द्रिय सदस्य जोशीको आग्रहमा दुई समुहमा विभाजित च्याप्टर अध्यक्षद्वय नवीन शेरचन र कृष्ण पोखरेलले राजिनामा दिएका छन् । जेनेश गुरुङ सदस्य–सचिव रहेको पाँच सदस्यीय न्युयोर्क च्याप्टर चुनावी तयारी समिति गठन गरिएको छ । सदस्य–सचिव गुरुङका अनुसार पार्टीको लिखित पत्र आएपछि न्युयोर्कको अधिवेशनको तयारी शुरु गरिने बताईन् । पार्टीले जनसम्पर्क समितिलाई एक संसदीय निर्वाचन क्षेत्र बराबरको हैसियत प्रदान गरेको छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.

Blog Archive

Blog Archive

Blogger news

Recent Posts